धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा संचालित स्वास्थ्य बीमा कार्यक्रम स्थगित हुने अवस्थामा पुगेको छ । बीमित विरामीको उपचार सेवा बापत लागेको खर्चको शतप्रतिशत रकम स्वास्थ्य बीमा बोर्डले उपलब्ध नगराएपछि प्रतिष्ठानमा आर्थिक सङ्कट आएको भन्दै स्वास्थ्य बीमा कार्यक्रम स्थगित गर्ने तयारी भएको हो ।
प्रतिष्ठानले बीमा बोर्डबाट पाउनुपर्ने बाँकी बक्यौता आगामी चैत १५ गते सम्ममा सबै नदिए बीमा कार्यक्रम स्थगित गर्न बाध्य हुने भन्दै बोर्ड र स्वास्थ्य मन्त्रालयलाई आइतबार पत्राचार गरेको छ । प्रतिष्ठानका अस्पताल निर्देशक प्रा.डा. गौरीशंकर साहकाअनुसार बोर्डले प्रतिष्ठानलाई ०७४ साउन यता तिर्नुपर्ने बाँकी बक्यौतामात्र २६ करोड ५० हजार रुपैयाँ रहेको छ । पछिल्लो समयमा प्रतिष्ठान आफंै नै आर्थिक रुपमा धरासायी भएको र आन्तरिक आय श्रोत समेत नभएको अवस्थामा विरामीको उपचार गरेवापत उठेको रकमले संचालन हुदै आएको छ ।
बीमा कार्यक्रम सरकारले लागु गरेपछि बीमितहरु उपचारकालागि आउने र उपचार सेवा गरेवापत रकम सरकारको स्वास्थ्य बीमा बोर्डले उपलव्ध गराउने गरेको छ । तर बीमा बोर्डले रकम निकासा नगरेपछि प्रतिष्ठानलाई आर्थिक संकट परेकाले स्वास्थ्य बीमा कार्यक्रम स्थगित गर्नुपर्ने अवस्थामा पुगेको अस्पताल निर्देशक प्रा.डा. साहले बताए ।
उनले भने, ‘प्रतिष्ठानको बाँकी बक्यौता एक महिना भित्र बोर्डले नतिरे हामी स्वास्थ्य विमा कार्यक्रम स्थगित गर्न बाध्य हुन्छौं । यसबारे स्वास्थ्य बीमा बोर्डलाई अल्टिमेटमसहित पत्राचार गरेका छौं । बोधार्थ पत्र स्वास्थ्य मन्त्रालय, प्रधानमन्त्री कार्यालय, प्रदेश १ मुख्यमन्त्री कार्यालय, प्रदेश १ को स्वास्थ्य मन्त्रालय, जिल्ला प्रशासन कार्यालय र धरान उपमहानगरपालिकामा पनि पठाएका छौं ।’
उनले प्रतिष्ठानमा सरकारको नितिअनुसार बीमित विरामीको उपचार सेवा गरेवापतको २६ करोड रुपैयाँ भन्दा बढी रकम बीमा बोर्डले रुजु नगरिदिएपछि आर्थिक समस्या उत्पन्न भएको बताए । उनले स्वसाशित स्वायत्त संस्था भएकाले प्रतिष्ठानमा कार्यरत २ हजार ३ सय बढी चिकित्सक, नर्स, शिक्षक, कर्मचारीलाई सरकारले नियमित तलवभत्ता सुविधा नदिने भएकाले आफ्नो व्ययभार आफै व्यहोर्दै आएको अवस्थामा बोर्डले रकम निकासा नगर्दा झन आर्थिक समस्या उत्पन्न भएको बताए ।
