धरान । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेडियोलोजी विभागमा जडान गरिएको २ सय ५६ स्लाइसको नयाँ सिटी स्क्यान मेसिनले दैनिक ५५ देखि ६० जनाको सिटी स्क्यान गरे पनि रिपोर्ट दिन भने ४ देखि ६ दिनसम्म लाग्ने गरेको छ ।

रिपोर्ट आउन ढिलो भएपछि बिरामीले थप सास्ती खेप्नुपरेको छ । नयाँ मेसिन जडान भएपछि प्रतिष्ठानले सिटी स्क्यान मेसिनबाट मात्र दैनिक सरदर ३ लाख रुपैयाँदेखि ४ लाख रुपैयाँसम्म आन्तरिक आम्दानी गराउँदै आएको छ । तर, विभागबाट हालैमात्र चारजना रेडियोलेजिष्टहरूले एकसाथ राजीनामा दिएपछि पर्याप्त जनशक्ति अभाव हुँदा तत्काल रिपोर्ट दिन ढिलाइ भएको हो ।

रेडियोलोजी विभागमा सिटी स्क्यानको रिपोर्ट दिन ढिलाइ भएसँगै बिरामीको चापअनुसार पर्याप्त मात्रामा अल्ट्रासाउण्ड (भिडियो एक्स–रे) र एक्स–रे मेसिन अभाव पनि खट्किएको छ ।  प्रतिष्ठानको रेडियोलोजी विभागमा अल्ट्रासाउण्ड गर्ने बिरामी दैनिक २ सय जनाभन्दा बढी दर्ता हुने गरेका छन् भने एक्स–रे गर्नेहरू दैनिक ४ सय जनाभन्दा बढी आउने गरेको विभागले जानकारी दिएको छ ।

विभागीय प्रमुख प्रा.डा. मुकेश गुप्ताले भने, ‘पर्याप्त जनशक्ति र अल्ट्रासाउण्ड तथा एक्स–रे मेसिन नहुँदा बिरामीको चाप थेग्न सकिरहेका छैनौं । सहज रूपमा सेवा प्रवाह गर्न हामीलाई विभागमा भएकाबाहेक आधुनिक प्रविधिको अल्ट्रासाउण्ड कम्तिमा थप ६ वटा चाहिन्छ । त्यस्तै डिजिटल एक्स–रे मेसिन पनि ४ वटा आवश्यक भइसकेको छ ।’

उनले प्रतिष्ठानको रेडियोलोजी विभागमा दुईवटा पोर्टेबलसहित सात वटा अल्ट्रासाउण्ड मेसिन छन् । तर, ती मेसिनमध्ये एउटा मेसिनले मात्र गुणस्तरीय सेवा दिइरहेको छ । दुईवटा पोर्टेबल मेसिन छन् तर, तिनले गुणस्तरीय सेवा दिन सकेका छैनन् । अन्य अल्ट्रासाउण्ड मेसिनहरू पुराना र बिग्रिरहने भएकाले कामचलाउमात्र भएको गुणस्तरीय ‘इमेज रिपोर्ट’ दिन समस्या भएको छ । उनले भने, ‘पुराना र बिग्रिरहने अल्ट्रासाउण्ड मेसिनले ठाउँमात्र ओगटेका छन् । तिनलाई विस्थापित गरेर नयाँ मेसिन खरिद गर्नुको विकल्प छैन ।’

उनले प्रतिष्ठानको आन्तरिक आम्दानीको स्रोत सबैभन्दा बढी जुटाउनेमा रेडियोलोजी विभाग मुख्य मानिन्छ । मुख्य आम्दानीको स्रोत जुटाउने विभागमै मेसिनहरू पुराना भए पनि नयाँ मेसिन खरिद नगर्दा बिरामीले पनि सास्ती पाएको र प्रतिष्ठानको आम्दानीको स्रोत पनि घट्न सक्ने भएकाले व्यवस्थापन पक्षले ध्यान दिनुपर्ने बताए ।

उनले भने, ‘प्रतिष्ठानको रेडियोलोजी विभागमा जडान गरिएको नयाँ सिटी स्क्यान मेसिनको लागत मूल्य अबको एक–डेढ वर्षमा उकासिन्छ । सरकारले मेसिन खरिद गर्ने बजेट दिएपछि त्यही रकमले मेसिन किनेर सेवा प्रवाह गर्दा प्रतिष्ठानकै आम्दानी बढ्ने हो ।’ अल्ट्रासाउण्ड मेसिन अभाव भएपछि हालैमात्र तीनवटा खरिद प्रक्रिया सम्पन्न भएको र त्यसमध्ये एउटा आइसकेको, अरू तीनवटाका लागि खरिद प्रक्रियाको तयारी भइरहेको डा. गुप्ताले बताए । 

