विजयपुर । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान शुद्धीकरण अभियानको संयुक्त सङ्घर्ष समितिका संयोजक डा. सूर्यप्रसाद रिमाल (एसपी) लाई सर्वोच्च अदालतले उपस्थित हुन आदेश दिएको छ ।

मङ्गलबार सर्वोच्च अदालतका न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले रिमाललाई ७ दिनभित्र लिखित जवाफसहित सर्वोच्च अदालतमा आफै उपस्थित हुन आदेश दिएको हो । रिमालविरुद्ध अदालतको अवहेलनासम्बन्धी रिट निवेदनको सुनुवाइ गर्दै उक्त आदेश दिएको हो ।

रिट निवेदक नवराज विष्टका तर्फबाट अधिवक्ता रेणुकादेवी सिटौलाले बहस गरेकी थिइन् । केसीद्वारा जारी आदेशमा भनिएको छ, ‘यसमा के भएको हो ? निवेदकको मागबमोजिमको आदेश किन जारी गर्न नपर्ने मागबमोजिम आदेश जारी गर्न नपर्ने कुनै आधार र कारण भए प्रमाणसहित उपस्थित हुनूस् ।’

रिमालले बीपी प्रतिष्ठानको सुधारका लागि प्रतिष्ठानका चिकित्सक, फ्याकल्टी, कर्मचारीसहितको संयुक्त सङ्घर्ष समितिको संयोजक भएर ७ महिनाबढीदेखि आन्दोलन गर्दै आएका छन् ।

आन्दोलनले फरक रूप लिँदै जाँदा प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीसहित पदाधिकारीको कार्यकक्षमा समितिले असार १६ गते ताला लगाएको थियो । प्रतिष्ठानमा ६ महिनादेखि लागेको ताला खुलाउन सर्वोच्च अदालतले मङ्सिर २१ मा अन्तरिम आदेश दिएको थियो ।

अन्तरिम आदेश कार्यान्वयन गराउँदै जिल्ला प्रशासन कार्यालय सुनसरीले प्रहरीको रोहवरमा ताला खुलाएको थियो । ताला खुलाउने क्रममा डा. रिमाल संयोजकत्वको सङ्घर्ष समितिले अवरोध गर्न खोजेको थियो । सोही ताला खुलाउन अवरोध गरकोमा अदालतको अवहेलनासम्बन्धी रिट निवेदन दायर भएको थियो ।

यस विषयमा संयोजक डा. रिमालले आफूलाई आदेशको आधिकारिक पत्र नआएको बताए । उनले अदालतमा प्रतिष्ठान प्रशासनले नै रिट निवेदन दिएको शङ्का भएको बताए । उनले फोन सम्पर्कमा भने, ‘देखिने नाम मात्र नवराज विष्ट हो । प्रतिष्ठान सिध्याउन पल्केकाहरू अझै समाप्त गर्न रचिएको प्रपञ्च हो भन्ने शङ्का लाग्छ ।’

उनले आफूसहित सङ्घर्ष समितिले अदालतको अवहेलना हुने कुनै कार्य नगरेको बताए । समितिले पदाधिकारीलाई प्रतिष्ठानको कुर्सीमा बस्ने नैतिक अधिकार छैन भनेको बताए । उनले भने, ‘अदालतले प्रतिष्ठान खोल्नू भनेको  हो । हामीले पनि खोल्नकै लागि सङ्घर्ष गरेको हो । उनीहरूले १० वर्षदेखि बन्द गरेका छन् । हामी अदालत गएर भन्छौँ । प्रमाण पेश गर्छौं, अदालतले बुझ्छ ।’