विराटनगर । बिना इजाजतको औषधीको चरम दुरुपयोग गर्दै लागू औषध बनाएर प्रदेश १ को पूर्वी सहरमा बिक्री वितरण गर्ने गिरोहको सञ्जाल सक्रिय रहेको पाइएको छ । 

भारतदेखि तस्करी गरी प्रतिबन्धित औषधी सुनसरीको धरानमा ल्याउने र उक्त औषधीलाई मिश्रण गरी लागू औषध बनाएर युवापुस्ताहरूलाई बिक्री वितरण गर्ने गिरोहको सञ्जाल ठुलो रहेको पाइएको हो । 

यसरी धरानमा बसेर प्रतिबन्धित औषधीलाई लागू औषध बनाएर बिक्री वितरण गर्ने गिरोहका नाइके धरान उपमहानगरपालिका ५ बगर कोटका २४ वर्षीय अमन राई पक्राउ गरेपछि यस्तो रहस्य बाहिर आएको छ । राईलाई पक्राउ गरी औषधी व्यवस्था विभाग विराटनगरले अहिले अदालतमा म्याद थप गरी अनुसन्धान गर्दै आएको छ । राईले धरानको बगरकोटमा बसेर तीन वटा प्रतिबन्धित औषधी डाइसाइक्लोमाइन, ट्रामाडोल र स्पा पेन मिसाएर लागू औषध बनाएर बिक्री गर्ने गरेको  प्रारम्भिक चरणको अनुसन्धानदेखि खुलेको औषधी व्यवस्था विभाग विराटनगरका निमित्त कार्यालय प्रमुख सन्जिव शर्मा कट्टेलले जानकारी दिए । 

यी तीन वटा औषधी मिलाएर लागू औषधको रूपमा सेवन गर्दछन् । क्यान्सरको समस्या भएकालाई दुखाइ कम गर्न प्रयोग गरिने ट्रामाडोलले अरू औषधीसँग मिसाएर सेवन गर्दा लागु औषधको काम गर्ने उनको भनाइ छ । त्यही भएर अवैध रूपमा भित्रिने यसको कारोबार पछिल्लो समय फस्टाएर गइरहेको छ । ट्रामाडोल क्यान्सरका बिरामीले दुखाइ कम गर्न र डाइसाइक्लोमाइन औषधी दुखाइ कम गर्न बिरामीले सेवन गर्ने गरेको विभागले जनाएको छ ।

‘प्रतिबन्धित औषधीहरू भारतदेखि भित्र्याएपछि धरानको बगर कोटमा राईले आफ्नो घरमा ल्याएर राख्ने गरेका छन् । अवैध रूपमा ल्याएको औषधीको चरम दुरुपयोग गर्दै उनले दुव्यर्सनीमा लागेका युवाहरूलाई  डाइसाइक्लोमाइन, ट्रामाडोल र स्पा पेन मिसाएर लागू औषध बनाएर बिक्री गरेको पाइयो,’ उनले भने ।  यसरी औषधीलाई लागू औषध बनाएर बिक्री वितरणमा सहयोग उनकी श्रीमती मनिषा राईले पनि गरेको खुलेको छ । यसअघि राईकी श्रीमती मनिषालाई पनि गत वर्ष २ असारमा मनिषालाई प्रहरीले प्रतिबन्धित औषधीको बिक्री वितरण गरेको आरोपमा पक्राउ परिसकेकी थिइन् । त्यस बेला उनको श्रीमान् अमन फरार थिए । फरार राईको खोजी कार्यमा प्रहरी सक्रिय भएर लागि परेको थियो । एक साता अगाडी धरानको बगर कोटमा आफ्नै घरमा प्रतिबन्धित औषधी मिसाएर लागू औषध बनाएर बिक्री गर्दै गरेको अवस्थामा प्रहरीले राईलाई पक्राउ गरेको हो । राईको घरदेखि प्रहरीले ८ हजार ८ सय ५० क्यापसुल प्रतिबन्धित औषधी बरामद गरेको थियो ।

