विराटनगर । मोरङको धनपालथान गाउँपालिका–४ कर्सियास्थित सिटीजन्स बैङ्कबाट २४ लाख ८४ हजार रुपैयाँ लुटपाट गर्ने गिरोहका मुख्य नाइकेसहित चार जना जेल चलान भएका छन् ।

मोरङ अदालतका न्यायाधीश सुदर्शन लम्सालको इजलासले बैङ्क लुटपाटमा संलग्न भएको आरोपमा पक्राउ परेका चार जना अभियुक्त पुर्पक्षको लागि जेल चलान भएका हुन् ।

आइतबार भएको थुनछेकपछिको आदेशले विराटनगर–८ का श्याम मुखिया, भारतको अररीया जिल्लाको थाना बरगाना पञ्चायत शेखपुराका ३२ वर्षीय सुनिल यादव, सोही ठाउँका ३५ वर्षीय विजय बहरदार र रोशनकुमार यादवलाई पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएको मोरङ अदालतका श्रेस्तेदार टिकेन्द्रवीरजङ राणाले जानकारी दिए । अदालतको आदेशपछि उनीहरू पुर्पक्षको लागि मोरङ कारागार चलान भएका अदालतले जनाएको छ ।

पक्राउ परेकामध्ये मुखिया बैङ्क लुटपाटको मुख्य गिरोह रहेको मोरङ प्रहरीको अनुसन्धानबाट खुलेको थियो । उनको मास्टर प्लानअनुसार बैङ्क लुटपाट भएको थियो ।

मुखियाले भारतबाट लुटपाट गर्ने समूहलाई हतियारसहित ल्याएर दिनदहाडै बैङ्क लुटपाट गरेका थिए । गत असोज २५ गते कर्सियाको  सिटीजन्स बैङ्कबाट २४ लाख ८४ हजार रुपैयाँ लुटपाट गरेको हो । घटनामा संलग्न ११ जना भए पनि बैङ्क लुटपाटमा आठजना आएर लुटपाट गरेको प्रहरीले जनाएको छ । लुटेराले बैङ्कबाट लुटेर लगेको रकम भने फेला परेको छैन ।

विराटनगरको मेनरोडस्थित गार्मेन्ट पसल लुटपाटमा पनि सोही समूह संलग्न रहेको अनुसन्धानबाट खुलेको मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जिसीले जानकारी दिए ।

प्रहरीले झण्डै दुई साता लगाएर गरेको अनुसन्धानपछि २२ असोजमा विराटनगरको मेनरोडमा रहेको गार्मेन्ट पसल र २५ असोजमा कर्सियाको बैङ्क लुट्ने समूह एउटै रहेको खुलेको हो ।

विराटनगरको गार्मेन्ट पसल लुटपाटमा चार जना संलग्न रहेको देखिएको छ भने बैङ्क लुटपाटमा ११ जना संलग्न रहेको खुलेको छ । मुखियाको मास्टर प्लान अनुसार भारतमा सङ्गठित अपराधको सञ्जाल चलाउने गिरोहको समूहलाई ल्याएर मोरङमा आपराधिक गतिविधि सञ्चालन गर्ने गरेको खुलेको एसपी जिसीले बताए । उनका अनुसार विराटनगरको मेनरोडमा रहेको कोटेक्स ट्रेडिङ सप्लायर्समा हातहतियार देखाएर लुटपाट गर्ने चार जना रहेका थिए ।

उक्त सप्लायर्समा ४–५ लाख रुपैयाँ रहेको अनुमान गरेर मुखियासहित भारत अररिया सेखपुरा–५ का २८ वर्षीय सुनिल यादव, अररिया गोराहा–४ का ३० वर्षीय विजय सहनी र फारवेसगञ्ज–१० का २० वर्षीय रोशन यादव लुटपाट गर्न गएका थिए । मुखिया यसअघि उक्त सप्लायर्सको कामदार पनि हुन् ।

