धरान । बैंकिङ कसूर मुद्दामा फरार अभियुक्तलाई सुनसरीले प्रहरीले पक्राउ गरी फैसला कार्यान्वयनका लागि झुम्का कारागार चलान गरेको छ ।
सुनसरी हरिनगर गाउँपालिका १ का ३६ वर्षीय सम्सेर आलमलाई जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । उनलाई तीन वर्षपछि पक्राउ गरी फैसला कार्यान्वयनका लागि झुम्का कारागार चलान गरिएको हो । उनीमाथि २०७५ फागुन २७ गते उच्च अदालत विराटनगरले तीन महिना कैद र ७१ लाख ९० हजार रुपैयाँ जरिबाना सुनाएको थियो । आलम फरार रहेका थिए ।
उनीविरुद्ध अनिलकुमार झा र गोविन्दप्रसाद घिमिरेले पुन उजुरी दिएका थिए । उनीमाथि दुईवटा मुद्दामा उजुरी परेको थियो । एउटा मुद्दामा ३ महिना कैद र ५१ लख ९० हजार र अर्को मुद्दामा २० लाख रुपैयाँ जरिबाना तोकिएको थियो । उक्त जरिबाना तिर्न नसकेपछि जेल चलान गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।