बरामद गरेको प्रतिबन्धित औषधीहरू राईले भारतमा २० देखि ३० बरुपैयाँ पत्ता खरिद गरेर ल्याउने गरेको अनुसन्धानदेखि खुलेको छ । ‘प्रतिबन्धित औषधी धरानमा ल्याएपछि ट्रामाडोल र स्पा पेन मिलाएर लागू औषध बनाएर ५ देखि ७ सय रुपैयाँसम्म बिक्री वितरण गर्ने गरेको प्रारम्भिक चरणको अनुसन्धानदेखि खुलेको छ ,’ कार्यालय प्रमुख कट्टेलले भने । 

राईले प्रतिबन्धित औषधीलाई लागू औषध बनाएर धरान, इटहरीसहित पूर्वी सहर मोरङको केराबारी, बेलबारी, उर्लाबारी, मधुमल्ला, पथरी, बेलबारीलगायतको सहरमा बिक्री वितरण गर्दै आएका थिए । राईले २० देखि ३० हजार रुपैयाँको प्रतिबन्धित औषधी भारतमा खरिद गरेर धरानमा ल्याएर उक्त औषधी लागू औषध बनाएर ८ देखि १० लाख रुपैयाँसम्म बिक्री गरेको बयानको क्रममा स्वीकार गरेका छन् । ‘औषधीलाई लागू औषध बनाएर पूर्वी सहरमा पुर्याउन सिटी रिक्सा र चालकहरू प्रयोग गर्ने गरेको पाइएको छ । चालक प्रयोग गर्दा प्रहरी र नियामक नियाको ध्यान नजाने भएकोले प्रतिबन्धित औषधीको कारोबार गर्ने गिरोहले निक्कै चलाखी गरेको पाइएको छ,’ उनले भने । 

डाइसाइक्लोमाइन, ट्रामाडोल र स्पा पेन मिसाएर लागू औषधको रूपमा सेवन गर्दा शारीरिक र मानसिक रूपमा असर गर्नुको साथै स्मरण शक्तिमा ह्रास आउने  औषधी व्यवस्था विभागका प्रमुख कट्टेलले बताए । पक्राउ परेका राईलाई विभागले बिना इजाजतको नियन्त्रित औषधीको ओसार पसार, बेचबिखन, अनुचित प्रयोग तथा दुरुपयोग मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु गरेको विभागले जनाएको छ । 


यसअघि पनि सुनसरीको एक दम्पती औषधी व्यवस्था विभागमा दर्ता नभएको प्रतिबन्धित औषधीको बिक्री वितरण गरेको आरोपमा पक्राउ परेका थिए । सुनसरी प्रहरीले प्रतिबन्धित औषधीको कारोबार गरेको आरोपमा धरान – ९ कि ३० वर्षीय आस्मा खातुनलाई पक्राउ गरेको थियो । खातुनले श्रीमान् मुन्ना खानसँग मिलेर प्रतिबन्धित औषधीको कारोबार चलाउने गरेका थिए । 

यसरी प्रतिबन्धित औषधीको दुरुपयोग गर्दै लागू औषध प्रयोगकर्ताहरूलाई बिक्री वितरण कमाउ धन्दामा लागेका केही फार्मेसी संचालकहरूले पनि बिक्री वितरण गर्ने गरेका थिए । केही फार्मेसी सञ्चालकहरूले औषधीको अनुचित प्रयोग गरी लागू औषध दुर्व्यसनीहरूलाई बेच्ने गरेको विभागले जनाएको छ । यस्तो बदमासी सुनसरी, उदयपुर, झापा र मोरङमा अधिक हुने गरेको पाइएको छ । औषधी व्यवस्था विभागले पछिल्लो समय जनगुनासो र प्राप्त सूचनाको आधारमा अनुगमन गर्ने क्रममा औषधीको चरम दुरुपयोग गर्ने गरेको फेला पारेको छ ।

धरानबाट मात्र औषधी व्यवस्था विभागले प्रतिबन्धित औषधीको बिक्री वितरण गर्ने १५ जनालाई पक्राउ गरी औषधी ऐन अनुसार अदालतमा मुद्दा चलाएर कारबाहीको दायरामा ल्याइसकेको विभागका प्रमुख कट्टेलले जानकारी दिए ।