विराटनगर । विराटनगरस्थित न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी हस्पिटल अस्पतालको कार्यकारी निर्देशक हुन्, अनिषा विष्ट (बस्नेत) । यति ठूलो अस्पिटल हाँक्ने अवस्थामा पुगेकी उनले जीवनमा धेरै सङ्घर्ष गरेकी छन् ।

जिन्दगीको यात्रा उसै पनि ‘नागबेली’ छ । कहिले उकाली त कहिले ओराली अनि घुम्तीहरूसँगको जम्काभेट । सपना कति भेटिन्छन्, कति क्षितिज सरी टाढा हुन्छन् । यस्तै उतार–चढावपूर्ण जिन्दगी अनिषा विष्ट (बस्नेत) को पनि रह्यो । कहिले सुखको उच्छ्वास, कहिले दुःखको सगरमाथा । कहिले हिँड्नै सकस पर्ने उकाली त कहिले खुट्टा काम्ने ओराली । कहिले सलल बग्ने समथर त कहिले घुम्ती नै घुम्तीको गोल चक्कर ।

यस्तै घुम्तीको गोल चक्करको बीच अनिशाको जिन्दगीको रथ अगाडि बढ्यो । विराटनगरको हुनेखाने परिवारमा जन्मिएकी अनिशाको पढाइ राम्रै थियो । बाल्यकाल सुखद् बित्यो । तर, त्यो खुसी धेरै दिन टिकेन । अनिशा ९ वर्षकी छँदा आमा तुलसा बस्नेतको निधन भयो । उनले २०३८ कात्तिक २२ गते सुत्केरी आमालाई विराटनगरस्थित तत्कालीन कोसी अञ्चल अस्पतालमा गुमाइन् ।

दक्ष चिकित्सक र अहिलेको जस्तो अत्याधुनिक उपकरण नहुँदा उपचारको अभावले अकालमै ज्यान गुमाउनुपरेको उनी बताउँछिन् । त्यो बेला १२ दिनको भाइ काखमा थियो । बाल्यकालमै आमा चाहिने बेलामा उनले आमाको भूमिका निर्वाह गरिन् । जसले गर्दा सङ्घर्षले नै उनलार्ई अभिभावक बन्न सिकायो । पढ्न र पढाउन सिकायो, पौरखी नारी बन्न सिकायो ।

आमाको निधनपछि भाइको सम्पूर्ण जिम्मेवारी उनमै आइलाग्यो । पढ्ने धेरै इच्छा हुँदाहुँदै पनि विवाह छिट्टै भएकाले उनले सोचे जति पढ्न पाइनन् । उनले बीकमसम्मको अध्ययन गरिन् । उनको २०५० मङ्सिर २० गते डा.वीरेन्द्रकुमार विष्टसँग विवाह भयो । त्यसबेला डा. विष्टले एमबीबीएस मात्र गरेका थिए ।

हरेक मानिसको पछाडि एउटी महिलाको हात हुन्छ भने जस्तै अनिशाले पनि आफ्नो श्रीमान्को सम्पूर्ण जिम्मेवारी आफूले लिइन् र डा.विष्ट न्यूरोलोजिष्टमा एमडी गर्न युनिभर्सिटी अफ लण्डनतर्फ प्रस्थान गरे । डा.विष्ट लण्डन पढ्न गएको ६ दिनपछि अनिशाले कोशी अञ्चल अस्पतालमा छोरा ऋतिक विष्टलाई जन्म दिइन् ।

यसअगाडि छोरी रोशनीको जन्म भइसकेको थियो । उनी २ वर्षकी थिइन् । ‘त्यसबेलाको सङ्घर्ष, दुःख, पीडा भए पनि श्रीमान् पढेर, डिग्री लिएर आउने खुसीले सबै दुःख बिर्सिइन् । समय बित्दै गयो । डा.विष्ट पढाइ सकेर लण्डनबाट नेपाल फर्किए । त्यसबेला नेपालमा एकदमै कम न्यूरोलोजिष्टहरू थिए ।

