विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेजमा कार्यरत मेडिकल अफिसर डा. विजय यादवको रहस्यमय तरिकाले मृत्यु भएको अवस्थामा शव भेटिएको छ ।
सप्तरीको विष्णुपुर गाउँपालिका–१ घर भई विराटनगर–४ नोबेलअगाडि डेरा गरी बस्दै आएका अन्दाजी २८ वर्षीय डा. यादव शनिबार बिहान मृत भेटिएका हुन् ।
अस्पतालदेखि करिब २ सय मिटर पूर्व प्रेम बस्नेतको घरमा डेरा गरी बसेका डा. यादव कम्पाउण्डभित्रै मृत फेला परेको प्रहरीले जनाएको छ । उनी तेस्रो तलाको कोठामा बस्दै आएका थिए । शव पोष्टमार्टमका लागि कोसी अस्पतालमा लगिएको छ । डा. यादव विगत ४ वर्षदेखि नोबेल हस्पिटलमा कार्यरत थिए । अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार डा. यादव नोबेलको हाडजोर्नी तथा नशा रोग विभागमा कार्यरत मेडिकल अफिसर हुन् । उनी ४ वर्षअघिदेखि नोबेलमा कार्यरत रहेको दाहालले बताए । उनले बङ्गलादेशबाट एमबीबीएस गरेर आएका हुन् ।
घोप्टो परेको र नाक तथा मुखबाट रगत बगिरहेको अवस्थामा डेरा बसेको कोठाबाट मुनिको भूइँमा उनको शव भेटिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए । शवनजिकै लाइटर र दुईवटा लेडिज जुत्ता पनि भेटिएको छ । ‘डेरा बसेको घरको कम्पाउण्डभित्र चिकित्सक मृत फेला परेको जानकारी बिहान आएको हो’ उनले भने, ‘तत्काल प्रहरी परिचालन गरेर घटनाका बारेमा अनुसन्धान थालिएको छ ।’
शव भेटिएको स्थानदेखि करिब एक सय मिटर पश्चिम नहरछेउ, नोबेल हस्पिटलको गेटलगायतका विभिन्न स्थानहरूमा रगत लत्पतिएको पनि देखिएको छ । घटनास्थलमा मोरङ प्रहरी र प्रदेश प्रहरी कार्यालय विराटनगरको टोली पुगेर घटनाको अनुसन्धान सुरु गरेको छ । प्रहरीले तालिमप्राप्त कुकुरलाई पनि ल्याएर घटनाको अनुसन्धान सुरु गरेको डीएसपी श्रेष्ठले बताए ।
मृतकका आफन्तहरूले नियोजित रूपमा हत्या भएको भन्दै घटनाको निष्पक्ष छानबिन गरेर सत्य–तथ्य बाहिर ल्याउनुपर्ने माग राखेका छन् ।
डेरादेखि वरपरको सडकमा रगतको टाटा देखिनुले यादवलाई बाहिरै हत्या गरिएको हुनसक्ने आफन्तले आशङ्का गरेका छन् । ‘भान्जाको नियोजित तरिकाले हत्या गरेर डेरा नजिक ल्याएर फालेको हुनसक्छ’ मृतकका मामा उपेन्द्र यादवले भने, ‘घटनास्थल अर्कैतिर भएको हामीले आशङ्का गरेका छौं । घटनाको गहन रूपमा अनुसन्धान गरी सत्य–तथ्य बाहिर ल्याएर दोषीलाई कारबाहीको दायरामा ल्याउनुपर्दछ ।’
शिविरबाट फर्किएपछि साथीसँग होटलमा
नोबेल मेडिकल कलेजले मोरङको कटहरी गाउँपालिका–३ मा शुक्रबार स्वास्थ्य शिविर आयोजना गरेको थियो । उक्त शिविरमा डा. विजय पनि गएका थिए । दिनभरि स्वास्थ्य जाँच गरेपछि उनीसहित अस्पतालका चिकित्सकको टोली ५ बजे हस्पिटल आएको निर्देशक दाहालले जानकारी दिए । अस्पताल आएपछि आफ्नो डेरातर्फ जाने भन्दै हिँडेका डा. यादव शनिबार बिहान मृत फेला परेका हुन् ।
शुक्रबार राति डा. यादव दुई जना साथीहरूसँग अबेर रातिसम्म होटलमा रमाइलो गरेको खुलेको छ । उनी साथीहरूसँग विराटनगरको एयरपोर्ट रोडमा रहेको एक होटलमा राति ११ बजेसम्म बसेका थिए । डा. यादवसहित तीन जना साथीहरू अबेर रातिसम्म बसेर बियर खाएका थिए ।
तीन जनाले ६ वटा बियर खाएको बताइएको छ । उनीहरू त्यो होटलमा राति करिब साढे ११ बजेसम्म बसेका थिए । त्यसपछि एउटा स्कुटरमा तीनैजना बसेर डा. यादवलाई पुर्याउन डेरा गएको देखिएको छ । डा. यादवलाई इम्प्लान्टमा काम गर्ने साथीले डेरादेखि करिब ५० मिटर दक्षिणमा छोडेको बताएका छन् । डा. यादवलाई डेराअगाडि छोड्दा रातको करिब ११ः४५ भएको ती साथीले बताएका छन् ।
‘डाक्टर यादवले होटलमा रहँदा भिडियो पनि खिच्नुभएको थियो । राति १२ बजेपछि त्यही भिडियो माग्न फोन गरेको थिएँ । तर, डाक्टर यादवको फोन उठेन’– सँगै राति बसेका ती साथीले भने ।
प्रहरीले होटलमा सँगै बसेर रमाइलो गर्ने दुई जना साथीहरूलाई सोधपुछका लागि मोरङ प्रहरीमा ल्याएको छ । करिब ८ महिनाअगाडि डा. यादवसँग झगडा गरेका सोही ठाउँका एक जना युवालाई पनि प्रहरीले सोधपुछको लागि मोरङ प्रहरीमा ल्याएको छ ।
डा. यादव घरका एक्लो छोरा हुन् । उनका बहिनी र आमा र बुबा रहेका छन् । छोराको रहस्यमय मृत्यु भएपछि सप्तरीदेखि बाबु यदुनन्द र आमा चन्द्रकला यादव विराटनगर आएका छन् ।