विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका– ४ हात्तिमुढास्थित १४ वर्षीय निश्चल रायको रहस्यमय मृत्युको घटनाको सत्य तथ्य सार्वजनिक माग राख्दै जिल्ला प्रशासन कार्यालय मोरङ घेराउ गरेका छन् ।
प्रहरीले गम्भीरता नदेखाएको भन्दै घटनाको सत्य तथ्य सार्वजनिक माग राख्दै विद्यार्थीहरूले मृतकका आफन्त र बुढीगंगाका स्थानीयले बुधबार मोरङ प्रशासन घेराउ गर्दै प्रदर्शन गरेका हुन् । उनीहरूले दिउँसो १ देखि २ बजेसम्म प्रशासन कार्यालय अगाडी प्रदर्शन गरेका थिए ।
यसअघि मंगलबार निमुवामा एक घण्टा चक्का जाम गर्दै विद्यार्थीहरूले प्रदर्शन गरेका थिए ।
न्याय माग्दै बुढीगंकाका स्थानीय आबद्ध भएका संघर्ष समितिले यसअघि चरणबद्ध आन्दोलनको कार्यक्रम घोषणा गरेका छन् । बुढीगंगाको स्थानीय आबद्ध भएको संघर्ष समितिले उच्च स्तरीय छानबिन समिति गठन गरी घटनाको सत्य तथ्य सार्वजनिक र दोषीलाई कारबाही गरिनुपर्ने, पीडित परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गरिनुपर्ने, शान्ति सुरक्षा सुव्यवस्थापन गरिनुपर्ने माग छ ।
कात्तिक २२ गते घर नजिकै खेलिरहेको बेला अचानक हराएका १४ वर्षे बालक निश्चलको २४ गते बिहान सिंघिया खोलामा शव फेला परेको थियो । हराएपछि पटक पटक त्यस ठाउँमा खोजी गरिएको भए पनि फेला नपरेका बालक निश्चलको शव २४ गते बिहान पानीमा बग्दै गरेको अवस्थामा भेटिएको थियो ।
बालकको हत्या भएको महिना दिन बितिसक्दा पनि प्रहरी हत्याराको नजिक पुग्न नसक्नु र घटनाको यथार्थ पत्ता लगाउन असफल भएपछि स्थानीयहरू आक्रोश शितबनेका छन् । उनीहरूले छिटोभन्दा छिटो बालक मृत्युको कारण पत्ता लगाउनुपर्ने, पोस्टमार्टम रिपोर्ट सार्वजनिक गरिनुपर्ने माग राखेका छन् ।