धरान । प्रदेश १ का सामाजिक विकास मन्त्री जयराम यादवले कोभिड अस्पतालले दिने सेवामा कुनै पनि कसर बाँकी नराख्नका लागि सम्बन्धित चिकित्सकलाई निर्देशन दिएका छन् ।
सोमबार कोशी अस्पतालस्थित कोभिड १९ उपचार केन्द्रको अनुगमन गर्दै सेवाग्राहीबाट कुनै पनि गुनासो नआउने गरी काम गर्न निर्देशन दिएका हुन् । उनले कोरोनाको तेस्रो लहर आइरहकाले त्यसबाट सजग रहँदै अस्पताल सेवालाई चुस्त बनाउन आग्रह गरे ।
अस्पताल संयोजक बैजनाथ साह, चिकित्सक, कर्मचारीसँग छलफल गरेका थिए । उनले कोभिड अस्पताल नजिकै निर्माणाधीन अवस्था रहेको भवनको पनि अवलोकन गरेका थिए । ७६ बेड क्षमताको नयाँ भवन निर्माण भइरहेको छ । उक्त भवन पनि कोभिड अस्पताललाई हस्तान्तरण गर्ने कार्यक्रम छ ।
कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा आइसीयु वेड २१, एचडियू ४७, अक्सिजन सहितको जेनरेल वेड १५ र अक्सिजन विनाको वेड १३ वटा रहेका छन् ।