धरान । दक्षिण अफ्रिकामा देखिएको कोरोनाको तीव्र सङ्क्रामक ‘ओमिक्रोन’ भेरियन्टलाई लिएर हरेक देश चिन्तित बनिरहेका छन् । तर, अहिलेसम्म वैज्ञानिकहरूले यसको मृत्युदर र सङ्क्रमणदरबारे स्पष्ट बताउन सकिरहेका छैनन् । जसले गर्दा नेपालजस्ता विकासोन्मुख देशहरूले यस भाइरसलाई लिएर स्पष्ट धारणा बनाउन सकिरहेका छैनन् ।

ओमिक्रोनका दुई बिरामीहरू दक्षिणी भारतमा देखिइसकेका हुनाले नेपालमा पनि आउन सक्ने स्वास्थ्यविज्ञहरू बताउँछन् । किनकि अघिल्ला दुई लहरहरूको प्रवृत्ति हेर्ने हो भने नेपालमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र खुल्ला सीमा क्षेत्रबाट आउने यात्रुहरूबाट नेपालमा कोरोना भित्रिएको तथ्य छ ।

यस तथ्यलाई मध्यनजर गर्दा भारतमा बुधबार राति ६६ वर्षीय र ४६ वर्षीय पुरुषमा ओमिक्रोन भेरियन्टको सङ्क्रमण देखिएपछि नेपालमा चिन्ता बढ्न थालेको हो । भारत सरकारले नै ओमिक्रोनका सङ्क्रमित भएको पुष्टि गरेको थियो । अहिले पनि ओमिक्रोन कति खतरनाक हो भन्ने विषयमा सर्वसाधारण जानकार छैनन् ।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले यसलाई तीव्र सङ्क्रामकको संज्ञा दिँदै तीन दिनअघि नै सतर्कता अपनाउन आफ्ना १ सय ९४ सदस्य राष्ट्रलाई अपिल गरिसकेको छ । मास्क, सामाजिक दूरी, स्वास्थ्यसम्बन्धी सचेतना अपनाउन डब्ल्यूएचओले आग्रह गरेको छ ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका एडिसनल प्रोफेसर तथा माइक्रोबायोलोजी विभागका विभागीय प्रमुख नारायणराज भट्टराईले ओमिक्रोन भेरियन्ट देखिएको एक साता मात्रै पुग्दै गरेकाले यसको विस्तृत अध्ययन हुन बाँकी रहेको बताए । उनले ओमिक्रोनको उत्परिवर्तन क्षमता अन्य भेरियन्टभन्दा धेरै देखिएकाले पनि जनस्वास्थ्यको उपाय अवलम्बन गर्नका लागि आग्रह गरे ।

‘यसको स्पाइक जिन ३० वटाभन्दा बढीमा उत्परिवर्तन भएको देखियो । कोभिड भइसकेका बिरामीमा पनि सङ्क्रमण देखिएको छ’ उनले भने, ‘लक्षणहरूको अहिलेसम्म लेखाजोखा भएको छैन । सामाजिक दूरी, प्रोपर्ली मास्क लगाउने, खुल्ला कोठामा बस्ने, नियमित हात धुने, खोक्दा र हाच्छ्युँ गर्दा रुमाल तथा त्यस्ता सामग्रीको प्रयोग गर्ने गरौं । खोप लगाउन जतिसक्दो चाँडो प्रयास गरौं ।’ उनले खोपले काम गर्छ कि गर्दैन भन्ने विषयमा अध्ययन नभइसकेकाले खोप लगाउनेतर्फ ध्यान दिन आग्रह गरे । 

कतिपय देशले सङ्कटकाल घोषणा गरिसकेको अवस्था छ । नेपालले पनि सङ्क्रमण जोखिम भएका मुलुकबाट नेपाल भ्रमणमा आउने यात्रुहरूलाई अनअराइभल भिसा नदिने निर्णय गरेको छ । सरकारले नयाँ भेरियन्ट ओमिक्रोनको सङ्क्रमण देखिएका अफ्रिकासहितका नौ मुलुकबाट आउने यात्रुलाई शुक्रबारबाट नेपाल प्रवेशमा अनुमति नदिने भएको हो ।

मन्त्रिपरिषद्को मङ्सिर १३ को बैठकले दक्षिण अफ्रिका, बोत्सवाना, जिम्बाब्वे, नामिबिया, लेसोथो, इसवाटिनी, मोजाम्बिक, मलावी र हङ्कङबाट आउने यात्रुलाई प्रवेश नदिने निर्णय गरेको हो । नेपालमा पहिलोपटक २०७६ साल फागुनमा कोरोना सङ्क्रमण देखिएको थियो । नेपालमा हालसम्म कोरोनाका विभिन्न भेरियन्टबाट ११ हजार ५ सय ३५ जनाको मृत्यु भइसकेको छ ।

