विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेजमा कार्यरत मेडिकल अफिसियर डा. विजय यादवको रहस्मय मृत्यु भएको घटनामा प्रहरीले सँगै मदिरा खाने दुई जना साथीसहित आठ जनालाई साधेपुछको लागि नियन्त्रणमा लिएको छ ।

सप्तरीको विष्णुपुर गाउँपालिका– १ का बासिन्दा डा. यादव विराटनगर ४ नोबेल अगाडी डेरा बसेको घरको कम्पाउण्डमा शनिबार बिहान मृत फेला परेका थिए । मृत्यु भएको अघिल्लो दिन शुक्रबार राती सँगै मदिरा खाने दुई जना डा. यादवका साथीहरूसहित आठ जनालाई मोरङ प्रहरीले नियन्त्रणमा लिएर म्याद थप गरेको छ । प्रहरीले यादवसँग ७ महिना अगाडी झगडा गर्ने फार्मेशी संचालकसहित शुक्रबार राती झगडा गर्ने युवाहरूलाई पनि प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । प्रहरीले नियन्त्रणमा लिएको मोरङको रतुवामाइ नगरपालिका घर भइ विराटनगरमा बस्दै आएका जीवन कठेत, सुदीप पौडेलसहित आठ जनालाई जिल्ला प्रशासन कार्यालय मोरङमा आइतबार ‘अभद्र्र व्यवहारको मुद्दामा’ तीन दिन म्याद थप गरि अनुसन्धान सुरू गरेको मोरङ प्रशासनले जनाएको छ । 

हाडजोर्नीसम्बन्धी उपकरण सप्लाई गर्ने कठेत र अर्का साथी पौडेलसहित डा. यादवले एयरपोर्ट लाइनको तृष्णा होटलमा राति ११ बजेसम्म बसेको पाइएको अनुसन्धानमा खटिएका प्रहरीको भनाइ छ । प्रहरीले कठेत र पौडेललाई सोधपुछका लागि शनिबार नियन्त्रणमा लिएको थियो । पोस्टमार्टम रिपोर्ट नआएसम्म हत्या हो वा दुर्घटना भएको यकिन नभएकोले अनुसन्धानको लागि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको स्रोतको दाबी छ । सोधपुछबाट मात्रै वास्तविकता पत्ता लाग्न नसकेकाले पोस्टमार्टम रिपोर्टको पर्खाइमा प्रहरी रहेको मोरङ प्रहरीका डीएसपी दिपक श्रेष्ठ बताए । घटना शंकास्पद र गम्भीर रहेको भनिए पनि प्रहरीले शव भेटिएको २४ घण्टाभन्दा बढी बितिसक्दासम्म मृत्युको कारण यकिन गर्न सकिरहेको छैन । ‘विभिन्न कोणबाट अनुसन्धान जारी छ । पोस्मार्टम रिपोर्ट प्राप्त भएपछि थप विषय प्रष्ट हुन्छ,’ उनले भने । यादवको पोस्मार्टम धारनस्थित विपी कोइराला विज्ञान प्रतिष्ठानमा आइतबार गरिएको छ ।

होटलमा बसेर खानपिन गरेको र आफूहरू तीनै जना एउटै स्कुटर चढेर ११ बजे राति विजयलाई उनको डेरा नजिक पु¥याएर फर्केको उनीहरूको दाबी छ । डा. यादव नोबेल अस्पताल अगाडि नहर पूर्वको प्रेम बस्नेतको घरमा डेरामा बस्दै आएका थिए । स्थानीयले बिहान यादवको मृत शरीर घरको गेटमै देखेपछि प्रहरीलाई खबर गरेका थिए । होटलमा बस्दा विजयको मोबाइलले तीन जनाको भिडियो खिचेको थियो । त्यो भिडियो माग्न राति १२ बजेपछि विजयलाई फोन गर्दा उनको फोन नउठेको कठेतको भनाइ छ । ‘विजय शुक्रबार राति कोठामा पुगेको देखिँदैन,’ उनका दाजु हिरा यादवले भने, ‘उनको कोठा खोलिएको छैन, गोजीमा मोबाइल जस्ताको तस्तै छ ।’ उनले वास्तविकता बाहिर ल्याउन प्रहरीसमक्ष माग गरेका छन ।

स्थानीयका अनुसार शुक्रार राति ११ बजेपछि विजयको डेरादेखि ५० मिटर उत्तर र ५० मिटर पूर्वतर्फ केही युवाहरूको ग्याङफाइट भएको थियो । केहीबेरसम्म झगडा भएको र त्यसपछि भागाभाग भएको थियो । मृत फेला परेका यादवको एउटा खुट्टामा जुत्ता र अर्को खाली थियो । घटनास्थलको प्रत्यक्षदर्शी तथा यादवको मामा उपेन्द्रका अनुसार घरको गेट अगाडि महिलाका जुत्ता चप्पल, डेरा जाने सडक, नहरको डिल र त्यहाँको मिथिला फार्मेसी अगाडि रगतका टाटा थियो । उक्त फार्मेसीका सञ्चालक राजेश यादवलाई पनि प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिएको छ । यादवसँग ६ महिना पहिला झगडा भएको बुझिएको छ ।