वराहक्षेत्र । बिल भुक्तानी नपाएको भन्दै वराहक्षेत्रको वडा नम्बर   २ मा निर्माण भइरहेको १५ शय्याको अस्पतालको काम ठेकेदारले बन्द गरेको छ । नगरले रकम निकासा नगर्दा वार्डको सुनसरी मोरङ सिँचाइ योजनाको जग्गामा बनिरहेको अस्पतालको काम ठप्प भएको हो ।

कम्पनीले पेस गरेको करिब अढाई करोड रुपैयाँको बिल नगरले डेढ महिना बितिसक्दा पनि भुक्तानी नगरेकोले काम बन्द गर्नुपरेको ठेकेदार कम्पनी एमएस प्रतिष्ठा के एन्ड केजी ज्वाइन्ट भेन्चरका प्रमुख कविराज खड्काले बताए ।

मङ्सिर महिनाको अन्तिम हप्ता तिर बिल बुझाएको भन्दै खड्काले रकम निकासाको लागि बारम्बार ताकेता गर्दा समेत रकम दिन नगरपालिकाले आलटाल गरेको भन्दै बाध्य भएर काम काम रोक्नु परेको ठेकेदार खड्काले बताए । 

उनले रकम नपाउँदा साइटमा काम गरिरहेका कर्मचारी तथा मजदुरको तलब दिन नसकेको  गुनासो गरे । यस विषयमा जिज्ञासा राख्दा नगरप्रमुख निलम खनालले आफू लाई केही थाहा नभएकोले भन्दै लेखा अधिकृतसँग बुझ्नुपर्ने बताए । नगरका लेखा अधिकृत विरेन्द्र यादवले रकम निकासाको लागि सङ्घीय सरकारको स्वास्थ्य मन्त्रालयमा,अस्पतालको प्रगति प्रतिवेदन र सम्झौता पत्र पठाइएको बताए ।

साबिक वराहक्षेत्र गाविसको वाडा नम्बर ४ स्थित सुनसरी मोरङ सिँचाइ योजनाको करिब १ बिघा ५ कट्ठा जग्गामा बनिरहेको अस्पतालको काम १ वर्ष अघि सङ्घीय सांसद निर्वाचन क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य जयकुमार राईले गरेका थिए ।

२ तल्लाको सो अस्पतालको ४४ वटा पिल्लर सहित ३५ प्रतिशत काम भएको कम्पनी प्रमुख खड्काले बताए । गएको असोज महिनामा अस्पतालमा गुणस्तरहीन इँटा प्रयोग गरिएको र भवनको जग बाङ्गो भएको भन्दै अस्पतालको अनुगमन गरेका वार्ड नं २ का अध्यक्ष हरिकृष्ण भट्टराईले काम गर्न रोक लगाएका थिए ।

सम्झौता अनुसार १० इन्च साइज भएको प्रयोग गर्ने भनिए पनि कम्पनीले ९ इन्च साइज भएको जिल्ला बाहिरको स्थान बर्दिबास हिराको ९ र सुपर कम्पनीको ३० हजार इँटा वाट झारेको अध्यक्ष भट्टराईले बताए  । 

 निर्माण कार्य रोकिएपछि ठेकेदार कम्पनीले सडक विभागको इटहरी ल्याबमा इँटा गुणस्तर जाँचको लागि पठाएको थियो । ल्याब टेस्टमा पास भएपछि उक्त इँटा निर्माणमा प्रयोग गरिएको साइट ईन्जीनयिर नवीन खनालले बताए । हाल ती सबै इँटा भवनको जगमाथिको बाउन्ड्रीमा लगाइएको छ । 

सङ्घीय सरकारको बजेटमा बन्ने २ वर्षको निर्माण सम्पन्न मिति रहेको सो अस्पतालको ठेक्का, काठमान्डौं स्थित एमएस प्रतिष्ठा के एन्ड केजी जेभीले मिति २०७७ असार ९ गते, १० करोड ८९ लाख ७५ हजार ६ सय २ रुपैयाँ ७५ पैसामा पाएको  थियो ।