विराटनगर । ४ वर्षीया बालिकालाई यौन दुव्र्यवहार गरेको आरोपमा ७३ वर्षीय वृद्ध पक्राउ परे । मोरङको मिक्लाजुङ गाउँपालिका–८ का चन्द्रबहादुर भण्डारीले बालिकालाई यौन दुव्र्यवहार गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गर्यो ।

बिहीबार बिहान ४ वर्षीया बालिकालाई दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका वृद्धलाई सोमबार मोरङ अदालतमा ‘बाल यौन दुव्र्यवहार’ मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु गरेको मोरङ प्रहरीका प्रमुख एसपी शान्तिराज कोइरालाले जानकारी दिए  । वृद्धले यौन दुव्र्यवहार गरेको भिडियो पनि प्रहरीले फेला पारेको छ ।

यसअघि ६ चैतमा मोरङको लेटाङ–५ खेरुवाकी १२ वर्षीया छात्रालाई शिक्षक मनोज पौडेलले यौन दुव्र्यवहार गरे । पक्राउ गर्न गएका सुरक्षाकर्मीमाथि उत्तेजित भीडले आक्रमण गर्दा प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भयो । स्थितिलाई नियन्त्रणमा लिन मोरङ प्रशासनले चार दिनसम्म लेटाङमा कर्फ्यु लगाउनु पर्यो ।

गत मङ्सिरमा कटहरी–७ की चार वर्षीया बालिकालाई छिमेकमा आएका एक पाहुनाले ललीपप दिएर फकाई घरदेखि करिब २ सय मिटर टाढा लोहन्द्रा खोलाछेउ लगेर बलात्कार गरे । उनी अचेत अवस्थामा फेला परेकी थिइन् । पक्राउ परेका आरोपित भारतको अररियाका २४ वर्षीय मुकेश सरदार जिल्ला अदालतको आदेशले थुनामा छन् ।

यी प्रतिनिधिमूलक घटना मात्र हुन्  । मोरङमा पछिल्लो समय शृङ्खलाबद्ध बालबालिकामाथि यौन दुव्र्यवहार र बलात्कारको घटना बढ्दै गएको छ ।

मोरङमा चालु आर्थिक वर्षको फागुनसम्ममा ७९ वटा यस्ता घटना भएको प्रहरीको अभिलेखमा देखिन्छ । यस्ता घटनामा दुई बालिकाको मृत्युसमेत भएको छ । यीमध्ये ५१ बलात्कार, १३ बलात्कार प्रयास, ११ बालयौन दुरुपयोग र दुई अप्राकृतिक यौनसम्पर्कका घटना छ । बालिकालाई बाल यौन दुव्र्यवहार गरेको आरोपमा पक्राउ पर्ने बौद्धिक वर्गमा पर्ने शिक्षकदेखि ज्येष्ठ नागरिकसम्म रहेका छन् ।

मोरङमा तीन वर्षभित्र ३ सय २७ यस्ता घटना भएका छन् । प्रहरीका अनुसार ०७५/७६ मा १ सय ७, ०७६/७७ मा ९२ र ०७७/७८ मा १ सय २८ वटा बलात्कार घटना भएका थिए । यस्ता घटनाका पीडितमध्ये झण्डै ६५ प्रतिशत बालिका हुने गरेको प्रहरीले जनाएको छ ।

प्रायः एक्लै बस्ने, पारिवारिक सम्बन्ध खराब भएकाहरू बढी हिंस्रक भएर बलात्कारतर्फ आकर्षित हुने गरेको वरिष्ठ मनोचिकित्सक डा. रोशन पोखरेलले बताए । ‘बलात्कार भनेकै मानसिक समस्या हो’ स्वास्थ्य सचिवसमेत रहेका पोखरेलले भने, ‘विवेक गुमाएका यस्ता व्यक्तिले यौनइच्छा पूर्ति गर्न कसैलाई पनि छाड्दैनन् ।’

समाजशास्त्री डिल्ली प्रसाईंले कानून कार्यान्वयनको कमीको कारणले समाजमा अपराध बढेको बताए । कानूनी व्यवस्था भए पनि कार्यान्वयन पक्ष फितलो हुँदा पनि यस्ता आपराधिक घटना बढेको उनको भनाइ छ । सामाजिक र पारिवारिक नियन्त्रण प्राणालीबाहिर जाँदा पनि यस्ता आपराधिक घटना हुने गरेको देखिएको उनले बताए ।

आत्मानुशासनमा कमी, गलत खानपिन र दलका नेतृत्व पङ्क्तिले सकारात्मक भूमिका नखेल्दा यौनसम्बन्धी अपराध बढेको समाजशास्त्री प्रसाईंको भनाइ छ । ‘आधुनिक परिवेशमा चरित्र निर्माणका लागि अनुशासन, संस्कार एवम् नैतिक मूल्य मान्यताको पाठ जरुरी भइसकेको छ’ उनले भने, ‘घरपरिवारदेखि यसको सुरुवात हुनुपर्छ ।’

१ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख डिआइजी अरुणकुमार बिसीले आपराधिक क्रियाकलापमा संलग्नहरूको लागि बालबालिका सजिलै तार्गेटमा पर्ने भएकोले यस्ता घटना हुने गरेको बताए ।

‘बालबालिका अन्जान हुन्छन् । उनीहरूलाई फकाउन सजिल्लो हुन्छ । बच्चाहरू भनेको आफ्नै छिमेकी र आफन्त नातागोताका हुन्छन् । उनीहरूलाई बालबालिकाले सजिलै विश्वास गर्दछन् । ती साना बालबालिकाहरूलाई के गरेको भन्ने कुरा पनि हेक्का हुँदैन’ उनले भने, ‘त्यही भएर आपराधिक मानसिकता भएका पीडकलाई अपराध गर्न सहज हुन्छ ।’

यस्ता घटना बढ्नुमा अभिभावकको हेल्चेक्र्याइँ, बढ्दो आधुनिकता र सामाजिक सञ्जाल प्रयोगलाई प्रमुख कारणका रूपमा प्रहरीले लिएको छ ।

‘नानीबाबुहरू घरपरिवार एवम् समाजभित्रै असुरक्षित देखिए’ डिआइजी बिसीले भने, ‘कारबाहीसँगै समाजमा सचेतना पनि आवश्यक छ । अभिभावक पनि सचेत हुन जरुरी छ । आफ्नो बच्चा कोसँग हिँडिरहेको छ र कता लागिरहेको छ भन्ने हेक्का राख्नुपर्दछ ।’ अभिभावक जिम्मेवार र सचेत भइदिए यस्ता घटनामा कमी आउने उनको भनाइ छ ।