इनरुवा । प्रदेश १ का सामाजिक विकास मन्त्री जयराम यादवले इनरुवा अस्पताल सुधार गर्ने प्रतिबद्धता गरेका छन् ।
इनरुवा अस्पतालका विषयमा आफूले धेरै गुनासा सुनेकाले त्यसको समाधानका लागि आफू अग्रसर भएर लागिपर्ने उनले बताए । सोमबार इनरुवा अस्पताल पुगेका मन्त्री यादवले समस्याको जड पत्ता लगाई महिना दिनभित्रमा समाधान निकाल्ने प्रतिबद्धता जनाए ।
यादवले सरोकारवालाले उठाएका विषय र समस्या समाधानका सवालमा सामाजिक विकास मन्त्रालय कटिबद्ध रहेको बताए । मन्त्री यादवले इनरुवा अस्पतालमा दरबन्दीअनुसारको मेसुको पदपूर्ति छिट्टै गरिनेसमेत बताए । उनले एक महिनाभित्रै परिवर्तनको अनुभूति हुने गरी काम गरिने प्रतिबद्धता जनाए ।
मन्त्रालयका सचिव कमलप्रसाद भट्टराईसहित अस्पतालको छलफलमा सहभागी बनेका मन्त्री यादवले अस्पताल सुधारका विषयमा आवश्यक कदम अविलम्ब अघि बढाइने बताए ।
यादवले सोही अनुरूपको आवश्यक प्रक्रिया अघि बढाउन सचिवलाई निर्देशनसमेत दिए । मेसुको अविलम्ब व्यवस्था मिलाइने बताएका मन्त्री यादवले सुरक्षा थ्रेटलगायतको विषय भए प्रमुख जिल्ला अधिकारीले आवश्यक बन्दोबस्त मिलाउने बताए ।
कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव भट्टराईले इनरुवा अस्पतालको सेवा र गुणस्तरसँगै कर्मचारीलगायतको विषयमा पटक–पटक गुनासो आउने गरेकाले समस्यालाई सदाका लागि अन्त्य गर्ने गरी प्रदेश सरकार अघि बढेको बताए ।
उनले इनरुवा अस्पतालमा मेसुका साथै चिकित्सक आउन नचाहने विषयको सत्यता बुझी सहज र सरल सेवा प्रवाहको बन्दोबस्त मिलाइने बताए । कार्यक्रममा सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले आन्तरिक समस्यामा रुमल्लिनेभन्दा पनि समस्याको जड पत्ता लगाई समाधानको बाटोमा अग्रसर हुनु जरुरी रहेको बताए ।
उनले स्वास्थ्य क्षेत्रमा राजनीति शोभनीय नहुने भन्दै अस्पतालको सेवा विस्तारसहित गुणस्तरीय सेवा प्रवाहको सवालमा सबैको साथ आवश्यक रहेको बताए । कार्यक्रममा अस्पताल सुधारको माग गर्दै चरणबद्ध आन्दोलनमा उत्रँदै आएको इनरुवा अस्पताल सुधार सङ्घर्ष समितिका संयोजक दिलिपचन्द साहले अस्पताल प्रशासन र अस्पताल व्यवस्थापन समिति आफूहरूको मागप्रति उदासीन रहँदै आएको बताए ।
उनले इनरुवा अस्पताल राजनीतिको अखाडा बनेको भन्दै भागबण्डामा नियुक्त गरिएका कर्मचारी हटाई स्वच्छ प्रतिस्पर्धाबाट पदपूर्ति गरिनुपर्ने बताए । साहले मन्त्रीसमक्ष एक महिनाभित्र अस्पतालमा सुधारको अनुभूति नभए सशक्त आन्दोलन चर्काउन बाध्य हुने बताए । कार्यक्रममा स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईंले इनरुवा अस्पतालको सेवा प्रवाहसँगै समस्या र चुनौतीका विषयमा मन्त्री यादवलाई अवगत गराएका थिए ।
कार्यक्रममा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गोपाल राजभण्डारीले अस्पतालको सेवा र गुणस्तरलगायतका विषयमा मन्त्रालयको ध्यानाकर्षण भएको र स्वयम् मन्त्रीको टिमले वस्तुस्थिति बुझेकाले सेवा प्रवाह चुस्तदुरुस्त बन्नेमा आफू विश्वस्त रहेको बताए ।