धरान । झापाको मेचीनगर नगरपालिका ६ मेचीखोलास्थित पुलबाट लागूऔषधसहित तीनजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा दमक नगरपालिका ५ का २२ वर्षीय राजेश गुरुङ, दमक २ का २६ वर्षीय अमृत राई र इलाम चुलाचुली घर भई दमक २ कै २२ वर्षीय सन्तोष ढकाल रहेका छन् । शनिबार फरक फरक समयमा उनीहरूलाई लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाको टोलीले शंका लागी जाँच गर्दा लागूऔषध बरामद गरेको हो । गुरुङको साथबाट डाइजापाम ६ एम्पुल, फेनारगन ६ एम्पुल र लुपिजेसिक ६ एम्पुल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

त्यस्तै मे ५ प ५६५ नम्बरको स्कुटीमा सवार राई र ढकालको साथबाट ६ ग्राम ब्राउनसुगरजस्तो देखिने लिसाइलो पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ । तीनै जनालाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।