धरान/ एक साताअघि मोरङका केही क्षेत्रमा कुखुरामा बर्डफ्लू देखिएपछि सरकारले प्रदेश १ को राजधानी विराटनगरका केही क्षेत्रलाई बर्डफ्लू प्रभावित क्षेत्र घोषणा गरेको छ ।

घना बस्ती रहेको राजधानी विराटनगरको १८ नम्बर वडा क्षेत्रलाई बर्डफ्लू प्रभावित क्षेत्र घोषणा गरेको हो । नेपाल सरकारको मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले विराटनगर–१८ हिमालयन कृषि फार्मलाई केन्द्रविन्दु बनाउँदै बर्डफ्लू प्रभावित क्षेत्र घोषणा गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

मोरङको ग्रामथान गाउँपालिका–१ खुनियाकट्टा र बूढीगङ्गा गाउँपालिका–५ मा माघ १८ गते बर्डफ्लू सङ्क्रमण पुष्टि भएको थियो । त्यहाँका फर्ममा झण्डै ३५ सय कुखुरा मर्न थालेपछि काठमाडौंँस्थित नमुना केन्द्रीय पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरले बर्डफ्लू सङ्क्रमण पुष्टि गरेको थियो ।

प्रयोगशालाले रियल टाइम पीसीआर विधिबाट परीक्षण गर्दा सङ्क्रमण पुष्टि भएपछि सरकारले विराटनगर १८ नम्बरलाई केन्द्रविन्दु बनाएर बर्डफ्लू प्रभावित क्षेत्र घोषणा गरेको हो । सरकारले उक्त क्षेत्रमा पशुपंक्षीजन्य सामग्री ओसार–पसारलगायतलाई प्रतिबन्ध लगाउने भएको छ ।