सुनसरी । कोरोना भाइरसको तेस्रो लहर बढिरहेको बेला  नेपालसँग खुला सीमा रहेको जिल्लाको कोसी गाउँपालीका ८ स्थित भण्टाबारी नाकामा हेल्थ डेस्क सञ्चालनमा आएको छ ।

भारतमा सङ्क्रमण दिनप्रतिदिन बढिरहेको अवस्थामा त्यसलाई रोकथाम गर्ने उद्देश्यले कोसी गाउँपालीका ८ भण्टाबारीस्थित तिनकुने नाकामा हेल्थ डेस्क स्थापना गर्दै उच्च सतर्कता अपनाइएको कोसी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारीले जानकारी दिए ।

भण्टाबारी नाका हुँदै सुनसरी आवातजावत गर्ने व्यक्तिबाट सङ्क्रमण फैलन सक्ने भएकाले सीमामा कडाई गरिएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ ।

नेपाल भित्रिन सक्ने अवस्थालाई ध्यानमा राखी भारतसँगको भण्टबारीको  मुख्य नाकामा कोरोना भाइरस सङ्क्रमण जाँचमा कडाइ गरिएको प्रजिअ इन्द्रदेव यादवले जानकारी दिए ।

कोरोना भाइरस सङ्क्रमण जोखिम पूर्वतयारी स्वरुप भण्टाबारी सीमा नाकाका हेल्थ डेस्क व्यवस्थित पारिएको बताउदै उनले नाकामा बुधबारदेखि हेल्थ डेस्क सञ्चालनमा आएको बताए ।

उक्त हेल्थ डेस्कमा स्क्रीनिङ्ग, एन्टिजेन परिक्षण, खोप लगाउने र सूचना प्रवाह गर्दै कोरोनाको तेस्रो लहरबाट बच्न प्रचारप्रसार गरिने बताइएको छ ।