धरान । धरानका नागरिक समाज र राजनैतिक दलका नेता र सरोकारवालाहरूले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा केही व्यक्तिहरूले विज्ञ चिकित्सकहरूलाई बदनाम गर्दै पाखा लगाउने षड्यन्त्रकारी भूमिका खेलेकोमा आपत्ति जनाएका छन् ।
पछिल्लो समयमा प्रतिष्ठानको हाडजोर्नी विभागका प्रमुख प्रा.डा. विक्रमप्रसाद श्रेष्ठको चरित्र हत्या हुनेगरी सोही विभागका डा. रोशनप्रसाद साह कलवारले मिडियाबाजी गरेकोमा आपत्ति जनाउँदै शुक्रबार नागरिक दबाव सञ्जाल, राजनीतिक दलीय संयन्त्र र सामाजिक सङ्घ–संस्था, बुद्धिजीवीहरूले संयुक्त विज्ञप्ति जारी गरेका छन् ।
गत पुस २९ गते प्रतिष्ठानको अप्रेसन थिएटरमा हाडजोर्नी विभागका चिकित्सक डा. रोशन कलवारले एक बिरामीको शल्यक्रिया गर्दा विदेशी दातृसंस्थाले निःशुल्क दिएको सामग्री बिरामीलाई किन्न लगाएपछि ‘प्रयोग गर्ने कि नगर्ने’ विषयमा विवाद सुरु भएपछि चिकित्सकहरूबीच विवाद भएको घटनालाई लिएर धरानका बुद्धिजीवीहरूले संयुक्त विज्ञप्ति जारी गरेका हुन् ।
डा. कलवारले निःशुल्क सामग्री निःशुल्क नै बिरामीलाई उपलब्ध गराउनु पर्नेमा त्यसो नगरी किन्न लगाएको जानकारी सार्वजनिक भएपछि विभागीय प्रमुख प्रा.डा. विक्रम श्रेष्ठले डा. कलवारलाई चेतावनी दिएका थिए । सोही विषयलाई लिएर कलवारले डा. विक्रमको चरित्र हत्या हुने गरी मिडियाबाजी गरेकोमा बुद्धिजीवीहरूले आपत्ति जनाएका छन् ।
गत मङ्गलबार विभागीय प्रमुख प्रा.डा विक्रमप्रसाद श्रेष्ठसहित रुटिन इन्चार्ज रुक्मा श्रेष्ठ, डा.अमित लिम्बू, डा. अमितविक्रम साह, हाडजोर्नी अप्रेसन कक्षका नर्स इन्चार्ज सञ्जु राई, नर्स कविता सुब्बा, सलिना गुरुङ र रेणुका राजवंशीले संयुक्त विज्ञप्ति जारी गर्दै डा. रोशनप्रसाद साह कलवारका त्रुटीका कारणले शल्यक्रियामा ८ घण्टा लागेको समेत जनाएका थिए । प्रतिष्ठानको हाडजोर्नी विभागका डा. कलवारले गत पुस २९ गते सिरहा कल्याणपुर नगरपालिका–११ बस्ने ललितकुमार साहको खुट्टाको शल्यक्रिया गर्दा अप्रेसन थिएटर भित्रै चिकित्सहरूबीच विवाद र मतभेद भएर स्टिल झिक्नु परेको थियो । उनीहरूको विवादका कारणले ३ घण्टामा हुने शल्यक्रियालाई ८ घण्टा लागेको थियो ।
विज्ञप्तिमा उनीहरूले गत पुस २९ गते शल्यक्रिया कक्षमा डा. कलवारले काल्पनिक र भ्रमपूर्ण तरिकाले व्यक्तिगत आक्षेप लगाई डाक्टरी तथा नर्सिङ पेशाको छवि, शिष्टाचार र मर्यादाको मानमर्दन गरेकाले विज्ञप्ति निकाल्न बाध्य भएको जनाएका छन् । डा. कलवारले निःशुल्क प्रदान गर्नुपर्ने साइन कम्पनीको स्टिल बिरामीलाई बिक्री गरेपछि बिरामीले प्रहरीमा उजुरी गरेको र डा. कलवारले पनि गल्ती स्वीकार गरी बिरामीसँग लिएको रकम प्रहरी प्रशासनको अगाडि फिर्ता गरेको समाचार प्रकाशित भएको थियो । यसपछि साइन कम्पनीको स्टिल प्रयोग गर्ने कि नगर्ने भन्ने विषयमा विभागले नियमन गर्दै जथाभावी प्रयोग नगर्न र शुल्क नलिने निर्णय गरेको थियो ।
