विराटनगर । १२ करोड लागतमा विराटनगरस्थित कोशी अस्पताल भित्र ७१ शय्याको बर्थिङ सेन्टर सञ्चालनमा आएको छ । सुरक्षित मातृत्वको सेवा प्रदान गर्ने उद्देश्यले अस्पताल भित्र बर्थिङ सेन्टर सञ्चालनमा आएको हो ।
बर्थिङ सेन्टरबाट सम्पूर्ण प्रकारको प्रसूति सेवाहरू प्रदान हुनेछ । बर्थिङ सेन्टरबाट शल्यक्रियादेखि सामान्य तरिकाले प्रसूति गराउने अस्पतालले जनाएको छ । यसअघि जीर्ण र पुरानो भवनबाट प्रसूति सेवा प्रदान गरिँदै आएको थियो । अहिले सुविधा सम्पन्न भवनबाट सेवा प्रभाव गरेपछि बिरामीको उपचारमा सहजता हुने कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट मेसु डा. चुमनलाल दासले जानकारी दिए । ‘पुरानो भवन जीर्ण र फोहोर थियो । पर्याप्त बेडहरू पनि थिएनन् । सेवा प्रवाह पनि चुनौतीपूर्ण र कठिन थियो,’ उनले भने, ‘तर, अब त्यो समस्याको हल भएको छ । अब नयाँ भवनबाट बिरामीलाई सेवा प्रवाह गर्नेछौँ ।’
अमेरिकी सेनाद्वारा निर्माण सम्पन्न सुविधा सम्पन्न बर्थिङ सेन्टर शुक्रबार एक कार्यक्रमको आयोजना गरी अस्पताललाई हस्तान्तरण गरिएको छ । हस्तान्तरण गरिएको उक्त बर्थिङ सेन्टर हप्ता दिन भित्रै सञ्चालनमा आउने अस्पतालले जनाएको छ । बर्थिङ सेन्टरमा ७१ बेडका साथै अन्य सम्पूर्ण अत्याधुनिक सेवा सुविधाहरू उपलब्ध छन् । बर्थिङ सेन्टरका लागि कोशी अस्पतालसँग हाल ८ जना विशेषज्ञ डाक्टरहरू छन् । सेवा प्रवाहसँग थप स्वास्थ्य जनशक्ति परिचालन गर्ने अस्पतालले जनाएको छ ।
दुई तलाको संरचना रहेको मोरङ बर्थिङ सेन्टरको निमार्ण कार्य २०७७ असार अन्तिम सातादेखि सुरु भएको थियो । केही दिनअघि मात्रै निर्माण सम्पन्न भएको उक्त बर्थिङ सेन्टर १.२ मिलियन अमेरिकी डलर अर्थात् करिब १२ करोड रुपैयाँ बढीको लागतमा उक्त बर्थिङको निमार्ण कार्य सम्पन्न भएको हिमालयन बिल्डर्स एण्ड इन्जिनियर्स प्रा.लि.का निर्देशक खेमराज खनालले बताए । बर्थिङ सेन्टरमा हाल २ वटा अपरेसन थिएटर, डेलिभरी रुम र ब्लड रेफ्रिजेरेटर लगायतका सुविधाहरू छन् ।