सुनसरी । ब्राउन सुगरको कुलतमा फस्ने युवाहरूको सङ्ख्या सुनसरीमा बढेको छ । नेपाल र भारतको सिमाना खुल्ला भएकाले ब्राउन सुगरको कारोबार गर्ने गिरोहले सहजै भित्र्याउने गरेकाले यसको लतमा युवाहरू फस्न पुगेका हुन् ।
विभिन्न आपराधिक गतिविधिमा लागेका युवाहरूले सबैभन्दा बढी ब्राउन सुगरको कारोबार गर्ने गरेको प्रहरीको भनाइ छ । भारतीय गिरोहसँग मिलेर सुनसरीका सीमावर्ती क्षेत्रबाट ब्राउन सुगर भित्र्याउने गरिएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीको तथ्याङ्कअनुसार ब्राउन सुगरको ओसार–पसार र बिक्री वितरण गर्नेमध्ये गत साउनयता ५५ जनालाई पक्राउ गरी कारबाही गरिएको छ । उनीहरूका साथबाट ५ सय २४ ग्राम २ सय ३१ मिलिग्राम ब्राउन सुगर बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
ब्राउन सुगरसहित पक्राउ परेकाहरू अधिकांश युवापुस्ता रहेको सुनसरी प्रहरीको तथ्याङ्कले देखाएको छ । त्यसो त गएको आर्थिक वर्ष २०७६/०७७ मा ४७ ग्राम ३ सय २६ मिलिग्राम ब्राउन सुगरसहित ३३ जना पक्राउ परेका थिए भने आर्थिक वर्ष २०७५/०७६ मा २ सय ७० ग्राम २ सय ९३ मिलिग्रामसहित १९ जना पक्राउ परेका थिए । करिब तीन वर्षको तथ्याङ्क केलाउँदा पछिल्लो तीन वर्षमा ब्राउन सुगरको कारोबार र प्रयोग गर्नेको सङ्ख्या ‘दिन दुईगुणा, रात चौगुणा’ का दरले बढेको देखिन्छ ।
सुनसरीसँग जोडिएका ६२ किलोमिटरको भारतीय सीमावर्ती क्षेत्रबाट भिœयाइएको ब्राउन सुगर सुनसरीमा मात्र खपत नभई काठमाडौंसम्म पु¥याइने गरिएको छ । गत फागुन २३ मा काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–८ बाट ब्राउन सुगरसहित पक्राउ परेकी कविता गुरुङले सुनसरीको कोसी गाउँपालिका–८ बस्ने मिथुनकुमार यादव सहितको संलग्नता रहेको बयान दिएको तथ्यबाट पनि सुनसरी ब्राउन सुगर ओसार–पसारको ‘हट स्पट’ बन्न पुगेको देखिएको छ ।
यसबीचमा लागूऔषध नियन्त्रण ब्यूरो विराटनगर र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको टोलीले इनरुवा नगरपालिका–४ बसपार्कमा भारतीय नम्बर बीआर–३८–एक ०६२३ नम्बरको मोटरसाइकल खानतलासी गर्दा २२ वर्षीय यादव र सोही स्थानका १९ वर्षीय प्रमोदकुमार सरदार पक्राउ परे । सरदार र यादवको साथबाट प्रहरीले ९६ ग्राम खैरो हिरोइन बरामद भयो ।
उक्त मात्रा भनेको कम्तिमा ५५ लाख रुपैयाँको हो । ९ मिली ग्रामको एक डोज बनाउने गरिएको छ । प्रतिडोज कम्तिमा पनि ५ सय रुपैयाँदेखि १५ सय रुपैयाँसम्म पर्छ । यसैकारण केही वर्षअघिसम्म ब्राउन सुगर धनीमानीहरूले मात्र प्रयोग गर्ने लागूपदार्थ भनेर व्याख्या हुने गरेको थियो । तर, यसको लत लागेपछि जसले पनि प्रयोग गर्ने भएकाले सामान्य आर्थिक अवस्था भएका दुव्र्यसनीले ब्राउन सुगर प्राप्तिका लागि घरपरिवारसँग भएका सबैथोक बिक्री गर्न पुग्छन् ।
सुनसरी प्रहरीका अनुसार गत साउन २५ गते इनरुवा–४ स्थित पूर्व–पश्चिम राजमार्गमा पर्ने बसपार्कबाट १ सय ३० ग्राम लागूऔषध ब्राउन सुगरसहित पाँचजना पक्राउ परे । पश्चिमबाट आउँदै गरेको बा.१४ च ६१४५ नम्बरको कारमा सवार उनीहरूलाई विशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो विराटनगर र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको थियो ।
पक्राउ पर्नेमा सप्तरीको हनुमाननगर कङ्कालिनी–१४ बस्ने २० वर्षीय अमोदकुमार यादव, सप्तरी तिलाठी कोइलाडी–४ बस्ने २० वर्षीय इनरकुमार मुखिया, सप्तरी रामपुर मलहनिया–१४ का २४ वर्षीय विनोदकुमार कामत, सप्तरीको तिलाठीकै १९ वर्षीय रमेश मुखिया र कार चालक २२ वर्षीय फुलकुमार मुखिया थिए ।
विभिन्न क्षेत्रबाट प्रहरीले ब्राउन सुगरसहित पक्राउ गरेकामध्ये ८० प्रतिशतभन्दा बढी युवाजमात रहेको सुनसरी प्रहरी प्रमुख एसपी सञ्जयसिंह थापाले बताए । सुनसरी बहुमुखी क्याम्पस इनरुवाका अध्यापक श्यामप्रसाद साहले सुनसरीमा ब्राउन सुगरको कारोबार बढ्नुका कारण खुला सिमाना रहेको बताए । उनले भने, ‘नेपाल–भारतबीच खुला सीमा, सहज आपूर्ति, भौगोलिक अवस्था जस्ता कारणले आजको युवापुस्ता लागूऔषधको लतमा फस्दै गएको हो ।’
प्रहरीको बुझाइमा सडक बालबालिकाहरू, धनाढ्यका छोराछोरी, सामाजिक मर्यादा गुमेका बाबुआमाका छोराछोरी बढी मात्रामा लागूऔषधमा फसेका देखिन्छन् । लागूऔषध नियन्त्रण ऐन २०३३ मा २५ ग्रामसम्म कारोबार गर्नेलाई ५ वर्षदेखि १० वर्ष कैद र ५ हजारदेखि २५ हजारसम्म जरिबाना, २५ ग्रामदेखि एकसय ग्रामसम्म १० वर्षदेखि १५ वर्षसम्म कैद र ७५ हजारदेखि २ लाखसम्म जरिबानाको व्यवस्था गरिएको छ । १ सय ग्रामदेखि माथि परिमाणमा कारोबार गर्नेलाई १५ वर्षदेखि जन्म कैद र ५ लाखदेखि २५ लाखसम्म सजाय व्यवस्था रहेको छ ।
यति कडा दण्ड सजाय भए पनि ब्राउन सुगरको कारोबार भने नरोकिनु वा नियन्त्रणमा आउन नसक्नुका कारण पहिचान गर्न थप अनुसन्धान आवश्यक रहेको सरोकारवालाहरूले बताएका छन् ।