सङ्खुवासभा । सङ्खुवासभा जिल्लाको पाँचखपनका एक व्यक्तिले नक्कली प्रहरी बनेर आफ्नै श्रीमतीको हत्या गर्ने प्रयास गरेको खुलेको छ ।

नक्कली प्रहरी बनेर हत्याको प्रयास गरेको आरोपमा दुई जना पक्राउ परेका छन् भने अन्य ३ जना फरार रहेका छन् । माइतमा रहेकी श्रीमतीलाई नक्कली प्रहरी बनेर ल्याई ज्यान मार्न खोजेको प्रहरीले जनाएको छ ।

सइको दज्र्यानी चिन्ह भएको १ जोर, प्रहरी हवल्दारको दज्र्यानी चिन्ह भएको १ जोर, प्र्रहरी जवानको २ जोर पोसाक र ४ जोर बुट गत फागुन २८ गते प्रहरीले खाँदबारी नगरपालिका वडा नं. ८ को जङ्गलमा फेला पारेको थियो ।

घटनाको विवरणअनुसार फागुन २७ गते खाँदबारी नगरपालिका वडा नं. ८ की प्रमिला कम्मर सार्कीलाई प्रहरीको भेषमा आएका ४ जनाले घरबाट करिब १ सय मिटर पर जङ्गलमा लगेर प्रमिलाका श्रीमान् रमेशकुमार तामाङलाई जिम्मा लगाएका थिए । त्यसपछि रमेशले आफ्नी श्रीमतीलाई ज्यानै मार्ने प्रयासले रातभर शारीरिक तथा मानसिक यातना दिएको आरोप छ ।

प्रमिलाले भोलिपल्ट जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । उजुरीका आधारमा फागुन २९ गते प्रहरीले पाँचखपन नगरपालिका वडा नं. ४ घर भई खाँदबारी नगरपालिका वडा नं. ९ बस्ने वर्ष ३० का अर्जुन तामाङ र पाँचखपन नगरपालिका वडा नं. ४ का प्रमिलाका श्रीमान् वर्ष ३४ का रमेशलाई पक्राउ गरी शुक्रबार सार्वजनिक गरेकोे हो ।

ललितपुरमा फर्निचर व्यवसाय गरी बस्दै आएका रमेशले पारिवारिक मनमुटावको रिस फेर्न गत फागुन २१ गते योजना बनाएका थिए । योजना बमोजिम रमेशसहित ४ जना फागुन २५ गते काठमाडौं बागबजारबाट नक्कली प्रहरीका पोसाक प्रतिजोर प्रतिदिन पाँचसयका दरले भाडामा ल्याएका थिए । २६ गते खाँदबारी आएका उनीहरूले २७ गते बेलुका योजनाअनुसार हत्याको प्रयास गरेको डिएसपी लालध्वज सुवेदीले बताए ।