पथरी । मोरङको उत्तर पूर्वी भागमा पर्ने राष्ट्रिय वन क्षेत्रबाट पछिल्लो समयमा काठ चारी तस्करी बढेको छ ।
केही समय अघि सब डिभिजन वन कार्यालय पथरीको टोलीले साइकलमा लोड गरी ल्याउँदै गरेको काठको फ्यान्टा पक्राउ गरेको थियो । वनको गस्ती देखेपछि काठसहितको साइकल छाडेर तस्करी फरार भएको कार्यालय प्रमुख सुरेन्द्रकुमार कार्कीले बताए ।
साइकलमा ल्याउँदै गरेको उक्त काठ सालको १३ किबी रहेको कार्कीले बताए । त्यो काठ पक्राउ पर्नु अघि पनि तीन वटा साइकलमा दाउराको रूपमा ल्याउँदै गरेको काठ बरामद भएको थियो । काठ र दाउरा चोरी गरेर ल्याउँदै गरेको पाँच वटा साइकल सब डिभिजन वन कार्यालय पथरीले पक्राउ गरेको छ ।
पथरीशनिश्चरे बजार मुख्य सडक उत्तर करिब ३ किलो मिटरसम्म सामुदायिक वन क्षेत्र पर्दछ । सामुदायिक वन क्षेत्र उत्तर साझेदारी वन पर्दछ । एकान्त भएकोले राष्ट्रिय तथा साझेदारीको वन क्षेत्रमा काठ चोरी बढेको हरियाली सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष काबुलबहादुर मगरले बताए ।
सामुदायिक वन क्षेत्रमा खास चोरी नभए पनि राष्ट्रिय वनको वन क्षेत्रमा तस्करी बढेको छ । गस्तीको आँखा छलेर चोरी हुने गरेको सब डिभिजन वन कार्यालय पथरीमा कार्यरत वन रक्षक गणेश दाहालले बताए । गस्ती गर्दागर्दै रात साँझ काठ चोरी हुने गरेको दाहालको भनाइ छ ।
केही दिन अघि सखुवाको ठाडै रुख ढालेर आधाभन्दा बढी काठ लगिसकेको अवस्थामा ठूटा (रुखको जरा) र केही काठ फेला परेको थियो । आफै ढलेको रुखहरू पनि चोरी भइरहेको छ । पछिल्लो एक वर्षमा राष्ट्रिय वनबाट दुई दर्जन बढी रुखहरू चोरी भएको हरियाली सामुदायिक वनका अध्यक्ष काबुलबहादुर मगरको बताए । आफ्नो वन क्षेत्रको उत्तरी सिमानामा गस्ती गर्ने क्रममा ढलेको र केही ठाडो रुखहरू काठ चोरेर लगेको ठुटाहरू देखिने गरेको उनले बताए ।
नेपाल सरकारले २०७६ चैत्र ११ गते वैज्ञानिक वन कार्यविधि २०७१ खारेज गरेपछि वैज्ञानिक वन लागू भएको वन क्षेत्रबाट ढलेको रुख पनि सङ्कलन गर्न प्रतिबन्ध छ । ढलेको रुख र सुक्खा खडा सङ्कलन गर्न नपाउने भएकोले पनि चोरी तस्करी बढेको बताउँछन् ।
संविधान अनुसार वन क्षेत्र प्रदेश सरकारको अधीनमा रहेको छ । प्रदेश सरकारले निर्णय गरेमा ढलेको र सुक्खा खडा रुख संरक्षण वा उपभोक्तालाई बिक्री वितरण गर्न पाउँछ । तर १ नम्बर प्रदेश सरकारको वन मन्त्रालयले यस विषयलाई चासो नदिएको कारण वैज्ञानिक वन व्यवस्थापन लागू भएको वनहरूमा समस्या भएको डिभिजन वन कार्यालय मोरङका प्रमुख अनिरूद्र साहाले बताए ।
पथरीशनिश्चरेको हरियाली, शान्ति र पशुपति सामुदायिक वनमा वैज्ञानिक वन व्यवस्थापन लागु भएको थियो । गएको असोजमा पशुपति सामुदायिक वन क्षेत्रबाट चोरी भएको काठ किनेको आरोपमा पथरीशनिश्चरे –७ स्थित पूजा समिलका सञ्चालक कृष्ण कोइराला पक्राउ परेका थिए । जिल्ला अदालत मोरङले कोइरालालाई तीन लाख धरौटी लिएर मुद्दामा रहेको वन कार्यालयले जनाएको छ ।