भद्रपुर । झापाको दुई छुट्टाछुट्टै ठाउँबाट लागु औषध ब्राउनसुगर सहित ४ जना पक्राउ परेका छन् ।
विशेष सूचनाको आधरमा अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले बुधबार बेलुका बसपार्क एरियाबाट इलाम नगरपालिका–१० का ३६ वर्षीय बिराज शिवालाई २ ग्राम ५०० मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । यसै गरी बुद्धशान्ति गाउँपालिका–३ बाट लागु औषध ब्राउनसुगर सहित ३ जना पक्राउ परेको जिल्लाका डिएसपी बसन्त पाठकले बताए ।
विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरी टोलीले चैनपुर नगरपालिका–११ सङ्खुवासभाका ३० वर्षीय दिपक तामाङ, २८ वर्षीय रोशन तामाङ र पाँचथर फिदिम नगरपालिका– ४ की १९ वर्षीया सङ्गीता तामाङलाई ब्राउनसुगर ४ ग्राम ३०० मिलिग्राम सहित पक्राउ गरेको उनले जानकारी दिए ।
लागु औषध सहित पक्राउ परेका उनीहरूको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।