विजयपुर । अमेरिकाबाट निःशुल्क रूपमा आउने खुट्टामा लगाउने लामो स्टिल (नेल) बिक्री गरेको समाचार सार्वजनिक भएपछि अमेरिकाको साइन कम्पनीले रोक लगाएको छ ।

कम्पनीले सम्बन्धित चिकित्सकलाई इमेल लेख्दै स्टिल नपठाउने भनेको छ । साइन कम्पनीले प्रतिष्ठानका एसोसिएट प्रोफेसर डा. रोशन कलवारको नाममा इमेल लेख्दै केही समयका लागि नपठाउने जनाएको हो । उनको नाममा साइन कम्पनीका प्रोग्राम एन्ड एजुकेशन मेनेजर जेरी सी रोसेन्थलले इमेल लेख्दै नपठाउने बताएका हुन् । उनले पठाएको ‘प्रतिष्ठानले साइन नेल बिक्री गरिरहेको छ भन्ने समाचार, फेसबुक र इमेलदेखि जानकारी पायौँ । उक्त समस्या समस्या समाधान नभएसम्म रोक्का गर्याै ।’

इमेलमा भनिएको छ । सन्देशमा साइन नेल विपन्न तथा आर्थिक अवस्था न्यून भएका गरिबहरूलाई निशुल्क दिनुपर्ने उल्लेख छ । यता डा. कलवारले साइन कम्पनीलाई प्रतिष्ठानका चिकित्सकहरूले नै खेल्न खोजेको भनी सन्देश पठाएका छन् । उनले पठाएको पत्रमा बिरामीको फ्लोअप, स्थानीय व्यवस्थापनका लागि केही खर्च आवश्यक पर्ने जनाएका छन् ।

प्रतिष्ठान हाडजोर्नी विभागका अनुसार औपचारिक रूपमा नेल रोक्न पत्राचार नभए पनि सम्बन्धित चिकित्सकलाई पठाएको छ भन्ने सुनिएको छ । स्रोतले भन्यो, ‘मेडिकल काउन्सिलले पनि तत्काल जानकारी गराउनु भनेको इमेल पठाएको छ । रोक्का सम्बन्धी प्रतिष्ठानलाई औपचारिक पत्र (इमेल) पठाएको छैन ।’ विपन्न देशका बिरामीलाई खुट्टाको लामो हड्डी जोड्ने रड (नेल) सन् २००७ देखि निःशुल्क रूपमा उपलब्ध गराउँदै आएको छ ।

निःशुल्क आएको रड प्रतिष्ठानमा डा. कलवारले बिक्री गर्ने गरेको पीडितहरूले नै सार्वजनिक गरेका थिए । निःशुल्क रडको मूल्य लिएपछि विभाग र उनीबीच विवाद उत्पन्न भएको थियो । उक्त विवाद यतिसम्म चर्कियो कि गत पुस २९ गते शल्यक्रिया थिएटरभित्रै एनेस्थेसिया गरिएका बेहोस बिरामीका अगाडि रड खोसाखोसको स्थिति आएको थियो । डा. कलवार लगाउने र अर्को पक्षले तत्काल लगाउनका लागि विभागबाट अनुमति नभएको भन्दै विवाद सिर्जना भएको थियो ।

सिरहा कल्याणपुर नगरपालिका–११ बस्ने ललितकुमार साहको खुट्टाको शल्यक्रिया गर्दा विवाद भएको थियो । घटना विवरणअनुसार अप्रेसन थिएटर भित्रको विवादमा डा. कलवार साइन कम्पनीको रड लगाइदिएर आफ्नो एजेन्टमार्फत् रकम असुल्ने प्रयासमा थिए तर, अन्य चिकित्सक र नर्स प्राविधिकहरूले भने प्रतिष्ठानको स्टोरमा दाखिला भएको आधिकारिक स्टिलको रड वा निर्मलीकरण गरी तयार पारेको रड प्रयोग गर्नुपर्ने भनी विवाद हुँदा तीन घण्टामा सम्पन्न हुने शल्यक्रिया ८ घण्टा लागेको थियो ।

प्रतिष्ठानलाई अनुदानमा प्राप्त भएको साइन कम्पनीको स्टिल विभागमा दाखिला नगरेसम्म शल्यक्रियामा प्रयोग नगर्न र नगराउन हाडजोर्नी विभागले निर्देशन गरेको थियो । निर्देशनको बर्खिलापमा गई डा. कलवारले उक्त रड प्रयोग गरेका थिए । डा. कलवारले उक्त रड लगाइदिए बापत आफ्नो एजेन्टमार्फत् रकम असुलेको सार्वजनिक भएको थियो ।

