धरान । सुनसरीको इटहरी उपमहानगरपालिका–२ नवजागृति टोलस्थित एक घरको कोठामा भएको बम विष्फोटपश्चात् ‘हिमाल सुरक्षा परिषद्’ को पर्चा भेटिएपछि घटनाले नयाँ मोड लिएको छ ।
यस घटनामा संलग्नमध्ये ९ जनालाई झापा प्रहरीले गत माघको विभिन्न मितिमा पक्राउ गरी फागुन ५ गते सार्वजनिक गरेको थियो । हिमाल सुरक्षा परिषद्भन्दा अघि ‘गोरखा जनमुक्ति पार्टी’ का नाममा भूमिगत सङ्गठन चलाउँदै आएका थिए । परिषद्ले झापा, मोरङ र सुनसरीलाई लक्षित गर्दै भूमिगत सङ्गठन चलाउँदै आएको थियो । जसले हिन्दु अतिवादका नाममा चर्चमा विष्फोटको प्रयास गर्दै आएको थियो ।
इटहरीमा विष्फोट हुनुपूर्व पनि चर्चमा नै राख्ने योजनाले बम ल्याइएको भए पनि चर्च फेला नपरेपछि कोठामा लगिएको गोप्य सूत्र बताउँछ । उक्त घटनामा घाइते भएका २२ वर्षीय रविन थापा र लमजुङ घर भई विगत दुई सातादेखि त्यहाँ बस्दै आएका शेरजङ गुरुङ प्रहरीको निगरानीमा उपचाररत छन् । उनीहरू दुवैको मोरङको विराटनगरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
घटनास्थलका स्थानीयवासीका अनुसार प्रहरीले हिमाल सुरक्षा परिषद्को पर्चा मात्रै हैन, कङ्ग्रेन्ट फ्रन्ट अफ नेपालको पर्चा पनि फेला पारेको छ । उक्त पर्चामा ‘कफन अवधारणा’ लेखिएको छ । उक्त कोठाबाट प्रहरीले महत्वपूर्ण दस्तावेज फेला पारेको स्थानीयवासी बताउँछन् ।
विष्फोटपश्चात् तत्कालै पुगेको प्रहरीले कोठा सर्च गर्दा ल्यापटप राख्ने कालो पुरानो झोला बरामद गरेको छ । जुन झोलामा विभिन्न लेटर प्याड तथा माइन्यूटहरू फेला पारेको स्थानीयवासी बताउँछन् । लमजुङका युवालाई दुई साताअघि दुई दिनका लागि भन्दै रविन थापाको आमा लक्ष्मी ठकुरीले ल्याएर राखेको स्थानीयवासी बताउँछन् ।
‘घटना हुनुभन्दा दुई दिनअघि अर्थात् आइतबार भारत जाने भनी हिँडेकी थिइन्’ एक स्थानीयले भने, ‘उनलाई एकजना गाउँकै सिटी सफारीवालाले पूर्व बसस्टेन्डसम्म छाडेको रहेछ । त्यो हिसाबमा काँकडभिट्टाको बाटो हुँदै भारत गएको हुन सक्छ । यो घटनापश्चात् फोन सबै स्वीचअफ छ भन्ने सुनिन्छ ।’
घटनामा उनको छोरा रविन परे पनि अहिलेसम्म सोधखोज नगरिनुले स्थानीय आश्चर्यमा परेका छन् । लक्ष्मी ठकुरी करिब तीन वर्षदेखि उक्त स्थानमा बस्दै आएको भए पनि घरधनी अमित श्रेष्ठको घरमा डेढ वर्षअघि मात्रै सरेका थिए । उनको श्रीमान् वैदेशिक रोजगारीअन्तर्गत कोरियामा रहेका बेला उतै आत्महत्या गरी मृत्यु भएको थियो । यो घटना करिब ७ वर्षअघिको हो ।
त्यसपश्चात् ती महिलाले कुनै कामधन्दा नगरेको स्थानीय बताउँछन् । ‘दुई–चारजना भेला पारेर दिनभरि लुँडो खेलेर बस्थिन्’ एक स्थानीय भन्छन्, ‘कामधन्दा केही गर्दिनथिन् । नयाँ केटालाई पनि मेरा मान्छे भन्दै राखेकी थिइन् ।’
गुरुङ सोमबार मात्रै काँकडभिट्टा पुगेर आएका थिए । त्यताबाट आउँदा उनले कालो झोलासमेत बोकेर ल्याएको स्थानीय बताउँछन् । यस घटनामा जोडिएका पात्रहरूलाई झापा प्रहरीले माघ ९ गते ट्युबेल गाड्दै आएका मजदुर कन्काई नगरपालिका–३ का ४१ वर्षीय भीष्म थापालाई पक्राउ गरेपश्चात् त्यससँग सम्बन्धित घटनामा पुजारीदेखि नाइकेसम्मलाई पक्राउ गरेको थियो ।
