विराटनगर । विराटनगर–३ कञ्चनबारीमा रहेको आर्या न्यूरो अस्पतालले दुईजना बिरामीको जटिल प्रकारको सफल उपचार गरेर जीवन बचाउन सफल भएको छ ।
उदयपुरको चौदण्डीगढी नगरपालिका–९ का ६० वर्षीय तेजनारायण चौधरीको टाउकोको ‘लक्ड–इन–सिन्ड्रम’ अर्थात् स्वचालित मांसपेशीको पूर्ण पक्षाघात भएको जटिल प्रकारको सफल उपचार गरेर बिरामीले नयाँ जीवन पाएका हुन् । उच्चरक्तचापका बिरामी पनि रहेका चौधरी महिना दिनअगाडि काम गर्ने क्रममा घरैमा लडेपछि बेहोस भएका थिए ।
उनका परिवारले विराटनगर र धरानका विभिन्न अस्पताल पु¥याएका थिए । ‘विराटनगरको एक अस्पतालमा एक हप्ता जति उपचार गरायौं । बुबाको होस आएन’ बिरामी चौधरीको छोरी सुशीलाले भनिन्, ‘बुबाको होस नखुलेपछि चिकित्सकले बुबाको उपचार सम्भव नहुने भन्दै घर लैजान सुझाव दिएका थिए । त्यसपछि माया मारेर हामीले बुबालाई घर लिएर गयौं । बेहोस हुनुभएका बुबाले हात चलाउन थालेपछि हस्पिटल लैजाने आफन्तमा सल्लाह भयो । त्यसपछि १ पुसमा आर्या न्यूरो हस्पिटलमा लिएर आएका हौं ।’
आर्या न्यूरो अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पङ्कजराज नेपालले उपचार गरेपछि बुबाको स्वास्थ्य अवस्था ठीक भएपछि हर्षित मुद्रामा देखिएकी छोरी सुशीलाले भनिन्, ‘अहिले बुबा मजासँग बोल्न र हिँडडुल गर्न सक्नुहुन्छ । १८ दिनको उपचारपछि सोमबार डिस्चार्ज भएको छ ।’ उनले भनिन्, ‘बुबालाई बचाउन गरेको यो सहयोग म बिर्सन सक्दिनँ । उपचारमा सहयोग पु¥याउनेप्रति आभारी छु । उपचारमा खटिनुहुने डाक्टरले मेरो बुबालाई बचाउनुभयो । बाँच्नुहुन्नजस्तो लागेको थियो । बुबाले नयाँ जीवन पाउनुभयो ।’
चौधरीको परिवार चिकित्सकहरूको टिमलाई नयाँ जीवन दिएकोमा अनुग्रहित थिए । चौधरीको उपचारपछि स्वास्थ्यमा सुधार भएपछि डिस्चार्ज गरिएको डा. नेपालले बताए । चौधरीको उपचार गरिरहेका चिकित्सक डा. नेपालका अनुसार अहिले स्वास्थ्य अवस्था खतरामुक्त रहेकोले डिस्चार्ज दिएको हो ।
यसअघि पनि आर्या अस्पतालले सुनसरीको इनरुवा–३ की ३९ वर्षीया पुष्पलता सुब्बाको टाउकोको जटिल उपचार गरेको थियो । उक्त अस्पतालमा उनको मस्तिष्कको सफल शल्यक्रिया भएको अस्पतालले जनाएको छ । सुब्बा अचानक बेहोस भएर लडेको कारणले उनको मस्तिष्कमा रगत जमेको थियो ।
बेहोस भएकी सुब्बालाई उनका परिवारले विराटनगरका विभिन्न अस्पताल लिएर गए । तर, उपचार हुन सकेन । उपचार सम्भव नभएपछि सुब्बाको परिवारले उनलाई घर लिएर गए । उनको परिवारका एक सदस्य चिकित्सक रहेका थिए । उनले आर्या न्यूरो अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पङ्कजराज नेपालसँग सल्लाह गरेपछि मङ्सिरमा अस्पताल लिएर आए ।
बिरामी आएपछि डा. नेपालले जोखिम लिएर उपचार प्रक्रिया अगाडि बढाए । बिरामीको अवस्था जटिल भए पनि उनले उपचार सुरु गरे । ‘कसरी त्यत्तिकै छोड्नु ? मैले रिस्क लिएँ भने त पुष्पलताको जीवन जोगाउन सकिन्छ । रिस्क नै नलिए त निश्चित छ, एउटा जीवन सकिन्छ भन्ने सोचेर उपचार सुरु गरेँ’–उनले भने । उनले बिरामी पक्षलाई बिरामीको अवस्थाका बारेमा ब्रिफिङ गरेपछि शल्यक्रिया सुरु गरे । सुब्बाको मस्तिष्कमा रगत जमेको कारणले डा. नेपालको टिमले सोही दिन उनको शल्यक्रिया गरेर जमेको रगत निकालेको थियो ।
‘तीनघण्टा बढी समय लगाएर शल्यक्रिया सफल भयो’–डा. नेपालले भने । उपचारपछि ठीक भएका बिरामी सुब्बा अहिले पनि अस्पतालमा फलोअपको लागि आउने गरेकी छन् ।