उपचारमा आएका बिरामीलाई निःशुल्क प्रयोग गर्नुपर्ने सामग्रीको पैसा डा. कलवारले लिएपछि उक्त स्टिल प्रयोगमा प्रतिबन्ध लगाइएको थियो । तर, अरूलाई थाहै नदिई सोही सामग्री प्रयोग गरेको र सो रकम आफै राख्ने गरेको खुलासा भएपछि विभागीय प्रमुखकै विरुद्धमा मिडियाबाजी गर्न थालेका थिए । उनले व्यक्तिगत आक्षेप लगाई डाक्टरी तथा नर्सिङ पेशाको छवि, शिष्टाचार र मर्यादाप्रति मानमर्दन गरेकाले संयुक्त विज्ञप्तिमा डा. कलवारलाई आचरण सुधार्न आग्रह गरिएको छ ।
प्रतिष्ठानलाई अनुदानमा प्राप्त भएको ‘नयाँ लट’ को साइन कम्पनीको स्टिल विभागमा दाखिला नगरेसम्म डा. कलवारलाई शल्यक्रिया नगर्न र नगराउन विभागीय प्रमुखले पत्राचार गरेका थिए । तर, डा. कलवारले विभागको निर्णय र पत्राचारलाई बेवास्ता गर्दै साइन कम्पनीको स्टिलको रड आफै बोकेर आई ‘अटोक्लेभ’ गर्न थालेपछि डा. अमित लिम्बू, डा. अमितविक्रम साह, नर्सिङ स्टाफ अर्थो ओटी इन्चार्जले त्यसो नगर्न अनुरोध गर्दै हलो कम्पनीको स्टिलको तयारी गरेका थिए । तर, डा. कलवारले बदनियतपूर्ण रूपमा साइन कम्पनीको स्टिल प्रयोग गरेपछि विवादले उचाइ लिएको हो ।
उक्त विवाद चर्किंदै गएपछि डा. कलवारले विभागीय प्रमुख डा. विक्रमलाई लक्षित गर्दै मिडियाबाजी गरेपछि धरानका जनप्रतिनिधि, सरोकारवाला, बुद्धिजीवी र राजनीतिक दलका नेताहरूको ध्यानाकर्षण भएको हो । बिहीबार जारी विज्ञप्तिमा भनिएको छ, ‘पछिल्लो पटक हाडजोर्नी विभाग प्रमुख प्राध्यापक डाक्टर विक्रमप्रसाद श्रेष्ठको चरित्र हत्या हुनेगरी गरिएको हतोत्साहको प्रयास आपराधिक मानसिकताबाट ग्रसित केही लेभीपापीले आफ्ना कर्तुतहरूलाई छुपाउन अर्काको बदनाम गर्ने दुष्चेष्टा गरेको कुरा हामीलाई सूचना प्राप्त भएको छ । चरित्र हत्यामा संलग्न जो कोही भए पनि उनीहरूलाई दण्डित गर्न प्रतिबद्ध हुँदै विज्ञप्तिमार्फत् ऐक्यबद्धता जाहेर गरिएको छ ।’
प्रतिष्ठानलाई पूर्ववत् उच्च प्राज्ञिक थलोका रूपमा स्थापित गर्ने चुनौती यतिबेला सरकारको अघि रहेको उल्लेख गर्दै विज्ञप्तिमा प्राथमिकताका साथ प्रतिष्ठानभित्र हुने गरेका अनियमितताको अन्त्य गरी दोषीमाथि अविलम्ब कारबाही हुनुपर्ने जोडदार माग गरिएको छ । विज्ञप्तिमा भनिएको छ, ‘लोभीपापीहरूबाट यसरी निष्ठावान् डाक्टरहरूमाथिको यस्तो प्रहार र हतोत्साह तत्काल नरोकिए त्यसका विरुद्ध धरानेहरू एकजुट हुने र धैर्यको बाँध फुट्ने तथा त्यसबाट उत्पन्न परिणाम भोग्न तयार रहन पनि हामी चेतावनी दिन चाहन्छौं ।’ प्रतिष्ठानको नाम र ख्यातिका कारण जोडिन आएका अझै पनि धेरै राम्रा र कर्तव्यनिष्ठ चिकित्सकहरू भएको तर, सङ्गठित रूपमा अनेक बहाना बनाएर त्यस्ता चिकित्सकहरूमाथि प्रहार हुने क्रम जारी रहेको उदाहरण डा. विक्रम श्रेष्ठविरुद्ध भएको षड्यन्त्रले छर्लङ्ग बनाएको पनि विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा प्रतिष्ठान सुधार गर्न अनेक पटक उच्चस्तरीय छानबिन समितिहरू बने पनि सरकारले लागू गर्ने तत्परता नदेखाएकाले अराजकता बढेको जनाइएको छ । यस्तो स्थितिले काम गर्ने स्वच्छ वातावरणको अभावमा धेरै राम्रा डाक्टरहरू पलायन भएर प्रतिष्ठानका विभागहरूमा उत्कृष्ट सेवाको कमी निश्चित हुने भएकाले बेलैमा सच्चिन आग्रह गरिएको छ ।