धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत १५ जनाभन्दा बढी ‘प्रोफेसर’ तहका चिकित्सकहरूले आवास गृह नपाएपछि आफूहरूभन्दा तल्लो दर्जाका चिकित्सकहरूको आवास ओगटेका छन् ।

प्रतिष्ठानका प्रोफेसरहरूले तल्लो दर्जाका चिकित्सकहरूको आवास ओगटेपछि असिष्टेन्ट प्रोफेसर, एसोसिएट प्रोफेसर र एडिसनल प्रोफेसरहरूले भने हाउस अफिसर, सिनियर रेजिडेन्ट र जुनियर रेजिडेन्टका आवास गृह ओगटेका छन् ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐनअनुसार प्रतिष्ठानलाई बिरामी उपचार सेवा, चिकित्साशास्त्र अध्ययन र वैज्ञानिक अनुसन्धानका लागि आवासीय स्वास्थ्य शैक्षिक संस्थाको रूपमा व्याख्या गरिएको छ । तर, पदाधिकारी, सिनेट, कार्यकारिणी समिति र व्यवस्थापन पक्षले प्रतिष्ठानमा कार्यरत चिकित्सक, नर्स र कर्मचारीको आवास सुविधाबारे गम्भीर नहुँदा प्रोफेसरहरू आफूभन्दा तल्लो दर्जाका चिकित्सकको आवासमा बस्नु परेको छ । आवासमा परिवारसहित बस्न पाउने नीति छ ।

दन्तचिकित्सा महाविद्यालयका प्रोफेसर डा.ज्योत्सना रिमालले भनिन्, ‘प्रतिष्ठानमा आवास पाउनका लागि ठूलै युद्ध जित्नुपर्छ । आवास नपाएका प्रोफेसरले आवास पाउनलाई पहिलेदेखि बसेको प्रोफेसरको मृत्यु हुनुप¥यो कि उसले प्रतिष्ठान छाडेर जानुप¥यो कि त ऊ सेवानिवृत्त हुनुप¥यो । बाहिरबाट हामीलाई देख्दा प्रोफेसर त भन्छन् तर, आवास सुविधा नहुँदा प्रतिष्ठानभित्र काम गर्न गाह्रो भएको छ । छोराछोरी र आफन्तहरूसमेत आवास देखेर सँगै बस्न आउँदैनन् । प्रोफेसरले आफूभन्दा तल्ला दर्जाका चिकित्सकहरूको आवास ओगट्नु पर्दा लाजमर्दो अवस्था छ ।’

उनले बोल्न सक्ने अनि भक्ति र शक्ति देखाउने प्रोफेसरहरू र केही पुराना प्रोफेसरहरूले मात्र प्रतिष्ठानको नीतिअनुसार आवास सुविधा पाएको बताइन् । उनका अनुसार लामो समयदेखि प्रतिष्ठानमा कार्यरत वरिष्ठ प्रा.डा.हरूमध्ये एनेस्थेसिया विभागकी प्रा.डा.कृष्णा पोखरेल, मानसिक रोग विभागका प्रा.डा.धनरत्न शाक्य, प्रा.डा. वैकुण्ठ अधिकारी, फिजियोलोजी विभागकी प्रा.डा.निर्मला लिम्बू, सर्जरी विभागका प्रा. डा.राकेश गुप्ताले आफ्नो ओहदाअनुसार आवास नपाएपछि एसिष्टेन्ट प्रोफेसर बस्ने आवास ओगटेर बस्न बाध्य भएका छन् ।

यसैगरी एनेस्थेसिया विभागका प्रा.डा.सिन्धु खतिवडा, प्रा.डा. आशिष घिमिरे, इमर्जेन्सी विभागका प्रा.डा.रविन भण्डारी, डेण्टलकी प्रा.डा.ज्योत्सना रिमाल र प्रा.डा.आशिष श्रेष्ठ, बालरोग विभागका प्रमुख प्रा.डा.प्रकाश पौडेल, शैक्षिक डिन प्रा.डा.भिवेन्द्र झा र फिजियोलोजीका प्रा.डा.दिलिप ठाकुरलगायत भने ‘सी’ टाइपको आवासमा बसिरहेका छन् । ‘सी’ टाइपको क्वार्टर एसोसिएट प्रोफेसरहरूका लागि हो ।

