विराटनगर ।  स्वास्थ्य पूर्वाधारले फड्को मार्दै अगाडी बढेको विराटनगरस्थित कोशी अस्पतालमा वार्षिक १० हजार जनासम्मको प्रसूति हुने गरेको पाइएको छ । प्रदेश १, मधेस प्रदेश र भारतको विहार राज्यसम्मका बिरामीले कोशी अस्पतालमा आएर वर्षमा ९ देखि १० हजार जनाको प्रसूति हुने गरेको अस्पतालले स्त्री रोग  तथा प्रसूति विभागका प्रमुख स्त्री रोग तथा प्रसूति रोग विशेषज्ञ डा. अन्जु देवले जानकारी दिइन् । ‘अस्पतालमा अहिले दैनिक जसो २० देखि ३० जनासम्मको प्रसूति हुने गरेको छ । यहाँ प्रदेश १ र २ देखि भारतको विहार प्रदेशसम्मका बिरामी सेवा लिन आउने गरेका छन् ।’ सुविधा सम्पन्न भवनमा स्त्री रोग तथा प्रसूति सेवा सुरु भएपछि बिरामीको उपचार गर्न धेरै सहज हुने उनको भनाई छ । 

अस्पतालमा भित्र बनेको सुविधा सम्पन्न स्त्री रोग तथा प्रसूति विभागको छुट्टै भवनको आइतबार उद्घाटन गरिएको छ । अमेरिकी सेनाको सहयोगमा निर्माण भई एक साता अगाडी हस्तान्तरण भएको प्रसूति विभागको भवन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले उद्घाटन गरेका हुन् ।

१२ करोड रुपैयाँ लागतमा नवनिर्मित प्रसूति भवनमा ७१ शय्या रहेको छ । नयाँ बनेको भवनमा बिरामी राखेर प्रसूतिको सेवा आरम्भ भएको छ । नयाँ भवनबाट सामान्य प्रसूति, जटिल प्रसूति तथा शल्यक्रिया, सुरक्षित गर्भपतन र स्त्री रोग सम्बन्धीको सम्पूर्ण सेवाहरू सञ्चालनमा आउने डा. अन्जु देवले जानकारी दिइन् । यसअघि जीर्ण भवनबाट अस्पतालले प्रसूतिको सेवा दिँदै आएको थियो । नयाँ सुविधा सम्पन्न भवन बनेपछि उपचारमा सहजता हुने डा. देवले बताइन् । ‘यसअघि जीर्ण भवनमा कष्टकर तरिकाले सेवा दिनुपर्ने बाध्यता थियो । नयाँ भवन बनेपछि बिरामीलाई उपचरामा सहज हुनेछ,’ उनले भनिन् । 

उद्घाटन कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले कोशीलाई सुविधा सम्पन्न अस्पताल बनाएर देशको नमुना अस्पतालको रूपमा विकास गरेर अगाडी बढ्ने बताए । भौतिक पूर्वाधारले सम्पन्न बनाउँदै पर्याप्त जनशक्तिको व्यवस्थापन गरेर गुणस्तरीय सेवा प्रदान गरेर देशको नमुना अस्पताल बनाउने सरकारको योजना रहेको उनले बताए । त्यही अनुसार अहिले संरचनाहरू बन्दै गएको उनले बताए । मन्त्री खतिवडाले फागुन १ गतेदेखि देशभरि सर्वसाधारणलाई लगान सुरु गरिएको कोभिड १९ विरुद्धको ‘बुस्टर डोज’ खोप अभियानलाई प्रभावकारी रूपमा अगाडी बढाउनुपर्ने बताए । 

प्रदेश १ का स्वास्थ्य मन्त्री जयराम यादवले कोशीलाई प्रदेश १ को गौरवको अस्पतालको रूपमा विकास गरेर अगाडी बढ्नुपर्ने बताए । स्वास्थ्य सेवालाई प्रभावकारी बनाउँदै यस प्रदेशको गौरवको अस्पतालको रूपमा विकास गर्न सबै लाग्नुपर्नेमा जोड दिए । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले सरकारी अस्पतालमा विपन्न समुदायका बढी बिरामी आउने भएकोले गुणस्तरीय सेवा प्रदान गरी बिरामीको मन जित्नुपर्ने बताए । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. सङ्गीता मिश्रले देशभरिमा कोशी अस्पताल तेस्रोमा आउने भएकोले यस अस्पतालले गुणस्तरीय सेवा दिएर अगाडी बढ्नुपर्नेमा जोड दिइन् । प्रत्येक वर्ष ९ देखि १० हजारको प्रसूति गराउने अस्पताल कोशी पर्ने भएकोले थप सेवा विस्तार गर्दै बिरामीलाई सहज रूपमा सेवा प्रदान दिनुपर्ने बताइन् । 

स्त्री रोग तथा प्रसूति विभागमा ८ जना विशेषज्ञ चिकित्सक रहेका छन् । सेवा प्रवाहसँग थप स्वास्थ्य जनशक्ति परिचालन गर्ने अस्पतालका सुपरिटेन्डटेन्ड मेसु डा. चुमनलाल दासले जानकारी दिए । दुईतलाको संरचना रहेको प्रसूति विभागको निर्माण कार्य २०७७ असार अन्तिम सातादेखि सुरु भएको थियो । इतिहास बोकेको अस्पतालले अहिले १७ वटा सेवा प्रदान गर्दै आएको उनले बताए । ६ वटा पब्लिक हेल्थको सेवाहरू पनि सुचारु रहेको उनले जानकारी गराए । सुपर स्पेसलिटी हस्पिटल बनाउन लागि परेको मेसु दासलले बताए । ‘अहिले पूर्वाधारहरू  धमाधम भइरहेको छ,’ उनले भने, ‘यो बन्दै गरेको भौतिक संरचनाहरू सुपर स्पेसलिटी हस्पिटलको लागि हो ।’