सुनसरी । सुनसरीमा नक्कली सुन–चाँदी कारोबार गर्ने गिरोह सक्रिय रहेको पाइएको छ । बजारमा सक्कली सुन–चाँदीको भाउ बढेको फाइदा उठाउँदै नक्कलीको कारोबार गर्ने गिरोह सक्रिय रहेको पाइएको हो ।
केही दिनअगाडि कोसी गाउँपालिका वडानम्बर ६ का एकजना व्यक्तिलाई नक्कली चाँदी बेचेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको टोलीले एक जना कारोबारीलाई पक्राउ ग¥यो । स्रोतका अनुसार कोसी गाउँपालिका–१ स्थित लौकही घर भएका ती व्यक्तिलाई प्रहरीले केही दिन हिरासतमा राख्यो ।
तर, केहीदिनपश्चात् कानूनी कारबाही नगरी ती नक्कली चाँदी कारोबार गर्ने व्यक्तिलाई ‘बार्गेनिङ’ गरेर छाडेको स्रोतको आरोप छ । कोसी गाउँपालिका–१ लौकही र वराहक्षेत्र नगरपालिकास्थित मधुवनक्षेत्रमा नक्कली सुन–चाँदी कारोबार गर्ने गिरोह सक्रिय रहेको बताउँदै स्रोतले भन्यो ‘त्यस्तो कारोबार गराउने एजेन्ट हुने गरेका छन् । तिनीहरूले सोझासाझा व्यक्तिलाई त्यस्ता नक्कली सुन–चाँदी किन्न लगाउने र पछि प्रहरीलाई खबर गरेर पक्राउ गराउने काम गर्ने गरेका छन् ।’
केही दिनअघि कोसी गाउँपालिका–६ स्थित श्रीपुरमा पनि त्यस्तै घटना भएको स्रोतले जनाएको छ । स्रोतका अनुसार ती एजेन्टले एकजना व्यक्तिलाई नक्कली चाँदी किन्न लगाएर पछि प्रहरीलाई समेत खबर गरेपछि कारोबार गर्ने व्यक्ति पक्राउ परेका थिए । एजेन्टले नक्कली सुन–चाँदी बिक्री गराउनेदेखि यस्ता कारोबार गर्ने व्यक्तिलाई पक्राउ गराएर आर्थिक प्रभावमा छुटाउनेसम्म काम गर्ने गरिएको स्रोतको दाबी छ ।
सूचना दिने एजेन्टलाई समेत इलाका प्रहरी कार्यालय लौकहीमा लगभग एक घण्टाजति थुनिएको थियो । स्रोतका अनुसार पछि कुरा मिलेपछि नक्कली चाँदी बेच्ने कारोबारीसँगै ती एजेन्टलाई समेत छाडियो । केही दिन हिरासतमा राखेर नक्कली चाँदी बेच्ने गिरोहका सदस्य कैलाश स्वर्णकार नाम गरेका व्यक्तिलाई सादा कागजमा हस्ताक्षर गराएर छाडिएको स्रोतको दाबी छ ।
पैसा लिएर वा अरू के आधारमा छाडिएको भन्ने कुरा यकिन नभए पनि केही दिन हिरासतमा राखी सादा कागजमा हस्ताक्षर गराएर प्रहरीले कैलाश स्वर्णकार नामका व्यक्तिलाई जिम्मा लगाएको स्रोतको भनाइ छ ।
‘गाउँघरका अधिकांश सर्वसाधारणले असली र नक्कली छुट्याउन सक्दैनन्, त्यसैको फाइदा उठाएर लौकही आसपासका क्षेत्रमा नक्कली चाँदी र मधुवन क्षेत्रमा नक्कली सुन कारोबार गर्दै ठग्ने गिरोह सक्रिय रहेकोे देखिन्छ’–स्रोतले भन्यो । असली भन्दै नक्कली सुन–चाँदी बेचेर सर्वसाधारण ठग्ने गिरोहलाई कानूनी कारबाही गर्नुपर्नेमा त्यसको विपरीत प्रहरीले त्यस्तालाई संरक्षण गर्ने काम गरेको स्रोतको आरोप छ ।
यसबारे प्रतिक्रिया लिँदा इलाका प्रहरी कार्यालय लौकहीका इञ्चार्ज सइ तीर्थ भट्टराईले नक्कली चाँदी दिएर ठगेको शङ्का लागेपछि लिने र दिने दुवै व्यक्ति आफै प्रहरीकहाँ आएको र पछि उनीहरू आफै मिलेर गएकाले थुनेको कुरा सही नभएको दाबी गरे ।