धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा सिराहा जिल्लाको लहानका १९ की ६२ वर्षीया वृद्धा र महोत्तरी श्रीपुर ३ का ३० वर्षीय पुरुष रहेको प्रतिष्ठानका सह–प्रवक्ता डा. चुरामणी पोखरेलले जनाएका छन् ।
उनका अनुसार माघ ५ गते कोरोना सङ्क्रमण पुष्टि भई सोही दिन प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना भएका ३० वर्षीय पुरुषको गयराति १० बजेर ४७ मिनेटमा उपचारको क्रममा मृत्यु भएको हो । अन्य दिर्घराेग नदेखिएका मृतकको शवको नियम अनुसार व्यवस्थापन भइरहेको प्रतिष्ठानले जनाएको छ ।
त्यस्तै, माघ ५ गते नै कोरोना सङ्क्रमण पुष्टि भएको ६२ वर्षीय वृद्धालाई ६ गते कोभिड अस्पतालमा भर्ना गरिएकोमा उपचारको क्रममा आज बिहान ११ बजे ४५ मिनेटमा मृत्यु भएको डा. पोखरेलले जनाएका छन् । दिर्घराेग समेत रहेकी मृतक वृद्धा शवको पनि नियम अनुसार व्यवस्थापन भइरहेको प्रतिष्ठानले जनाएको छ ।