उक्त घटनामा जोडिएका एक व्यक्ति फरार रहेको प्रहरीले बताएको थियो । अहिले उक्त घटना र इटहरीको घटनामा झापाकै खगेन्द्र खरेल जोडिएका छन् । तत्कालीन समयमा झापा प्रहरीले पत्रकार सम्मेलन गरेर नाइकेदेखि पुजारीसम्मलाई सार्वजनिक गरेको थियो । उनीहरूले हिन्दु राष्ट्र र राजसंस्थाको नाम जोडेर चन्दा असुली गर्दै आएको पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी वसन्त पाठकले बताएका थिए ।
प्रहरीले माघ ९ गते झापाको बिर्तामोड नगरपालिका–४ बसस्टेन्डमा प्रेसर कुकरका साथमा पर्चा फेला पारेको थियो । त्यस्तै माघ १३ गते दमक नगरपालिका–५ स्थित सिवान चर्चको गेटमा सोही प्रकृतिको प्रेसर कुकर र पर्चा फेला परेको थियो ।
दुई घटनामा प्रहरीले हिमाल सुरक्षा परिषद्को पर्चा फेला पारेपछि १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर क्षेत्रीय अनुसन्धान समूह, जिल्ला प्रहरी कार्यालय झापा, इलाका प्रहरी कार्यालय अनारमनी र इलाका प्रहरी कार्यालय दमकले टोली बनाएर अनुसन्धान अगाडि बढाएको थियो ।
उक्त अनुसन्धानका क्रममा नै मुख्य नाइके मानिएका झापा गौरादह नगरपालिका–२ का ३८ वर्षीय सुमनकुमार कार्कीलाई प्रहरीले पक्राउ गर्न सफल भएको थियो । यो समूहमा अधिकांश पूर्व अपराधमा जोडिएका व्यक्ति छन् । उनीहरूले सङ्गठित अपराधको जालो पनि जेलमै बसेर बनाएको झापा प्रहरीले पत्रकार सम्मेलनमा जनाएको थियो । भारतको बिहार राज्यको कालियागञ्जमा बसेर झापा, मोरङ र सुनसरीमा अपराधको जालो फिँजाएका थिए ।
तत्कालीन समयमा प्रहरीले सङ्गठित अपराधमा जोडिएका व्यक्तिहरू सुनसरीमा रहेको अनुमान गरेको थियो । तर, एकाएक इटहरीमा सोमबार राति साढे १० बजेतिर घरको कोठामा सुतली बम विष्फोट भएपछि हिमाल सुरक्षा परिषद्को अपराधको जालोलाई फरक कोणबाट अनुसन्धान थालेको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी सञ्जयसिंह थापाले हिमाल सुरक्षा परिषद्को पर्चा भेटिएपछि झापाको केसलाई पनि जोडेर हेर्न थालिएको बताए । ‘सङ्गठन कहाँ कहाँ छन्, सदस्यहरू कुन कुन अपराधसँग जोडिएका छन्, आधिकारिक रूपमा अनुसन्धान गर्दैछौं’ उनले भने, ‘घाइतेहरूको पनि प्रहरी निगरानीमै उपचार भइरहेको छ ।’ तर, उनले घाइतेहरूको नाम भने खुलाउन चाहेनन् । अपराधमा अन्य पनि जोडिएको हुनसक्ने भएकाले घाइतेहरूको नाम बताउन नमिल्ने उनले जानकारी दिए ।
इटहरी बम विष्फोटमा जोडिएका खगेन्द्र खरेल भने अहिले भूमिगत छन् । केही समयअघि नै उनीहरूको ठूलो समूहलाई प्रहरीले नियन्त्रणमा लिइसकेकाले पनि उनी भूमिगत अवस्थामा रहेको प्रहरीले जनाएको छ । यस घटनामा संलग्न गुरुङको प्रहरीले प्रारम्भिक बयान लिइसकेको छ ।
प्रहरी स्रोतका अनुसार गुरुङले आफूले बम हो भनी थाहा नभएको जनाएका छन् । उनले आफूले पैसाका लागि काम गरेको भनी बयान दिएका छन् । यस आपराधिक गिरोहमा अधिकांश पूर्व अपराधमा संलग्न रहेकाले पनि यो समूह ठूलो नभएको प्रहरीको अनुमान छ । फागुन १५ गतेबाट सशस्त्र सङ्घर्षको घोषणा गर्दै यो समूहले हिन्दु राष्ट्र तथा राजसंस्थाको माग गर्दै आइरहेको छ ।
झापा प्रहरीले पक्राउ गरेका व्यक्तिहरू लागूऔषध, वैदेशिक रोजगारी ठगी मुद्दा, प्रेसर कुकर बम राखेको आरोपमा पक्राउ परी छुटेका व्यक्तिहरू छन् । हाल इटहरी घटनामा जोडिएका खगेन्द्र खरेल पनि बम विष्फोट घटनामै कैद भुक्तान गरी छुटेका व्यक्ति हुन् । यो समूहको राजनीतिक पृष्ठभूमि भने नभएको प्रहरीको दाबी छ ।