विजयपुर । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीको कार्यकक्षमा लागेको ताला खोल्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।
प्रतिष्ठानको ताला खोल्ने रिट निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले मङ्गलबार ताला खुलाउन अन्तरिम आदेश दिएको हो ।
न्यायाधीश केसीले नियमित स्वास्थ्य उपचार गर्नुपर्ने स्वास्थ्य संस्थामा हड्ताल, घेराउ र तालाबन्दी गर्नु सार्वजनिक हितविपरीत हुने भन्दै ताला खोल्न आदेश दिएका हुन् । उनले सर्वोच्च आदालत नियमावली २०७४ को नियम ४९ बमोजिम अन्तरिम आदेश दिएको उल्लेख गरेका छन् ।
आदेशमा प्रतिष्ठानमा कुनै सङ्घ–सङ्गठनले तालाबन्दी, घेराउ गर्ने र गराउनेजस्ता गैरकानूनी कार्य रोकी ताला खुलाई प्रतिष्ठानको काम कारबाही सुचारु गर्नू भनिएको छ । रिट निवेदकले ताला खुलाउन माग गर्दै नेपाल सरकार, गृह मन्त्रालयलाई विपक्षी बनाउँदै रिट निवेदन दिएका थिए ।
निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता कमलेश द्विवेदी र रेणुकादेवी सिटौलाले बहस गरेका थिए । प्रष्तिठानका पदाधिकारीको कार्यकक्षमा ६ महिनादेखि ताला लागेको छ ।