धरान । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले ओपिडीका लागि काटिने पुर्जीमा डिजिटल सेवा प्रारम्भ गरेको छ ।

घण्टौं लाइनमा बस्नुपर्ने बाध्यता हटाउनका लागि प्रतिष्ठानले पुर्जी काट्न अब डिजिटल सेवा प्रारम्भ गरेको हो । शुक्रबार प्रतिष्ठानले डिजिटल एपको सुरुवात गरेको विज्ञप्तिमार्फत् जानकारी दिएको छ ।

प्रतिष्ठानका अस्पताल निर्देशक प्रा.डा. गौरीशङ्कर साहले मोबाइल एप्लिकेसन सुरु गरिएको बताए । उनले बिरामीले अब अनलाइनमार्फत् नै अस्पतालको ओपिडीको पुर्जी लिन सक्ने जनाइएको छ ।

अनलाइनको व्यवस्था नहुँदा प्रतिष्ठानमा दैनिक घण्टौं लाइन लागेर पुर्जी लिनुपर्ने अवस्था थियो । जसका कारणले टाढाबाट आउने बिरामीले दुई दिनमा मात्रै सम्बन्धित चिकित्सकलाई भेट्ने अवस्था रहेको थियो ।

अब भने बिरामीले जुनसुकै स्थानबाट पनि अनलाइनमार्फत् ओपिडीको पुर्जी लिएर आफूले चाहेको चिकित्सकलाई सोही दिन पनि भेट्न सक्ने व्यवस्था गरिएको छ ।

सेवाग्राहीले एन्ड्रोइड मोबाइल फोनको प्लेस्टोरबाट बीपीकेआइएचएस एप्लिकेसन डाउनलोड गरी पुर्जी काट्न सक्ने डा. साहले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यसमा ज्येष्ठ नागरिकको हकमा भने अहिले नै व्यवस्था नभएको जनाएको छ । सेवाबारे जानकारी दिनका लागि पुर्जी काउन्टर भवनको बाहिरपट्टि सहयोगीसमेत राखिएको प्रशासनले जनाएको छ । शुक्रबार एकजना बिरामीले यो सेवा लिएका थिए ।