सबैकुरा बुझेको कारणले कपडाको व्यापार गर्ने पसलमा लुटपाट गर्ने योजना उनैले बनाएका थिए । लुटपाट गर्ने बेलामा मुखिया बाहिर बसेका थिए भने पक्राउ परेका अन्य तीनजना तीनवटा पेस्तोल बोकेर लुटपाट गर्न पसलभित्र छिरेका थिए । पसलमा १२ हजार रुपैयाँ मात्र रहेकोले उनीहरूले उक्त रकम र तीनवटा मोबाइल लुटेर लगेका थिए । लुटेको रकममध्ये मुखियाले ६ हजार र अन्य तीन जनाले जनही २–२ हजार बाँडेको अनुसन्धानमा संलग्न प्रहरीले जानकारी दिएका छन् ।

कसरी बन्यो योजना ?
विराटनगरको व्यस्त बजार, त्यो पनि प्रहरीको २४ सै घण्टा सुरक्षा रहने ठाउँको कपडा पसलमा सहज रूपमा लुटेपछि उनीहरूको योजना बन्यो कर्सियाको सिटिजन्स बैङ्क लुट्ने । ‘विराटनगरको व्यस्त मेनरोड बजारमा रहेको गार्मेन्ट पसल । त्यो पनि वडा प्रहरी कार्यालय अगाडिदेखि दिनदहाडै पसल लुटपाट गर्ने योजना सफल भएपछि हौसिएर बैङ्क लुट्ने योजना बनाएको बयानको क्रममा लुटेराले भनेका छन् ।

व्यवसाय घाटामा जान थालेपछि विकल्पको खोजी गर्दै हिँडेका विराटनगरका श्याम मुखिया भारतको बिहारस्थित आफ्नो मावली पुगेका थिए । बैङ्कबाट लिएको १० लाख ऋण र त्यसको ब्याजबाट छुटकारा पाउन उनले त्यहीँ बसेर लुटपाटको योजना बनाएका थिए । भारतमै पेसेवर अपराधीहरूको सङ्गत गरेर मुखियाले आवश्यक हातहतियारसहित लुटपाटको योजना बनाएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

मुखियाले प्रहरीलाई दिएको बयानअनुसार लुटको १५ दिनअगावै भारतीय अपराधीहरू नेपाल आएर लुटको लागि उपयुक्त ठाउँ हेरेर फर्केका थिए । ‘विराटनगर मेनरोडस्थित कोटेक्स ट्रेडिङको पसलबाट १२ हजार नगद र ४ वटा स्मार्टफोन लुटेर लगेपछि बैङ्क लुट्ने योजना बनाएका थियौं ।

पसलमा अनुमान गरेबमोजिमको पैसा नभेटेपछि बैङ्क लुट्ने योजना बनेको हो’–मुखियाले प्रहरी बयानमा भनेका छन् । गार्मेन्ट पसल लुटपाटको क्रममा गल्लामा थोरै नगद देखेपछि आक्रोशित बनेको हतियारधारी समूहले पेस्तोलको पछाडिपट्टिको भागले पसलका सञ्चालक मनोज तोदीको टाउकोमा समेत प्रहार गरेको थियो । प्रहारबाट घाइते उनको विराट नर्सिङ होममा उपचार गरिएको थियो ।

बैङ्क लुटपाटअघि मुखियासहितको सो समूह मोरङ धनपालथानसँगै जोडिएको जहदा गाउँपालिकाको एक कृषि फर्ममा बस्दै आइरहेको थियो । मुखिया लागूऔषध कारोबारी पनि हुन् । प्रहरीले उनीहरू बस्ने डेराबाट लागूूऔषध पनि बरामद गरेको छ । प्रहरीका अनुसार यो समूहको एक जना वर्षदिन अघिदेखि नै सो फर्ममा कार्यरत थिए ।

अररिया गोराहा–४ का ३० वर्षीय विजय सहनी एक वर्षदेखि फर्ममा कार्यरत रहेको प्रहरी अनुसन्धानले देखाएको छ । सहनी भने भारतबाट हत्या आरोपमा फरार भएका अभियुक्त पनि हुन् । उनीमाथि सामान्य झगडा हुँदा भारतमा आफ्नै छिमेकी शिवशङ्कर सहनीको गोली हानेर हत्या गरेको आरोप छ ।