मोरङ र झापाको छुट्टाछुट्टै दुई  स्थानबाट लागु औषध सहित २ जनालाई पक्राउ गरिएको छ । 

पक्राउ पर्नेमा सुन्दरहरैँचा नगरपालिका ६ का ३० वर्षीय छविलाल सार्की र दमक नगरपालिका ७ अधिकारी टोल की ५० वर्षीया मुन्नी बेगम रहेको  १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । कार्यालयका अनुसार  सार्कीलाई बिहीबार दिउँसो २ बजे विराटनगर महानगरपालिका १३ सैनिक टोल स्थितबाट सिआरभि  जतुवाको प्रहरी टोलीले चेकजाँचको क्रममा  लुपिजेसिक २५ एम्पुल, डाईजेल्याब २५ एम्पुल, एभिल २५ एम्पुल, फेनारगन २५ एम्पुल, नाईट्राभेट ३० चक्की, स्पास्मोप्रोक्सिभन प्लस २४ चक्कीसहित नियन्त्रणमा लिएको हो । 

त्यस्तै, बेगमलाई बिहीबार राति ७ बजे विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले  उनकै घरमा लुकाई राखेको लागु औषध ब्राउन सुगर ६ ग्राम ५०० मिलिग्रामसहित बेगमलाई नियन्त्रणमा लिएको कार्यालयले जनाएको छ । 

पक्राउ परेका उनीहरूको प्रहरीद्वारा थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ ।