धरान । विराटनगरको नोबेल शिक्षण अस्पतालमा एक सयभन्दा बढी बिरामीको ओपन हार्ट सर्जरी गरिएको छ ।
नोबेलमा २०७६ सालदेखि ओपन हार्ट सर्जरी गरिन थालिएको हो । छाती चिरेर गरिने मुटुको शल्यक्रियालाई ओपन हार्ट सर्जरी भनिन्छ । हालसम्म १ सय २ जनाको मुटुको शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ ।
उक्त सल्यक्रिया डा. ज्योतेन्द्र शर्मा, डा.खालिद हुसेन हक, डा.जोजुनाथ पोखरेल, डा.रोशन राउत, डा.महेन्द्र भट्टलगायतले गरेका थिए । मुटुको गम्भीर समस्या भएकाहरूलाई ‘ओपन हार्ट सर्जरी’ गरेर उपचार गरिन्छ ।
जन्मजात मुटुमा प्वाल परेका, मुटुको बाथ रोगले भल्व बिग्रिएका, मुटुको नसा अवरुद्ध भएका, एन्जियोप्लाष्टी गर्न नमिल्नेलगायत बिरामीलाई ओपन हार्ट सर्जरी गर्ने गरिएको नोबेलका ओपन हार्ट सर्जन डा.प्रमान शर्मा बताउँछन् ।
नोबेलले २०७२ सालबाट क्याथल्याव सञ्चालन गरी मुटु रोगको स्तरीय उपचार थालेको हो । मुटु रोगको गुणस्तरीय उपचारका लागि नोबेलले जटिल एन्जियोप्लाष्टीमा प्रयोग हुने अत्याधुनिक थ्रीडी ओसिटी मेसिन नेपालमै पहिलो पटक प्रयोगमा ल्याएको हो ।