विराटनगर । दैनिकजसो कोभिड–१९ सङ्क्रमणको दर बढ्दै गएपछि प्रदेश १ सरकारले सर्वपक्षीय छलफल गरेको छ ।

सङ्क्रमण, रोकथाम, नियन्त्रण र उपचारका सम्बन्धमा राजनीतिक दलहरूसँग प्रदेश सरकारले शुक्रबार प्रदेशस्तरीय सर्वदलीय सर्वपक्षीय छलफल गरेको हो । रोगविरुद्ध जनचेतना बढाउन र आवश्यक तयारी गर्न मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा सर्वदलीय छलफल भएको थियो । छलफल कार्यक्रममा मुख्यमन्त्री राईले कोभिड–१९ सङ्क्रमण, रोकथाम, नियन्त्रण र उपचारका लागि राजनीतिक दलको सहयोगको खाँचो देखिएकाले कार्यक्रम आयोजना गरिएको उनले बताए । मुख्यमन्त्री राईले राजनीतिक दलहरूको दलीय संयन्त्र आधारभूत तहसम्म हुने भएकाले दलहरू र तिनका भ्रातृ सङ्गठनको परिचालनले रोगविरुद्ध लड्न सकिने उनले बताए । ‘सरकारको प्रयासमा दलहरूले साथ दिए कोभिडविरुद्ध तय गरिएका योजना सफल हुन सक्छन्’ –मुख्यमन्त्री राईले भने  । प्रदेश नं. १ मा खोपको पर्याप्त व्यवस्था भए पनि पछिल्लो समय खोप लगाउन आउने सङ्ख्यामा कमी आएकोमा राजनीतिक दलहरूलाई यसप्रति जागरण पैदा गरिदिन उनले अपिल गरे । 

कोरोनाको तेस्रो लहर सकेसम्म निषेधाज्ञा वा लकडाउन गर्ने अवस्था नआउने गरी सामना गर्नुपर्नेमा मुख्यमन्त्री राईले जोड दिँदै पटक–पटकको लकडाउनले जनताको दैनिकी, रोजीरोटीसहित मुलुकको अर्थतन्त्र चौपट हुनेतर्फ सरकार संवेदनशील रहेको उनले बताए । छलफल कार्यक्रममा बोल्दै आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीले कोभिड रोगविरुद्ध सङ्घ, प्रदेश र स्थानीय तीनै तहको सरकार मिलेर लड्नुपर्ने धारणा व्यक्त गरे । उनले रोगविरुद्ध अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलाई बुस्टर डोजका रूपमा दिइने खोप दिन सरकार प्रतिबद्ध रहेको बताए । उनले रोगको सङ्क्रमण फैलिएको अवस्थामा एकले अर्कामा जिम्मेवारी पन्छाएरभन्दा पनि मिलेर अघि बढ्न आग्रह गरे । सामाजिक विकास मन्त्री जयराम यादवले रोगको सङ्क्रमण फैलिएको अवस्थामा राजनीतिक दलहरूलाई भीडभाड हुने खालको कार्यक्रम नगर्न अपिल गरे । उनले विगतमा आफूहरू सरकारमा नभएको अवस्थामा पनि कोभिडविरुद्धको अभियानमा आफ्नो राजनीतिक दलको तर्फबाट गरेको सहयोगको स्मरण गर्दै रोगको जोखिमको अवस्थामा कसैबाट पनि गैरराजनीतिक चरित्रको अपेक्षा नभएको स्पष्ट पारे । 

छलफल कार्यक्रममा राजनीतिक दलका तर्फबाट नेपाली काङ्ग्रेस प्रदेश नं. १ अध्यक्ष उद्धव थापा, सोही पार्टीका संसदीय दलका सचेतक सूयर्माराज राई, नेकपा (माओवादी केन्द्र) प्रदेश नं. १ अध्यक्ष हर्कबहादुर नेम्वाङ, नेकपा (एकीकृत समाजवादी) का पोलिटब्यूरो सदस्य तथा प्रदेश नं. १ सचिव महेश रेग्मी, जनता समाजवादी पार्टी प्रदेश नं. १ अध्यक्ष प्रवीण चाम्लिङ, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका महासचिव अशोक चाम्लिङ, राष्ट्रिय प्रजातन्त्र पार्टी प्रदेश नं. १ सचिव वासुदेव भट्टराईलगायतले आ–आफ्नो दलका तर्फबाट धारणा राखेका थिए । कार्यक्रममा आन्तरिक मामिला त

था कानून मन्त्रालयका सचिव कालीप्रसाद पराजुली र सामाजिक विकास मन्त्रालयका तर्फबाट वरिष्ठ जनस्वास्थ्य प्रशासक सागर प्रसाईंले रोगविरुद्ध भए गरेका प्रयासबारे प्रकाश पारे । छलफल कार्यक्रममा मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल, सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, १ नं. प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी अरुणकुमार बिसी, सशस्त्र प्रहरी बल पकलीका प्रमुख डिआइजी कमल गिरी, राष्ट्रिय अनुसन्धान १ नं. प्रदेश कार्यालयका प्रमुख अनुसन्धान निर्देशक प्रकाशराज पाण्डे, नेपाली सेना थलाहा गणका प्रमुख सेनानी अमृत थापा मगरले कार्यालयबाट भए गरेका कामका बारे जानकारी गराएका थिए ।