विराटनगर । मोरङको लेटाङमा एक महिला प्रहरीको हत्या आरोपमा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ । आइतबार मोरङको लेटाङमा हिंसात्मक झडप हुँदा प्रहरी जवान २६ वर्षीया उर्मिला श्रेष्ठको हत्या भएको थियो ।
सोही हत्या आरोपमा प्रहरीले सुनिल लिम्बू, पासाङ तामाङ, अश्वीन तामाङ, सञ्जीव प्रधान, कान्ता लामा, युनिश कट्टेल, प्रलात खड्का र श्रवण यादवलाई पक्राउ गरेको हो । पक्राउ परेका ९ जनालाई मोरङ प्रहरीले कर्तव्य ज्यान मुद्दामा मोरङ अदालतमा पाँच दिनको म्याद थप गरी अनुसन्धान सुरु गरेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका डिआइजी अरुणकुमार बिसीले जानकारी दिए ।
चैत ७ गतेदेखि लागू हुने गरी पक्राउ परेका ९ जनालाई चैत ११ गतेसम्म अनुसन्धान गर्न मोरङ अदालतले म्याद दिएको हो । अदालतले दिएको म्याद सकिएपछि प्रहरीले पुनः उनीहरूलाई शुक्रबार अदालतमा म्याद थप गर्न लैजानुपर्ने हुन्छ । पहिलो पटक म्याद थप गरिएका आरोपीहरूलाई प्रहरीले शुक्रबार मोरङ अदालतमा दोस्रो पटक म्याद थप गर्न लैजाने तयारी गरेको छ ।
प्रहरीले घटनामा संलग्नलाई पक्राउ गर्न अदालतसँग थप चार जना विरुद्ध पक्राउ पुर्जी माग गरेको थियो । बिहीबार अदालतबाट पक्राउ पुर्जी जारी भएको अदालत स्रोतले जानकारी दिएको छ । पक्राउ पुर्जी जारी भएपछि घटनामा संलग्नलाई पक्राउ गर्न प्रहरी टोली परिचालन भएको छ ।
लेटाङ घटनामा मृतकका परिवारले १९ जना विरुद्ध किटानी जाहेरी मोरङ प्रहरीमा दिएका छन् । सोही आधारमा घटनाको अनुसन्धान गर्दै प्रहरीले घटनामा संलग्नलाई पक्राउ गरेको हो । प्रहरीले आरोपीलाई पक्राउ गरी म्याद थप गरेको तीन दिन बितिसक्दा पनि घटनाबारे मोरङ प्रहरीले आधिकारिक रूपमा जानकारी दिएको छैन । महिला प्रहरीको ज्यानै जाने गरी भएको लेटाङ घटनाको अनुसन्धानको लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी), १ नम्बर प्रदेश प्रहरी र जिल्ला प्रहरी मोरङको संयुक्त टोली परिचालन भएको छ ।
मोरङका प्रहरी प्रमुख एसपी जनार्दन जिसीले लेटाङ घटना अनुसन्धानको लागि प्रहरी मुख्यालयको अपराध अनुसन्धान महाशाखासहितको संयुक्त टोलीले घटनाको अनुसन्धान सुरु गरी घटनामा संलग्नलाई पक्राउ गर्ने काम भइरहेको जानकारी दिए । ‘हिंसात्मक झडपको घटना अनुसन्धानको लागि संयुक्त रूपमा अनुसन्धान सुरु भएको छ’ उनले भने, ‘यस घटनामा केही व्यक्तिलाई पक्राउ पनि गरिएको छ ।’
प्रहरीको ज्यान जाने गरी भएको आक्रमणपछि लेटाङ क्षेत्रबाट प्रहरीले तीन दर्जन बढी स्थानीयवासीलाई नियन्त्रणमा लिएर सोधपुछ गर्ने क्रम जारी राखेको छ । अहिलेसम्ममा ४० भन्दा बढी सर्वसाधारणलाई नियन्त्रणमा लिएर प्रहरीले सोधपुछ गरिसकेको छ । ‘नियन्त्रणमा लिने र सोधपुछ गर्ने क्रम जारी छ’ एसपी जिसीले भने, ‘त्यसैले अहिलेसम्म कतिलाई नियन्त्रणमा लिइयो भन्ने अवस्था छैन ।’
स्थानीयका अनुसार लेटाङ क्षेत्रका लागूऔषध प्रयोगकर्ताहरू प्रहरीको टार्गेटमा बढी परिरहेका छन् । लेटाङ तनाव सुरु भएलगत्तैदेखि लागूऔषध प्रयोगकर्ताहरू प्रहरीप्रति आक्रामक रूपमा प्रस्तुत भइरहेको जानकारी आएको प्रहरी स्रोतको दाबी छ । ‘यसअघि आपराधिक पृष्ठभूमि भएका, लागूऔषधका प्रयोगकर्ताहरूमाथि शङ्का बढी छ’ स्रोतले भन्यो, ‘उनीहरूलाई ल्याएर सोधपुछ गर्ने क्रम जारी छ ।’
यसअघि लागूऔषधको कारोबारी र प्रयोगकर्ताहरूलाई प्रहरीले पक्राउ गरी मुद्दा चलाउँदै आएको थियो । ‘पक्राउ गरी मुद्दा चलाएको रिस फेर्न पनि कारोबारी र प्रयोगकर्ताहरूले प्रहरीलाई निसाना बनाएको देखिएको छ’–अनुसन्धानमा संलग्न प्रहरी अधिकारी भने । प्रहरीले यस घटनामा संलग्नलाई पक्राउ गरी अनुसन्धान गर्न ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरेको छ ।
‘घटना घटाएपछि आरोपी फरार भएका छन् । उनीहरू जङ्गलमा रहेको हुनसक्ने भएकोले प्रहरीले लेटाङ, केराबारी र मिक्लाजुङसँगै उत्तरी क्षेत्रको सर्च अभियान पनि सुरु गरेको छ’ घटनाको अनुसन्धान गर्दै आएका एक प्रहरी अधिकृतले भने, ‘अहिले आरोपी भाग्न नपाओस् भनेर जङ्गल र जिल्ला नाकासहित चारैतिर प्रहरी परिचालन गरिएको छ ।’ अहिले घटनाको अनुसन्धान गर्न मोरङ प्रहरीका डिएसपी मञ्जिल मुकारुङसहितका प्रहरी अधिकारीहरू घटनास्थलमा पुगेर अनुसन्धान गर्दै आएका छन् ।
प्रदेश १ प्रहरी कार्यालय विराटनगरले एसएसपी राजेन्द्रप्रसाद चौधरीको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेर छानबिन पनि सुरु गरेको छ । समितिमा एसएसपीसहित एक जना डिएसपी, इन्स्पेक्टर र दुई जना असइ रहने १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका डिआइजी अरुणकुमार बिसीले जानकारी दिए ।