धनकुटा । हात्तीपाइले रोग निवारण कार्यक्रमको बारेमा जानकारी दिन, सरकारले हालसम्म हासिल गरेको प्रगतिको बारेमा सुसूचित गर्ने उद्देश्यले राष्ट्रिय हात्तीपाइले रोग निवारण जिल्ला स्तरीय अभिमुखीकरण कार्यक्रम बिहीबार धनकुटामा आयोजना गरिएको छ ।
नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रले आयोजना गरेको कार्यक्रममा हात्तीपाइले रोग निवारणका लागि विद्यालयहरूमा परीक्षणको दायरा बढाइने जानकारी दिइएको छ । नवाैं चरणसम्म आम औषधी खुवाउँदा विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड अनुसारको मूल्याङ्कन (पिआरइ टिएएस) पास भएको धनकुटामा यो वर्ष पुनर्मुल्याङ्कन – टिएएस १ ) को लागि १ सय ३ वटा विद्यालयहरूमा कक्षा १ र २ का बालबालिकाहरूमा परीक्षण गरिने स्वास्थ्य कार्यालयका प्रमुख तुलसी गुरागाईँले जानकारी दिए ।
नेपालमा ६३ जिल्लाको २ करोड ५० हजार जनसङ्ख्या जोखिममा रहेको ३० हजार जना अङ्गभङ्ग भएको तथ्याङ्क छ । कार्यक्रममा विश्वमा ८५ करोड भन्दा बढी मानिस यो रोगको जोखिममा रहेको र ४ करोड भन्दा बढी अङ्गभङ्ग भएको जानकारी दिइएको छ । अहिलेसम्म विश्वमा ७० अर्ब मानिसलाई आम औषधी खुवाइएको तथ्याङ्क छ ।