विराटनगर । साढे ३३ किलो सुन तस्करी प्रकरणका मुख्य लगानीकर्ता भनिएका ‘काले’ भनिने कृष्णगोपाल अग्रवाल धरौटीमा छुटेका छन् ।

मोरङ अदालतका न्यायाधीश भरत लम्सालको इजलासले अग्रवाललाई मङ्गलबार २ लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको हो ।
अदालतको आदेशपछि तोकिएको धरौटी रकम बुझाएर अग्रवाल छुटेको मोरङ अदालतका श्रेस्तेदार टिकेन्द्रवीरजङ राणाले जानकारी दिए ।

अन्तर्राष्ट्रिय विमानस्थलदेखि भित्रिएको साढे ३३ किलो सुनको लगानीकर्ता अग्रवाल रहेको खुलेको थियो । काले भनिने कृष्णगोपाल तस्करीका नाइके ‘गोरे’ को तस्करी गर्ने व्यवस्थापनमा हुने तस्करीको सुनको लगानीकर्तामध्येका एक उनी रहेको त्यसबेला गठन भएको छानबिन टोलीको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।

हराएको साढे ३३ किलो सुन खोज्ने क्रममा तस्करी प्रकरणका नाइके चूडामणि उप्रेती ‘गोरे’ को समूहले यातना दिने क्रममा भरिया उर्लाबारीका शनम शाक्यको हत्या गरेको थियो । हत्या अभियोगमा गोरेसहित ८ जनालाई कैद फैसला भएको छ । सुन तस्करी प्रकरणमा भने उनीहरूले उन्मुक्ति पाएका छन् ।

अन्तर्राष्ट्रिय अपराध प्रहरी सङ्गठन (इन्टरपोल) को सहयोगमा युएईबाट नेपाल डिपोर्ट भएका उनलाई आइतबार प्रहरीले पक्राउ गरेको थियो । 

गोरेसहित व्यक्तिविरुद्ध दायर भएको ‘आपराधिक समूह स्थापना र सञ्जाल गरी सुनको अवैध चोरी पैठारी र निकासी, अपहरण र शरीर बन्धक तथा कर्तव्य ज्यान मुद्दा’ मा उनी प्रतिवादी थिए । पक्राउ परेका अन्य प्रतिवादीहरूले सुन तस्करीको अभियोगमा जिल्ला अदालत मोरङबाट सफाइ पाइसकेका छन् ।

यो मुद्दामा ७७ जनालाई प्रतिवादी बनाएकोमध्ये ५६ जनाको हकमा मात्र मोरङ अदालतले यसअघि फैसला सुनाएको छ । ५६ जना प्रतिवादीमध्ये कर्तव्य ज्यान मुद्दामा जोडिएका ८ जना प्रतिवादीलाई अदालतले दोषी ठहर गरेको छ भने ४८ जना प्रतिवादीलाई सफाइ दिएको थियो । सफाइ पाउनेमा प्रहरीका उच्च तहका प्रहरी अधिकारीहरू पनि थिए ।

जिल्ला अदालत मोरङमा ‘आपराधिक समूह स्थापना र सञ्चालन गरी सुन चोरी पैठारी र चोरी निकासीको अवैध कारोबार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान’ गरेर चारवटा शीर्षकमा सरकारी वकिल कार्यालय मोरङले २०७५ वैशाख १९ गते मुद्दा दायर गरेको थियो ।

मुद्दामा १७ अर्ब एक करोड ८० लाख ७१ हजार चार सय रूपैयाँ बराबरको ३७ लाख ९९ हजार पाँच सय ६३ ग्राम (करिब ३८ क्विन्टल) सुन अवैध रूपमा आयात गरिएको दाबी गरिएको छ ।