प्रतिष्ठानका अस्पताल प्रशासन प्रमुख अशोक साहले बीमा बोर्डलाई बाँकी बक्यौता भुक्तानी गर्न मौखिक र लिखित रुपमा पटक–पटक अनुरोध गरिएपनि वेवास्ता गरिएको बताए । उनकाअनुसार प्रतिष्ठानमा उपचारकालागि आउने मध्ये करिब ६० देखि ७० प्रतिशत बीमितहरु रहेका छन् । तिनैको रकम बोर्डले नदिँदा आर्थिक समस्या झेल्नु परेको हो । उनले भने, ‘प्रतिष्ठानमा सरकारद्धारा संचालित विपन्न नागरिकको उपचार सेवा, मुटु, क्यान्सर, दीर्घरोगी र ज्येष्ठ नागरिकको उपचार सेवा जस्ता कार्यक्रमको अग्रीम भुक्तानी भने प्राप्त भइरहेको छ तर बीमा बोर्डले बीमितको उपचार गरेवापतको रकम मध्येको २६ करोड रुपैयाँको कागजात रुजु नगर्दा बीमा कार्यक्रम नै स्थगित गर्नुपर्ने अवस्था आइपुगेको हो ।’
उनले बीमितको उपचार गरेको कागजात एकसाता भित्र बीमा बोर्डमा पठाउनु पर्ने प्रावधान रहेको बताए । ०७४ साउनदेखि प्रतिष्ठानले बीमितको उपचार सेवा गरेपनि प्रतिष्ठानबाट मागदाबी गरेर पठाएको मध्ये प्रत्येक पटक केही न केही कागजात रुजु नगर्दा २६ करोड रुपैयाँ पुगेको साहले बताए । उनले भने, ‘अगाडिको कागजात रुजु नगर्दा बाँकी बक्यौता हुने नै भयो पछिल्लो समयमा गत कात्तिकदेखि बोर्डले एक पैसा पनि नपठाउदा अर्को समस्या थपिएको छ । विरामी उपचार गरेर उठेको रकमले प्रतिष्ठान संचालन हुने हो । तर विमा वोर्डले नै रकम निकासा नगरेपछि हालत खराब भएको छ । आर्थिक संकट आइपरेको छ ।’
प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरीले सरकारबाट संचालित स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत बीमित विरामीहरुलाई स्वास्थ्य सेवा पुर्याए वापत खर्च हुन आएको रकम प्रतिष्ठानले बीमा बोर्डमा शोधभर्नाका लागि बोर्डको दर रेटअनुसार दाबी गरी भुक्तानी लिने प्रावधान रहेको बताए । उनले भने, ‘०७४ साउनदेखि हालसम्म ७३ करोड रुपैयाँ बराबरको सेवा बीमितहरुलाई प्रदान गरेको छ तर बीमित विरामीको उपचार सेवा गरेवापत कागजपत्रसहित दाबी गर्दा हरेक पटक बोर्डले केही न केही रकमको रुजु नगर्दा सोही रकम अहिले २६ करोड रुपैयाँ भन्दा बढी पुगेको छ । प्रतिष्ठानको खर्च भएको यति धेरै रकमलाई बोर्डले रोक्नु भनेको सोझै आर्थिक संकटमा पार्नु हो ।’
पछिल्लो समयमा प्रतिष्ठानमा नयाँ र पुराना गरी दैनिक एक हजार जना भन्दा बढी विमित विरामीले उपचार सेवा पाउदै आएका छन् । साप्ताहिकरुपमा हुने खर्च करिब १ करोड रुपैयाँ बीमा बोर्डमा दाबी गर्दै आएको प्रतिष्ठानले समयमै रकम नपाउदा चिकित्सक, नर्स र कर्मचारीले समेत नियमित तलव भत्ता नपाएको उपकुलपति गिरीले बताए ।
बीपी प्रतिष्ठानले मागदावी गरेको रकम नपाएको बारे बोर्डका कार्यकारी निर्देशक दामोदर बस्यौलाले भने, ‘स्वास्थ्य विमा बोर्डमा स्थायी दरबन्दी भएका जनशक्ति अभावले बीपी प्रतिष्ठानले भुक्तानी दाबी गरेको रकम निकासा गर्न ढिलाइ भएको हो । बोर्डको सिस्टम अनुसार प्रतिष्ठानले पठाएका सवै कागजात रुजु हुन्छ । लामो समयदेखिका कागजातको रुजु मिलाउनु पर्ने भएकाले केही समय भने लाग्छ ।’