धरान । सुनसरीको इटहरी–२ नवजागृती टोलको एक घरमा बम विस्फोट भएको घटनामा जोडिएकाहरूलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।
बम विस्फोटमा बम ल्याउने र अर्का एक युवा घाइते बनेका थिए । बम ल्याउनेमध्येका लमजुङ घर भएका २३ वर्षीय शेरजङ गुरुङ र भाडामा बस्दै आएका २२ वर्षीय रविन थापा घाइते बनेका थिए । शेरजङ थापाका आमा आशादेवी भनिने लक्ष्मीदेवी ठकुरीले दुई दिनका लागि बस्ने भन्दै लिएर आएको स्थानीयवासीले ब्लाष्टलाई बताएका थिए ।
घटनामा लक्ष्मीको पनि संलग्नता रहेको खुलेपछि प्रहरीले उनीसहित बम विस्फोटमा मुख्य नाइके मानिएका सञ्जय भनिने खगेन्द्र खरेललाई पनि पक्राउ गरेको छ । ४३ वर्षीय उनी झापाको कन्काई नगरपालिका ८, लक्ष्मीपुरका स्थायीवासी हुन् । हिमाल सुरक्षा परिषद् नामक भूमिगत संगठनको मुख्य नाइके मानिएका छन् । यसअगि झापा प्रहरीले माघ र फागुनमा गरी परिषद्मा संलग्न ९ जनालाई पक्राउ गरेको थियो । त्यसबेला खरेल फरार थिए ।
जिल्ला प्रहरी कार्यालयका एसपी सञ्जयसिंह थापाका अनुसार घटनामा संलग्न मुख्य नाइके खरेलसहित ३२ वर्षीया लक्ष्मी ठकुरी थापा, लमजुङको ढोडेनी ७ बस्ने २३ वर्षीय शेरजङ गुरुङ र २२ वर्षीय रविन थापालाई सार्वजनिक गरेको छ । इलाका प्रहरी कार्यालय इटहरी सुनसरीमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । उनीहरूलाई बिहीबार नै पक्राउ गरिएको थियो । चैत १४ गते राति अमित श्रेष्ठको घरको तल्लो तलामा बस्दै आएका गुरुङले ल्याएको बम अचानक विस्फोट हुन पुगेको थियो ।