विराटनगर । विराटनगरस्थित कोशी अस्पतालमा कुकुरले टोकेको रेबिजविरुद्ध निःशुल्क उपचार सेवा सुरु भएको छ । अस्पतालमा आइतबार एक कार्यक्रम आयोजना गरी ‘रेबिज इम्युनो ग्लोबुलिन’ सेवा सुरु गरेको हो ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतबारबाट देशभरका ९ वटा अस्पतालबाट रेबिजविरुद्ध निःशुल्क सुई लगाउने व्यवस्था मिलाएको छ ।

मन्त्रालयले प्रदेश १ को कोशी, प्रदेश २ को जनकपुर अस्पताल धनुषा, बागमती प्रदेशको मदन भण्डारी, स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौँडा, नारायण अस्पताल बीरगञ्ज र भरतपुर अस्पताल चितवनमा सो व्यवस्था मिलाएको हो ।

यस्तै, गण्डकी प्रदेशको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान कास्की, लुम्बिनी प्रदेशको लुम्बिनी अस्पताल बुटवल, कर्णाली प्रदेशको सुर्खेत अस्पताल सुर्खेत र सुदूरपश्चिम प्रदेशको सेती प्रादेशिक अस्पतालमा ‘रेबिज इम्युनो ग्लोबुलिन’ को सेवा प्रवाह गरिएको छ ।

यसअघि कुकुरले टोक्दा रेबिज हुन नदिन भ्याक्सिन मात्र लगाउने गरेको थियो । अहिले रेबिज हुन नदिन प्रभावकारी मानिएको इम्युनो ग्लोबुलिन दिन थालिएको कोशी अस्पतालका डाक्टर राम नारायण चौधरीले जानकारी दिए । इम्युनो ग्लोबुलिन खरिद गर्नुपर्यो भने ५ देखि १० हजार रुपैयाँसम्म पर्दछ । तर, कोशीसहित देशभरिको ९ अस्पतालमा रेबिजको उपचार निःशुल्क भएको छ ।

‘कुकुरले टोक्यो भने रेबिज लाग्ने सम्भावना हुन्छ । रेबिज रोक उपचार भन्दा पनि रोकथाम हो । लागिसकेपछि यसको उपचार गर्न निक्कै गाह्रो छ । लागि हाल्यो भने रोकथामको लागि एउटा भ्याक्सिन हो,’ कोशी अस्पतालका डा. चौधरीले भने, ‘ टिटमेन्टको लागि इम्युनो ग्लोबुलिन दिनेछौँ । पहिला भ्याक्सिन मात्र थियो । इम्युनो ग्लोबुलिन किन्नु परेको खण्डमा धेरै महँगो शुल्क लाग्ने गर्दछ । ५ देखि १० हजार रुपैयाँसम्म पर्न जान्छ । अहिले सरकारले निःशुल्क गरेको छ । यो सरकारले राम्रो काम छ ।’

रेबिज लागेर बिरामीको मृत्यु नहोस् भनेर राज्यले रेबिजविरुद्ध निःशुल्क उपचार सेवा सुरु गरेको कोशी अस्पतालका मेसु डा। चुमनलाल दासले जानकारी दिए । सन् २०३० सम्ममा नेपालमा रेबिज रोगलाई उन्मुलन गराउने सरकारको लक्ष्य रहेको छ ।

सोही अनुसार अभियान सुरु भएको मेसु दासले जानकारी दिए । रेबिजविरुद्ध निःशुल्क उपचार सेवा सुचारु भएपछि आइबार कोशीमा आधा दर्जन बढी बिरामीले सेवा लिएका छन् । कोशीमा ५ सय भायल इम्युनो ग्लोबुलिन आएको मेसु दासले जानकारी दिए । 

क्याप्सन ः कोशी अस्पतालमा रेबिज हुन नदिन निःशुल्क इम्युनो ग्लोबुलिन खोप लगाउँदै स्वास्थ्यकर्मी । तस्बिर ः ब्लाष्ट अनिल श्रेष्ठ