अनिशाले अतीतका दिनहरू सम्झिँदै भनिन्, ‘विराटनगर आएलगत्तै डा.विष्टले तत्कालीन कोसी अञ्चल अस्पतालमा ६ महिना काम गरी राजीनामा दिनुभयो । त्यो बेलामा कोसीमा न्यूरोलोजी विभाग थिएन ।’ श्रीमान् र श्रीमती दुवै जना सल्लाह गरी आप्mनै अस्पताल खोल्ने योजना बनाए । विराटनगरस्थित शनिहाटमा १० शøयाको हस्पिटल खोलेका थिए । अस्पतालको सम्पूर्ण व्यवस्थापनको जिम्मेवारी अनिशाले सम्हालेकी थिइन् । अस्पताल १० बेडको भए पनि त्यसको उद्घाटन तत्कालीन बेलायती राजदुत रोनाल्ड पिनाष्टले गरेका थिए ।

‘अस्पतालप्रति सेवाग्राहीको विश्वास बढ्दै गयो’ उनले अतीतका दिन स्मरण गर्दै भनिन्, ‘बिरामीको सङ्ख्या दिन प्रतिदिन बढ्दै गयो । थप सेवाहरू पनि क्रमशः बढाउँदै अगाडि लगेका थियौं । त्यसपश्चात् अस्पताल सानो र साँघुरो हँुदै गयो । २०६० सालमा आफ्नै भवनमा (हाल रहेको) ५० शय्याको न्यूरो अस्पताल विस्तार गरियो ।’

न्यूरोलोजी सँगसँगै न्यूरो सर्जरीको पूर्वाञ्चलमै ठूलो अभाव थियो । प्रायःजसो सबै मानिस भारतको सिलिगुडी जाने गरेका थिए । यसैबीच २०६५ सालमा डा.यमबहादुर रोकाको नेतृत्वमा न्यूरो सर्जरी सेवा पनि शुभारम्भ भयो । न्यूरो सर्जरी सेवा सुरु भएपछि पूर्वाञ्चलका बिरामीहरूले भारत गएर उपचार गराउनु पर्ने बाध्यताको अन्त्य मात्र भएको छैन, भारतका बासिन्दाले समेत उत्कृष्ट स्वास्थ्य सेवाबाट लाभ लिइरहेका छन् । हाल अस्पताल १ सय ५० शय्यामा विस्तार भएको छ । जसको नेतृत्व एउटी नारीले गरेकी छन् ।

अस्पतालको कार्यकारी निर्देशक भएर उनले नेपालकै एक प्रतिष्ठित स्वास्थ्य संस्थाको रूपमा न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी हस्पिटललाई स्थापित गराउन सफल भएकी छन् । धैर्यता र सहनशीलताकै गुणले उद्यम, व्यवसायमा सङ्घर्षरत रहन प्रेरित गर्ने उनी बताउँछिन् । अनिशा एउटा कार्यकारी निर्देशक तथा जीवन सङ्गीनीको रूपमा त सफल छिन् नै एउटी आमाको रूपमा पनि उनको उपलब्धि गर्व गर्नलायक छ । उनका दुई सन्तानमध्ये छोरी रोशनी अहिले एमडीको तयारी गर्दैछिन् । छोरा ऋतिक एमबिबिएस गर्दैछन् ।

जोकसैले पनि रुचिकै विषयलाई पेशामा परिणत गरे सफल हुन सजिलो छ । तर, त्यसका लागि लगन, धैर्य र सङ्घर्ष जारी राख्नुपर्छ । यही गरिन् अनिशाले पनि । त्यसैले त उनी अहिले आफ्नो क्षेत्रमा अब्बल सावित भएकी छन् । अनिशालाई आजको सफलता कसैले बकसमा दिएर पाएकी होइनन् । उनलाई सङ्घर्षले यो स्थानमा पुर्याएको हो । सङ्घर्षशील महिलाले नेतृत्व गरेर स्थापित भएको हस्पिटलको रूपमा अहिले न्यूरो परिचित भएको छ । ‘महिलाले नेतृत्व गरेको कारणले अहिले अस्पतालमा रोजगारी पाएका आधाभन्दा बढी अर्थात् ७० प्रतिशत महिला रहेका छन्’–उनले भनिन् ।

