विराटनगर । विराटनगरस्थित न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी अस्पताल मुटु रोग उपचारका लागि भरपर्दो गन्तव्य बनेको छ ।
अत्याधुनिक उपकरण र चर्चित कार्डियोलोजिष्ट चिकित्सकसहितको टिम दुवैको संयोजन मिलेका कारण न्यूरोले मुटु उपचारमा पछिल्लो समयमा फड्को मारेको हो । विशेषज्ञ चिकित्सकसहितको ‘क्याथल्याव’ सञ्चालनमा ल्याएको आठ वर्ष भएको छ । अत्याधुनिक उपकरण जडान गरेर क्याथल्याव सञ्चालनमा ल्याएपछि मुटुरोगीको उपचारमा न्यूरो निरन्तर सफलतातिर अग्रसर बनेको हो ।
अस्पतालमा मुटुरोगीको सफल शल्यक्रिया तथा उपचार हुन थालेपछि पूर्वी नेपाल र भारतका बिरामीको चाप बढ्न थालेको छ । गुणस्तरीय सेवा प्रदान गरेर बिरामीको मन जित्न पनि न्यूरो सफल हुँदै गएको हो । मुटुमा जटिल समस्या भएका बिरामीका लागि कोरोनरी तथा रेनल एन्जियोग्राफी, एन्जियोप्लाष्टी र पेसमेकर प्रत्यारोपणमा न्यूरो–कार्डियो अस्पतालले छोटो समयमैै फड्को मारेको हो ।
नेपाली र भारतीय मुटुरोगीले सेवा पाउँदै आएको अस्पतालमा जटिल शल्यक्रियालाई आवश्यक पर्ने प्रविधि र विशेषज्ञ चिकित्सक उपलब्ध भएसँगै उपचार गराउने बिरामीको सङ्ख्या बढ्दै गएको छ । अस्पतालका कल्सल्टेन्ट इन्टरभेन्सनल कार्डियोलोजिष्ट डा.निकेशराज श्रेष्ठका अनुसार मुटुको भल्वमा पर्ने प्वालको परीक्षण, मुटुका नलीमा जम्ने रगत खोल्ने उपचार पद्दतिदेखि मुटुमा ब्याट्री राख्ने बिरामीहरूको सफल उपचार न्यूरो–कार्डियोमा हुने गरेको छ ।
हृदयाघात भएका बिरामीका लागि गरिनुपर्ने उपचार पद्दतिमध्ये एन्जियोग्राफी, मुटुको नशामा जम्ने रगत खोल्ने एन्जियोप्लाष्टी र मुटुको चाल बढाउन मुटुमा ब्याट्री राखिने पेसमेकरबाट बिरामीले लाभ लिइरहेका छन् ।
न्यूरो अस्पतालमा अत्याधुनिक प्रविधिसहितको ‘क्याथल्याव’ सञ्चालनमा आएपछि भारतबाट समेत बिरामी आएर मुटुको
शल्यक्रिया गराउन थालेको डा.श्रेष्ठले बताए । उनका अनुसार हालसम्म ३ हजार बढी मुटुरोगीले न्यूरो–कार्डियो अस्पतालबाट सफल शल्यक्रिया तथा उपचार सेवा लिएका छन् । जसमध्ये कोरोनरी एन्जियोग्राफी २ हजार ४ सय ३ जनाले गराएका छन् । एन्जियोग्राफी गर्नेमध्येका १ हजार ७ बिरामीको एन्जियोप्लाष्टी गरिएको छ ।
यसैगरी मुटुको चाल बढाउन ३ सय ९४ जना बिरामीमा अस्थायी र १ सय १३ जना बिरामीमा स्थायी प्रकृतिको ब्याट्री यसै अवधिमा राखिएको छ । त्यसबाहेक १ सय ७४ जनाको रेनल एन्जियोग्राफी र ४३ जनाको रेनल एन्जियोप्लाष्टी गरिएको डा.श्रेष्ठले बताए ।
कुनै पनि अस्पतालमा भर्ना भएका बिरामीको लक्षण हेरेर मुटुको समस्या भएको आशङ्का लागे तत्काल विशेषज्ञ चिकित्सकसम्म उपचारमा पठाउने संस्कारको विकास नहुँदा कतिपय बिरामीको ज्यान जाने गरेको छ ।
असन्तुलित खानपिन तथा शारीरिक कसरत अभावले निम्त्याउने हृदयाघातका बिरामीको बायाँ भागतर्फको छाती क्रमशः दुख्दै दायाँ हाततर्फ सरेमा तत्काल विशेषज्ञ चिकित्सकसम्म पुग्नुपर्ने डा.श्रेष्ठको आग्रह छ । त्यसबाहेक पनि मुटुको नलीमा हुने समस्या, भल्वमा पर्ने प्वाल र नली पुरिने, मुटुकै मांसपेशीमा देखिने समस्या र उच्चरक्तचाप र मधुमेहका बिरामी हृदयाघातको उच्च जोखिममा हुने गर्दछन् ।
मुटुका बिरामीको निःशुल्क स्वास्थ्य जाँच
न्यूरोले ‘क्याथल्याव’ सञ्चालनमा ल्याएको आठ वर्ष पूरा भएको अवसरमा पुस महिनाभरि मुटु स्वस्थ राख्नको लागि निःशुल्क स्वास्थ्य जाँच तथा सचेतना गर्ने भएको छ । पुस महिनाभरि बिराटनगरको विभिन्न पाँच स्थानमा मुटुको निःशुल्क स्वास्थ्य जाँच तथा सचेतना गर्ने भएको बताइएको छ ।
यसअघि पनि मुटु दिवसहरूमा पनि न्यूरोले मुटुलाई स्वच्छ राख्न सचेतनामूलक कार्यक्रमहरू गर्दै आएको छ । आठौं वार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रममा न्यूरो अस्पतालका अध्यक्ष डा. वीरेन्द्रकुमार विष्ट, प्रदेश १ का पहिलो कल्सल्टेन्ट इन्टरभेन्सनल कार्डियोलोजिष्ट डा.निकेशराज श्रेष्ठले बोलेका थिए ।
न्यूरोले प्रदेश १ मा पहिलो पटक ‘क्याथल्याव’ सञ्चालनमा ल्याएर मुटुको उपचार सेवा सुरु गरेको दाबी गरेको छ । सोही अवसरमा डा. राजन कर्ण, वरिष्ठ मुटु रोड विशेषज्ञ डा. राजीव श्रेष्ठ, वरिष्ठ फिजिसियन डा. केशरबहादुर गुरुङ, कार्डियोलोजिष्ट डा. राजन कर्ण र नर्सिङ स्टाफ शोभा भट्टराईलाई सम्मान गरिएको थियो ।