सुनसरी । चालु आर्थिक वर्षको पहिलो तीन महिनाको अवधिमा सुनसरीको भण्टाबारी नाका हुँदै भारतबाट ७१ करोड रुपैयाँ बढीको फलफूल, तरकारी, खाद्यवस्तु र कृषिजन्य वस्तु आयात भएको छ । चालु आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्ममा भण्टाबारी नाकाबाट ७१ करोड ७८ लाख ९० हजार ६ सय २० रुपैयाँ बराबरको वस्तु आयात भएको भण्टाबारीस्थित प्लान्ट क्वारेन्टिन कार्यालयले जनाएको छ ।
क्वारेन्टिन कार्यालयका अनुसार आलु, प्याज, धान, गहुँ, भुसलगायत कृषिजन्य तथा बिरुवाजन्य ४६ हजार ३ सय ९८ दशमलव ६२ मेट्रिकटन आयात भएको हो । जब कि आर्थिक वर्ष २०७६/०७७ मा ४८ हजार ८ सय ८५ दशमलव ८३ मेट्रिकटन अर्थात् ९१ करोड ९९ लाख ५० हजार ९ सय ९० रुपैयाँ बराबरको मात्र कृषि तथा बिरुवाजन्य वस्तु भारतबाट आयात भएको थियो ।
सरोकारवालाहरूसँगको समन्वयात्मक बैठक आयोजना गर्दै प्लान्ट क्वारेन्टिन कार्यालय भण्टाबारीले साउन, भदौ र असोज मसान्तसम्ममा भारतबाट पछिल्लो तीन महिनामा यति धेरै खाद्य तथा कृषिजन्य वस्तु आयात भएको मङ्गलबार जानकारी गराएको हो ।
क्वारेन्टिन कार्यालय भण्टाबारीका निमित्त प्रमुख हरि साहका अनुसार भारतबाट आयात हुने वस्तुहरूमध्ये ८० प्रतिशत आलु, प्याज र भुस रहेका छन् । भण्टाबारी नाका हुँदै धान, गहुँ, मकै, काँचो केरा, स्याउ, अनार लगायतका खाद्यवस्तु र फलफूल तरकारी नेपाल आयात हुने गरेका छन् । यसैगरी मौसमी र बेमौसरी फलफूल तरकारी जस्ता कृषिजन्य वस्तु आँप, परबल, भेडे खुर्सानी, सयपत्री फूलसमेत भारतबाट आयात हुने गरेको साहले बताए ।
कृषिप्रधान देश भनिए पनि नेपालमा धान, मकै, गहुँ, आलु, प्याजलगायत कृषिजन्य खाद्य तथा फलफूल तरकारीको उत्पादन बढाउन सरकारले ल्याएको विभिन्न कार्यक्रम प्रभावकारी नहुँदा भारत वा तेस्रो मुलुकबाट आयात गर्नुपरेको साह बताउँछन् । नेपालमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत् विभिन्न स्थानीय तहमा पकेट एरिया र जोन सञ्चालन हुँदै आएका छन् ।
अर्बौं रुपैयाँ लगानी गरिएको उक्त परियोजनाबाट लक्षित समुदायले भन्दा नक्कली कृषकले फाइदा लिने गरेकाले कृषिजन्य खाद्यवस्तु र फलफूल तरकारी सोचेजति उत्पादन हुन नसक्दा भारतीय उत्पादन आयात गर्नुपरेको बताइएको छ ।
कृषिजन्य खाद्यवस्तु र फलफूल तरकारी भारतबाट आयात गर्दा नेपालमा नभएको रोग र किरा, विषादि भित्रिन नदिने काम क्वारेन्टिन कार्यालयको हो । तर, विषादी परीक्षण गर्नको लागि क्वारेन्टिन कार्यालयमा आवश्यक साधन स्रोत, उपकरण अभाव रहेको साहले बताए । उनले भने, ‘क्वारेन्टिन कार्यालयलाई थप सुदृढ बनाउन प्रयोगशालामा चाहिने सामग्री युरोपियन फण्डबाट व्यवस्थापन गर्ने तयारी भइरहेको छ ।’
यसैबीच कोसी गाउँपालिका–८ भण्टाबारी र कोसी ब्यारेज क्षेत्रका एजेन्ट तथा व्यापारीहरूले विषादी परीक्षणसमेत क्वारेन्टिन कार्यालयबाटै हुनुपर्ने माग गरेका छन् । क्वारेन्टिन कार्यालयले आयोजना गरेको अन्तरक्रियामा उनीहरूले सो माग गरेका हुन् ।
स्थानीय व्यापारी शमिम शेखले विषादी परीक्षण गराउन जोगबनी र काँकडभिट्टा जाँदा र आउँदामै ताजा फलफूल कुहिने गरेकाले विषादी परीक्षण भण्टाबारीकै क्वारेन्टिन कार्यालयबाटै हुनुपर्ने माग गरेको बताए । उनले भने, ‘फलफूल तरकारी समयमै गोदाममा पु¥याउनु पर्छ ।
ढिलो भयो भने गाडीमै कुहिन्छ । जोगबनीमा भएजस्तै भारतको भीमनगरमा पनि विषादी परीक्षण गर्न क्वारेन्टिनका आवश्यक उपकरण राख्न नेपाल सरकारले पहल गर्नुपर्ने हाम्रो माग छ ।’