बुबा हेमराज र आमा तुलसा बस्नेतको कोखबाट २०२९ पुस २० गते अनिशाको जन्म भएको हो । सङ्र्घषशील अनिशा विभिन्न सामाजिक सङ्घ–संस्थाहरूमा पनि आबद्ध छिन् । उनी धार्मिक तथा सामाजिक कार्यहरूमा संलग्न भएर अस्पतालमार्फत् विभिन्न प्रकारका स्वास्थ्य सेवा र जनचेतनामूलक कार्यक्रमहरू पनि गर्दै आएकी छन् । उनी २०५७ सालदेखि न्यूरो अस्पतालको कार्यकारी निर्देशक भएर अस्पताल सम्हालेपछि सामाजिक काम पनि उत्तिकै गर्दै आएकी छन् ।

कृष्णगङ्गा फाउन्डेशनमा आबद्ध रही लागूपदार्थ दुव्र्यसनीहरूकोे उपचार र निवारणमा पनि कार्यरत रहेकी छन् । यस्तै न्यूरो हेल्थ कलेजको निर्देशकको हैसियतले स्वास्थ्य क्षेत्रमा कार्य गर्ने इच्छुकलाई शैक्षिक कलेज स्थापना गरी दक्ष जनशक्ति उत्पादनमा पनि लागिपरेकी छन् । उनी लर्डबुद्ध कलेजको निर्देशक पनि हुन् ।

आमाको स्मृतिमा तुलसा मदर एण्ड चाइल्ड हस्पिटल
दक्ष चिकित्सक र अहिलेको जस्तो अत्याधुनिक उपकरण नहुँदा उपचारको अभावले अकालमा आफ्नो आमाले जस्तो अरू आमाहरूले ज्यान गुमाउनु नपरोस् भनेर उनले आफ्नै आमाको नामबाट पनि न्यूरोको विस्तारित शाखाको रूपमा तुलसा मदर एण्ड चाइल्ड हस्पिटल सञ्चालनमा ल्याइन् । उक्त हस्पिटल विराटनगरको महेन्द्रचौकमा विस्तारित शाखा तुलसा मदर एण्ड चाइल्ड हस्पिटलबाट पनि छुट्टै सेवा सुरु भएको छ । यो ५० शøयाको शाखा हो ।

‘मेरो भाइलाई जन्म दिएपछि मेरी आमाले संसार छोडेर जानुभयो । त्यसबेला भाइ जन्मेको १३ दिन भएको थियो । म ९ वर्षको थिएँ । अहिलेजस्तो उपकरण र भरपर्दो उपचार नपाएर अकालमा मेरो आमाले ज्यान गुमाउनु भयो’ अतीतका दिनहरू सम्झिँदै भावुक स्वरमा उनले भनिन्, ‘मेरो आमाले जस्तो अरू कसैको आमाको पनि भरपर्दो उपचार नपाएर ज्यान नजाओस् भनेर आमाको नाममा शाखा विस्तार गरेको हुँ ।’

यो शाखामा वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. शैलजा क्षेत्री श्रेष्ठ र वरिष्ठ बालरोग विशेषज्ञ डा. सुरेशप्रसाद साहबाट दैनिक सेवाहरू सुचारु हुँदै आएको छ । ‘आज म प्रत्येक दिन कम्तीमा एउटा आमालाई बचाउन भूमिका खेलिरहेको छु । यही नै हो मेरो आमाप्रतिको सच्चा श्रद्धाञ्जली हो’–उनले भनिन् ।