धरान/ संसद्को शिक्षा तथा स्वास्थ्य समितिले हालै देखापरेको कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ बाट जनताको सुरक्षाका लागि आवश्यक तयारी थाल्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई निर्देशन दिएको छ ।

आइतबार सिंहदरबारमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडासहित बसेको समितिको बैठकले ओमिक्रोनबाट जनस्वास्थ्यको सुरक्षाका लागि आवश्यक तयारी थाल्न मन्त्रालयलाई निर्देशन दिएको हो ।

भारतमा ओमिक्रोन देखिएको पुष्टि भइसकेकोले नेपालमा पनि आवत–जावतका कारण आउनसक्ने तर्फ सचेत रहन आग्रह गर्दै समितिकी सभापति जयपुरी घर्तीले जनस्वास्थ्यमा ध्यान दिएर नाकामा खोपकार्ड र कोरोना परीक्षण गरेर मात्रै आवत–जावतको व्यवस्था मिलाउन मन्त्रालयलाई निर्देशन दिइन् ।

सभापति घर्तीले कोरोनाविरुद्धको खोपलाई जनतासमक्ष चाँडोभन्दा चाँडो पुर्याउने कुरा चाँडै कार्यान्वयन गर्न पनि मन्त्रालयलाई निर्देशन दिइन् । उनले ज्येष्ठ नागरिकहरूलाई स्वास्थ्य मन्त्रालयले घरघरै गएर खोप लगाउने व्यवस्था गर्न पनि निर्देशन दिइन् ।

सभापति घर्तीले समितिले हरेक, वडा, गाउँपालिका र नगरपालिकामा कोरोना खोप लगाउने समय नतोकी जुनकुनै समयमा पनि खोप लगाउने व्यवस्था मिलाउनसमेत निर्देशन दिइन् ।

उनले कोरोनाको नयाँ भेरियन्टबाट बच्नको लागि अक्सिजन र भेन्टिलेटरको अवस्था बुझी आवश्यक्ताअनुसार जुटाउन र प्रयोग भइसकेका कुराहरूलाई व्यवस्थित गर्न पनि निर्देशन दिइन् ।