रेडियोलोजी विभागमा सबैभन्दा बढी भीड एक्स–रे गर्ने बिरामीको हुन्छ । बिरामीको चापको अनुपातमा कम्तिमा १० वटा एक्स–रे मेसिनबाट सेवा प्रवाह हुनुपर्नेमा हाल दुईवटा मेसिनमात्र चालु अवस्थामा रहेका छन् । ती मेसिनहरू पनि दुईदशक पुराना छन् ।

नेपाल सरकारले ०७२ सालमा  दिएको करिब २ करोड रुपैयाँ लागतको आधुनिक डिजिटल एक्स–रे मेसिन भने दुईसाता अघिमात्र जेनेरेटर पड्केर कामै नलाग्ने भएको छ । प्रतिष्ठानमा भएको नयाँ र गुणस्तरीय एक्स–रे मेसिनमध्ये त्यो मात्र थियो । त्यो पनि कामै नलाग्ने गरी बिग्रेपछि दैनिक ४ सय जना बिरामी एक्स–रे गर्न आउनेहरू सास्ती खेप्न बाध्य भएका छन् ।

रेडियोलोजी विभागका प्राविधिक इन्चार्ज मुकेश झाले भने, ‘जेनतेन थेगिरहेका छौं । ओपिडी र वार्डबाट आएका बिरामीको चाप थेग्न गाह्रो भएको बेला इमर्जेन्सी विभागमा भएका दुईवटा एक्स–रे मेसिन पनि बिग्रिएपछि इमर्जेन्सीका बिरामी पनि यतै ल्याउने गरिएकाले झन् चाप बढेको छ । बिरामीलाई सहज सेवा दिनका लागि तत्काल नयाँ र ठूला डिजिटल एक्स–रे मेसिनको खाँचो छ । नत्र बिरामीले पालो कुर्दाकुर्दा हैरान मात्र हुने गरेका छन् ।’

उनले पुराना एक्स–रे मेसिनका गुणस्तर खस्किएकाले ती सबैलाई विस्थापित गरेर आधुनिक प्रविधिको डिजिटल एक्स–रे मेसिन जडान नगरेसम्म प्रतिष्ठानमा बिरामीले पनि सास्ती खेप्नु पर्ने र रेडियोलोजीका कर्मचारीले पनि सास्ती खेप्नुपर्ने बताए ।

प्रतिष्ठानमा एक ठाउँबाट अर्को ठाउँमा आवश्यकताअनुसार सार्न सकिने पोर्टेबल एक्स–रे मेसिन नभएका होइनन् । तर, तिनका गुणस्तर भने कमसल हुने भएकाले रोग पहिचान गर्न चिकित्सकलाई कठिन हुँदा सही डाइग्नोसिस गर्न गाह्रो हुन्छ । उनले भने, ‘ती पोर्टेबल मेसिनहरूका पनि इमेजिङ प्लेट (क्यासेट) अभाव छ । पोर्टेबलका लागि चाहिने क्यासेट कम्तिमा ५ थान हो । तर, दुई थानमात्र छन्, ती पनि पुराना भएकाले गुणस्तरीय इमेज निकाल्न मुस्किल भएको छ ।’

पछिल्लो समयमा प्रतिष्ठानले आफ्नो इमर्जेन्सी विभागमा जडान गरेको सार्वजनिक निजी साझेदारीको १६ स्लाइसको सिटी स्क्यान मेसिन बिग्रिरहने र सिटी स्क्यान गरेमा त्यसबापतको आम्दानी पनि ६० प्रतिशतभन्दा बढी साझेदारले लैजाने भएकाले प्रतिष्ठानकै मेसिनबाट सेवा प्रवाह भइरहेको गुप्ताले बताए ।

प्रतिष्ठानमा आउने बिरामीको सहज र सस्तो शुल्कमा सिटी स्क्यान गरेर सेवा प्रवाह गर्नका लागि इमर्जेन्सीमा आफ्नै सिटी स्क्यान मेसिन हुनुपर्ने रेडियोलोजी विभागको भनाइ छ । विभागले प्रतिष्ठानको आम्दानीको मुख्य स्रोत रेडियोलोजी विभाग भएकाले साझेदारीमा जडान गरेको मेसिनलाई विस्थापित गरेर आफ्नै मेसिन राख्नुपर्नेमा जोड दिएको छ ।