आवास नपाएका प्रोफेसरहरूलाई प्रतिष्ठानको स्वामित्वमा रहेको निर्वाणा कन्ट्री क्लब क्षेत्रभित्र रहेको १० वटा आवास गृह दिनुपर्ने प्रा.डा. रिमालले बताइन् । उनका अनुसार उक्त १० वटा आवास गृहमा हाल कोभिड अस्पतालमा काम गर्ने कर्मचारी, चिकित्सक र हेल्परहरू बस्दै आएका छन् ।

आवास सुविधा नपाएपछि प्रतिष्ठान छाडेर जाने चिकित्सकहरूको सङ्ख्या बर्सेनि बढ्दै छ । आवास सुविधा दिने भनेपछि प्रतिष्ठान ऐनमा भनेअनुसार सबैलाई समानरूपमा आवासको व्यवस्था गर्नुपर्ने होइन भने आवास नीति नै खारेज गर्नुपर्ने रिमालले बताइन् । पछिल्लो समयमा प्रतिष्ठानमा कार्यरत हाउस अफिसर तहका चिकित्सकलाई आवास नै नदिने नीति अपनाइएको छ । उनीहरू सबै प्रतिष्ठानबाहिर बस्न बाध्य छन् ।

वरियता र प्राथमिकताका आधारमा प्रतिष्ठान व्यवस्थापन पक्षले आवास नदिएर शक्ति र भक्तिको भरमा चिकित्सकहरूलाई आवास दिने गरेको छ । पदाधिकारीहरूका लागि प्रतिष्ठानले छुट्टै आवासको व्यवस्था गरेको छ । केही महिनाअघि प्रा.डा. सिबी झाको मृत्यु भएपछि उनले प्रयोग गरेको आवास खाली हुँदैछ ।

उक्त आवासमा पहिलेदेखि नै आवास नपाएर अन्यत्र बसेका वरिष्ठ पाँचमध्ये एक जनालाई गोलाप्रथा गरेर आवास उपलब्ध गराउने तयारी भए पनि सामान्य प्रशासनले भने त्यहाँ कनिष्ठ प्रा.डा.मोहनचन्द्र रेग्मीलाई पठाउने तयारी गरेको छ । उता डा.रेग्मी भने रजिष्ट्रार आवासमै बस्दै आएका छन् ।

प्रतिष्ठानका अस्पताल शाखाका अनुसार प्रतिष्ठानभित्र होस्टलबाहेक १ हजार २ सय २५ वटा आवास गृहहरू छन् । तीमध्ये प्राध्यापक तहका र पदाधिकारी बस्नका लागि ‘ए’ टाइपका २९ वटामात्र बङ्गलाहरू छन् । एउटा बङ्गलामा एउटा परिवार बस्ने सुविधा भए पनि प्रोफेसरहरूको सङ्ख्या बढेअनुसार आवास गृहको सङ्ख्या नबढाउँदा समस्या उत्पन्न भएको हो ।

प्रतिष्ठानको आवास क्षेत्रमा ‘सी’, ‘डी’ र ‘ई’ टाइपका २४ वटा बङ्गला छन् । ती प्रत्येक बङ्गलामा ६ वटा फ्ल्याट भएकाले एसोसिएट प्रोफेसरदेखि प्रोफेसर तहसम्मका चिकित्सकहरू बस्ने गरेको साहले बताए । अधिकृत तहका कर्मचारी र सिनियर रेजिडेन्ट चिकित्सकहरूका लागि भनेर ‘एफ’ टाइपका २५ वटा विल्डिङ बनाइएका छन् ।

‘जी’ र ‘जी १’ टाइपका ३८ आवासमा स्टाफ नर्स र प्राविधिकहरू बस्ने गरेका छन् भने ‘जी २’ टाइपका ६ वटा आवास गृहमा हेल्परहरूलाई बस्न दिइएको छ । ‘एच’ टाइपको आवासमा भने जुनियर रेसिडेन्ट चिकित्सकहरू बस्ने गरेका छन् ।