विराटनगर । एक युवालाई अपहरण गरेर फिरौति रकम मागेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

सप्तरी घर भइ विराटनगर – ४ कंचनबारीमा डेरी गरि बस्दै आएका १८ वर्षिय आलोक श्रेष्ठलाई अपहरण गरि उनका परिवारलाई दुई लाख रुपैयाँ फिरौति रकम मागेको आरोपमा सुनसरी प्रहरीले तीन जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पथरिशनिश्चरेका २७ वर्षिय सुमन दाहाल, इनरुवाका २४ वर्षिय शंकर खड्का र सोही ठाउँका ३० वर्षिय भबेस थापा मगरलाई प्रहरीले गरेको छ । पक्राउ परेका आरोपीले आलोकलाई इनरुवामा भबेसको घरमा राखेको प्रहरीको भनाई छ ।

अपहरण गरेपछि भवेसको घरमा ल्याएर राखेपछि आलोकको फोनबाट उनका आफन्तलाई २ लाख रुपैयाँ दिए छोरा छोड्ने नदिए जे पनि गरिदिने भन्दै फोन गर्दै फिरौति रकम माग गरेका थिए । घटनाको मुख्य योजनाकार समुन रहेको प्रहरीले बताएको छ ।

सुमन र भवेस वैदेशिक रोजगारको क्रममा दुहबैमा सँगै काम गरेका थिए । मिल्ने साथी भएकाले अपहरण गरेपछि सुमनले भवेसको घरमा लगेर राखेको पाइएको छ ।

सुमनले आलोकलाई अपहरण गर्नुको कारण प्रेमिकासँग पनि जोडिएको प्रहरीको दाबी छ । ‘सुमनको प्रेमिका विराटनगरमा बसेर नाम चलेको कलेजमा पढदै आएका थिइन् । पढाइमा लाग्ने सम्पूर्ण खर्च सुमनले व्यवहरेका थिए ।

दुई वर्षदेखि उनीहरु अफयर थियो । केही दिन अगाडी सुमनको प्रेमिका आलोकसँग लागेपछि उनले थाहा पाए । त्यसपछि आलोकलाई अपहरण गर्ने र प्रेमिकालाई लगानी गरेको सम्पूर्ण खर्च उठाउने योजना बनाएर विराटनगरको कन्चनबारीदेखि बिहीबार बेलुका अपरहण गरेको खुलेको छ,’ अनुसन्धानमा संलग्न प्रहरी अधिकारी बताउँछन् ।

प्रहरीले अपहरण गरेको भोलीपल्ट शुक्रबार दिउँसो तीन जनालाई पक्राउ गरेको सुनसरी प्रहरीका प्रवक्ता डिएसपी नरेन्द्र कार्कीले जानकारी दिए ।

आलोकको परिवारले जाहेरी दिएपछि प्रहरीले घटनामा संलग्नलाई पक्राउ गरिएको डिएसपी कार्कीले बताए । वारदत स्थल घटना घटाएको ठाउँ विराटनगर रहेकाले सुनसरी प्रहरीले आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय मोरङमा आरोपीहरुलाई पठाएको छ ।

शनिबार विदा भएकोले आरोपीहरूलाई मोरङ प्रहरीले आइतबार ‘अपहरण तथा शरिर बन्धक’ मुद्दमा म्याद थप गरि अनुसन्धान सुरू गर्ने तयारी गरेको छ ।