भद्रपुर । झापामा दिन प्रतिदिन भारतबाट भन्सार छलेर सामान भित्रिने क्रम अझै पनि रोकिएको छैन ।

भारतबाट भन्सार छलेर दिउँसै तस्करले लाखौँ मूल्य बराबरको लत्ताकपडा नेपालमा खुलेआम लगिरहेको समयमा सशस्त्र प्रहरीले सामान बरामद गरेपछि तस्करी भइरहेको पुष्टि भएको हो ।

सीमाक्षेत्रमा सुरक्षाका लागि बसेका दुवैतर्फका प्रहरीलाई तस्करले मोटो रकम बुझाएर तस्करी गरिरहेको पाइएको छ । विगतदेखि नै झापाका नाकाहरूमा तस्करी भइरहेको छ । एकै समूहको तस्करले नाका परिवर्तन गर्दै सामान ओसार–पसार गरिरहेका छन् । तस्करले काम जारी राखिरहेको अवस्थामा बुधबार राति पनि नकलबन्दा नाकाबाट प्रदीप नाम गरेका कारोबारीले अवैध सामान नेपाल भित्र्याएका थिए । 

बिहीबार भापाको पाडाजुङ्गीमा सशस्त्र प्रहरीले ठूलो परिमाणमा भन्सार छली गरेर लाँदै गरेको मे १ च ५९८७ नम्बरको पिकअप भेनसहित कपडा बरामद गरेपछि तस्कर र सीमाक्षेत्रका प्रहरीको अवैध धन्दा सार्वजनिक भएको हो ।

स्रोतका अनुसार कला, रोजा र सीता नाम गरेका कारोबारीहरूको सामान रहेको बुझिएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको मुख्य सडकमा बाक्लो उपस्थिति हुँदाहुँदै पनि दिन प्रतिदिन भन्सार छली गरेर अवैध सामान भित्रिरहनुमा मिलेमतो भएको पुष्टि हुन्छ ।

बरामद गरिएको सामान र गाडीसहित  १० लाख ७ हजार ४ सय मूल्य बराबरको रहेको र मेची भन्सार काँकडभिट्टामा बुझाइएको सशस्त्र प्रहरी बल पाडाजुङ्गीले जनाएको छ ।

पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको पिकअप भेनमाथि चेकजाँच गर्ने क्रममा बिना बिलको सामान फेला परेपछि नियन्त्रणमा लिइएको सशस्त्रका इन्स्पेक्टर साइमन श्रेष्ठले जानकारी दिए । सामानसँगै बिर्तामोड–२ का २५ वर्षीय गाडी चालक किरण राजवंशीलाई नियन्त्रणमा लिई मेची भन्सार कार्यालय काँकडभिट्टा बुझाइएको उनले जनाए ।

झापामा नकलबन्दा नाका मात्रै नभएर  तिरिङ, फोहोरमैला, सतीघट्टा, भद्रपुर क्षेत्र, केचना, घेराबारी, झापा बजार, सिङ्गीमारी, घोडामारालगायतका नाकाबाट दिनको २ सय पोकाको दरले कपडा, युरिया मल लगायतका अवैध सामान भित्रिइरहेको विभिन्न घटनाक्रमले देखाएको छ ।

घोडामारा प्रहरी चौकी, कालिका चियाबगान नाकाबाट प्रत्येक बिहान ५० बोराभन्दा माथि युरीया मल पनि साइकलमार्फत् नेपाल भित्रिइरहेको छ । भारतबाट भित्र्याइएको मल ५० किलो तौल भएको प्रतिबोरा एक हजार ६ सय देखि २ हजार रुपैयाँसम्म बिक्री गर्दै आइरहेका छन् ।

सो मल भारतमा प्रतिबोरा भारतीय ५ सय रुपैयाँमा पाइन्छ । भारतमा ५ सय परे पनि लाइन खर्च तिर्नुपर्दा महँगो हुन गएको मल ल्याउँदै गरेका कारोबारीले बताए । पटक–पटक सञ्चारमाध्यममा समाचार प्रकाशित भए पनि तस्करी रोकिएको छैन ।