धनकुटा । धनकुटा नगरपालिका वडा नं. ९ कमलाबारीकी ३० वर्षीया कविता राई २९ वर्षीय पति अनिल राईको कुटपिटबाट गम्भीर घाइते भएकी छन् । घटना वैशाख १५ गते बिहीबार दिउँसोको हो । उनको श्रीमानको कुटाइबाट दाहिने हात भाँचिएको छ ।
श्रीमान अनिलले कवितालाई मादक पदार्थ सेवन गरेर बिहीबार आफ्नै घरमा श्रीमतीको हात भाँचिने गरी कुटपिट गरेको खुलेको छ । सामान्य घरायसी विवादका क्रममा कवितालाई अनिलले निर्घात कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी लक्ष्मीराज अधिकारीले बताए । पतिको कुटपिटले पत्नीको दाहिने हात भाँचिएको र अनुहारमा चोट लागेको छ । पीडितको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
श्रीमान् अनिल विरुद्ध कविताले वैशाख १५ गते बिहीबार जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको एसपी अधिकारीले बताए । धनकुटा नगरपालिका वडा नं ९ स्थित कमलाबारी स्थायी घर भए पनि राई परिवार गुठिटार बसोबास गर्दै आएका थिए । घटना पछि श्रीमती फारार भएको प्रहरीले जनाएको छ । कवितालाई अनिलले फलामको रडले हान्दा त्यसको प्रतिकार गर्दा उनको दायाँ हातको कुइनो खुस्किएर टुक्रिएको छ ।
श्रीमानको कुटाइबाट गम्भीर घाइते राईको अप्रेसन गरी स्टील हाल्नु पर्ने अवस्था देखिएकोले जिल्ला अस्पताल धनकुटामा प्राथमिक उपचार पछि थप उपचारका लागि कोशी अञ्चल अस्पताल विराटनगरमा पठाउने बताइएको छ । उनको धनकुटा जिल्लामा रहेको लैङ्गिक हिंसा निवारण तथा आपतकालीन उपचारका लागि एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी) मार्फत उपचारका लागि पहल गरिएको छ ।
उनलाई जिल्ला अस्पतालले थप उपचार गर्दा लाग्ने खर्च निःशुल्क गराइएको अधिकारकर्मी गीता अधिकारीले बताएकी छिन् । उनले घाइते कविताको थप उपचारका लागी मोरङ जिल्लाको कोशी अञ्चल अस्पतालमा समेत एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी) मार्फत गर्ने व्यवस्था मिलाइएको छ । साथमा नाबालक छोरा समेत रहेको कविताको यस अघि पनि श्रीमान् अनिलले बियरको बोतल प्रहार गरी अनुहारमा गहिरो चोट लगाएका थिए ।
कविताले बच्चा चेपेर घरमा काम गरिरहेको अवस्थामा आफ्नै श्रीमानबाट हात भाँचिने गरी कुटपिट गरेको भन्दै जिल्ला प्रहरी कार्यालय धनकुटामा उजुरी दर्ता गराएकी छन् । घटना पछि फरार रहेका राईको व्यापक खोजी भइरहेको प्रहरी प्रमुख एसपी लक्ष्मीराज अधिकारीले बताएका छन् । फरार रहेका राई चाँडै पक्राउ पर्ने उनले बताए ।