सिरहाको नरहा गाउँपालिका–५ का अर्बिन महतोलाई खुट्टाको उपचार गर्न गत मङ्सिर ४ मा प्रतिष्ठान ल्याइएको थियो । डा. कलवारले खुट्टाको हड्डी जोड्नका लागि रड आवश्यक पर्ने बताएपछि महतो आफूले चिनेजानेका मेडिकलतिर जान लागेका बेला अस्पतालभित्रै कमल भुजेल आएर डा. कलवारले गरेको शल्यक्रियाको सामान मैले नै दिने हो, पैसा मलाई बुझाउनू’ भनी भनेको पीडितका आफन्तले बताएका थिए ।

महतोले आफूसँग पैसा नभएकाले चिनेको मेडिकल हलबाट ल्याउने कुरा गर्दा डाक्टरले भनेको मान्ने कि मेडिकलले भनेको मान्ने’ भनेर हप्काएपछि भुजेलबाट उक्त रड हाल्न बाध्य भएको महतोले बताएका थिए । उक्त विषय बाहिरिएपछि विभागका प्रमुख प्रा.डा. विक्रमप्रसाद श्रेष्ठले बिरामी र डा. कलवारलाई सँगै राखेर निःशुल्क रडको लिएको रकम तत्काल फिर्ता गर्न निर्देशन दिएका थिए ।

रडको पैसा बिरामीलाई फिर्ता गरी डा. कलवारले माफीसमेत मागेका थिए । डा. कलवारका एजेन्टले कोसी सर्जिमेट नामक मेडिकल हलमा प्रतिरड १९ हजार ४ सय रुपैयाँ असुल्दै आएको जानकार बताउँछन् । प्रतिष्ठान स्रोतका अनुसार धरानमा ४ वडा मेडिकल हलले मात्रै बिक्री गर्न पाउने अधिकार रहेको छ ।

साइन रडको विषयमा विवाद उत्पन्न भई उजुरीसमेत परेपछि नेपाल मेडिकल काउन्सिलले एक हप्ताअघि छानबिन गरेको थियो । विवाद समाधान गर्ने उद्देश्यले काउन्सिलबाट डा. हरिहर वस्तीको संयोजकत्वमा आएको तीन सदस्यीय टोलीले दुई दिन लगाएर छानबिन गरेका थियो ।

कति आउथ्यो साइन रड?
प्रतिष्ठानमा विगतदेखि नै वार्षिक औषतमा ३० वटा रड आउने गरेको छ । उक्त रड विपन्नहरूका लागि आएकाले सिफारिसका आधारमा प्रयोग गर्नुपर्ने सर्त थियो । तर, डा. कलवार सबै प्रकारका बिरामीलाई रड लगाई दिँदै आएका थिए । उक्त रड प्रतिष्ठानका डा. कलवारको नाममा आउने गरेको छ ।

पछिल्लो पटक पनि उनकै नाममा आएको थियो । अमेरिकन कम्पनी साइनले प्रतिष्ठानमा पठाउने रड किन व्यक्तिको नाममा पठाउँछ भन्ने प्रश्न उठिरहेको बेला रड रोक्का गरेको विषय पनि प्रतिष्ठानलाई इमेल नलेखी डा. कलवारलाई इमेल गरिएको छ । निःशुल्क पठाएको रडमा उनले व्यवसायिक फाइदा लिएको हुनसक्ने भन्दै प्रश्न उठ्न थालेको छ ।

यस विषयमा डा. कलवारलाई बुझ्दा प्रतिष्ठान पनि चिकित्सक, बिरामी र कर्मचारी मिलेर बनेकाले व्यक्ति कै नाममा पठाउने गरेको बताए । प्रतिष्ठानका प्रवक्ता चूरामणि पोखरेलले विगतदेखि नै व्यक्तिको नाममा आउने गरेको बताए । उनले भने, ‘विभागका चिकित्सकले परियोजना ल्याउन सक्छन् ।’

तर, ल्याए पनि विभागलाई बुझाई त्यसको लेखाजोखा राखेपछि मात्रै प्रयोग गरिनुपर्ने सर्त रहेको उनले बताए । रडका विषयमा काउन्सिलले छानबिन गरिरहेकाले प्रतिवेदन आएपछि नै सबै कुरा खुल्ने बताए ।