शुक्रबारसम्म कुल ८ लाख २१ हजार ९ सय ९४ जना सङ्क्रमित भएका छन् । पहिलो पटक चीनको वुहान प्रान्तमा देखिएको कोरोनाका विभिन्न भेरियन्टले विश्वभरि शुक्रबारको मितिसम्म २६ करोड २८ लाख ६६ हजार ५० जना सङ्क्रमित भएका छन् । डब्ल्यूएचओका अनुसार ५२ लाख २४ हजार ५ सय १९ जनाको मृत्यु भइसकेको छ । ७ अर्ब ८८ करोड ५७ लाख ९० हजार ८ सय १० जनाले खोप लिइसकेका छन् । खोप लिएको तथ्याङ्क बुधबारसम्मको हो ।

नेपाल सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पनि दैनिक जसो कोरोनाको नयाँ भेरियन्टसँग सतर्कता अपनाउन अपिल गरिरहेको छ । अतिआवश्यक कामबाहेक विदेश भ्रमण नगर्नका लागि पनि बिहीबार आग्रह गरेको थियो भने बिहीबार रातिदेखि नै लागू हुने गरी अफ्रिकी मुलुकहरूलाई बन्देज लगाएको हो । ओमिक्रोन युरोप तथा एसियालगायतका मुलुकमा पनि क्रमिक रूपमा फैलिँदै गएकाले पनि सावधानी अपनाउन सरकार लागिपरेको छ ।

सरकारले सङ्क्रामक रोग ऐन २०२० को दफा २ ले दिएको अधिकारबमोजिम आदेश जारी गरेको छ । अहिले धेरै युरोपियन तथा अमेरिकन देशहरूले यात्रामा रोक लगाइसकेको छ भने एसियन मुलुकहरूमा पनि प्रतिबन्ध लगाउन थालिएको छ । तर, डब्ल्यूएचओले यात्रामा प्रतिबन्ध लगाउँदैमा भाइरस नियन्त्रणमा नआउने भएकाले सतर्कता अपनाउन भनेको छ ।

अहिलेसम्म विश्वमा थुप्रै खाल्का भेरियन्टहरू देखिइसकेको भए पनि केही भेरियन्टहरू खतरनाक सावित भएको छ । भारतमा देखिएको डेल्टा भेरियन्ट, बेलायतमा देखिएको अल्फा भेरियन्ट, दक्षिण अफ्रिकाबाटै सुरु भएको बिटा भेरियन्ट र ब्राजिलबाट सुरु भएको गामा भेरियन्ट मृत्युदर र सङ्क्रमणका हिसाबमा खतरनाक रहेका थिए ।

तर, अहिले पुनः दक्षिण अफ्रिकाबाटै सुरु भएको तीव्र सङ्क्रामक ओमिक्रोनको मृत्युदरबारे हालसम्म तथ्याङ्क बाहिर आउन सकेको छैन । अमेरिकी राष्ट्रपति जो बाइडेनले ओमिक्रोन भेरियन्ट बाहिर हल्ला भएजस्तो नभएको भनी प्रतिक्रिया दिएका थिए । तर, अमेरिकाकै न्यूयोर्क सहरमा एक साताअघि नै सङ्कटकाल घोषणा गरिएको थियो भने अहिले अन्य देशका नागरिकलाई यात्रामा प्रतिबन्ध लगाइसकेको छ ।

पब्लिक हेल्थ माइक्रोबायोलोजिष्ट धीरेन लिम्बूका अनुसार ओमिक्रोनको उत्परिवर्तन (म्यूटेसन) क्षमता डेल्टा भेरियन्टभन्दा चार गुणा बढी रहेकाले सचेतना अपनाउनै पर्छ । कोरोना भाइरसको सबैभन्दा बाहिरी भाग जसलाई स्पाइक प्रोटिन भनिन्छ । त्यो मान्छेको शरीरको कोष तथा कोषिकामा टाँसिएपछि त्यसमा आउने उत्परिवर्तन ओमिक्रोनमा धेरै रहेको छ ।

‘डेल्टा भेरियन्टभन्दा चारगुणा बढी म्यूटेसन हुन्छ, त्यसले गर्दा सङ्क्रमण गर्ने दर चाहिँ एकदमै खतरनाक भएकाले सचेतना अपनाउनै पर्छ’ उनले भने, ‘कोरोना सकियो भनेर ढुक्क हुने स्थिति छैन ।’ अहिले विश्वका वैज्ञानिकहरूले मृत्युदर कति खतरानाक छ भन्ने विषयमा अध्ययन अनुसन्धान गरिरहेका छन् । त्यस्तै हालसम्म लगाइएको खोपले काम गर्छ कि गर्दैन भन्ने विषयमा पनि अनुसन्धान भइरहेको छ ।