वराहक्षेत्र । इलाका प्रहरी कार्यालय चक्रघट्टीले कोसी नदीबाट ठूलो परिमाण मा प्रतिबन्धित लागूपदार्थ गाँजा बरामद गरेको छ ।

प्रहरीले नगरपालिकाको वडानम्बर ६ स्थित सिसौली घाटस्थित कोसी नदी किनारबाट शनिबार बिहान गाँजा बरामद गरेको हो । नदीमा गाडीको ट्युबमा राखेर ५ वटा जुटको बोरामा प्लास्टिकले बेरिएको अवस्थामा उक्त गाँजा भेटिएको इलाका प्रहरी कार्यालय चक्रघट्टीका इन्स्पेक्टर टीका कार्कीले बताए ।

गोप्य सूचनाका आधारमा गएको प्रहरी टोली देखेर ५ जनाको समूहमा रहेका तस्करहरू अँध्यारोको फाइदा उठाएर भाग्न सफल भएको इन्स्पेक्टर कार्कीले जानकारी दिए ।

बरामद गरेको गाँजा इप्रकामा राखिएको प्रहरीले बताएको छ । यसअघि पनि प्रहरीले नदीबाटै ट्युबमा राखेर ल्याउँदै गरेको अवस्थामा २ सय २१ किलो गाँजा बरामद गरेको थियो ।