धरान । मोरङको विराटनगर महानगरपालिका–३ कञ्चनबारीस्थित आर्या न्यूरो हस्पिटलले ओपिडी (बहिरङ सेवा) निःशुल्क सुरु गरेको छ ।
विशेषज्ञ चिकित्सकहरूले दिँदै आएको बहिरङ्ग सेवा निःशुल्क गरिएको हस्पिटल सञ्चालकले जनाएको छ । आर्यामा न्यूरो, हाडजोर्नी तथा नसा, मानसिक रोग, जेनरल फिजिसियनलगायतको सेवा रहेको छ ।
फागुन महिनादेखि ओपिडीमा निःशुल्क गरिएको अस्पताल निर्देशक दिनेश ठाकुरले जानकारी दिए । ओपिडी सेवामा हरेक अस्पतालले निश्चित शुल्क लिने गरेका छन् । तर, शुल्क भने महँगो हुँदैन । आर्यामा मस्तिष्क, मेरुदण्ड तथा नशा रोगसम्बन्धीमा न्यूरो सर्जन डा. पङ्कजराज नेपालले सेवा दिँदै आएका छन् ।
त्यस्तै हाडजोर्नी तथा नशारोगसम्बन्धी सेवाका लागि डा. मिलन केसी, मानसिक रोगसम्बन्धी समस्याका लागि डा. आलोक झा, जेनेरल फिजिसियन सेवाका लागि डा. राकेशकुमार मण्डलले सेवा दिँदै आएका छन् ।
स्वास्थ्यको पहुँचभन्दा टाढा रहेका आर्थिक विपन्न सामुदायहरूलाई लक्षित गरी आर्या अस्पतालले निःशुल्क सेवा सञ्चालन गरेको हो । अस्पतालले चाँडै स्वास्थ्य बिमा कार्यक्रम पनि सञ्चालन गर्ने भएको छ । विपन्न समुदायका बिरामीलाई लक्षित गरी स्वास्थ्य बिमा कार्यक्रम सुरु गर्ने तयारी गरिएको अस्पतालले जनाएको छ ।