विजयपुर । भारत सरकारको सहयोगमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निर्मित अक्सिजन प्लाण्ट बिहीबार हस्तान्तरण गरिएको छ ।

स्वास्थ्य मन्त्रालयमा एक कार्यक्रमका बीच प्लाण्ट नेपालका लागि भारतीय राजदुत विनयमोहन क्वात्राले हस्तान्तरण गरे । प्लाण्टको क्षमता प्रतिसेकेण्ड एक हजार लिटर रहेको छ ।

प्रतिष्ठानको आफ्नै लगानीमा पनि प्रतिसेकेण्ड १६ सय लिटर क्षमताको प्लाण्ट रहेको छ । तर, बिग्रिँदै बन्ने कारण बीपी प्रतिष्ठान प्रशासनले अक्सिजन बाहिरबाट आपूर्ति गर्दै आएको छ ।

प्रतिष्ठानको कोभिड १९ अस्पताल परिसरमा प्लाण्ट निर्माण गरिएको हो । उक्त प्लाण्ट विशेष गरी कोभिड १९ बाट ग्रसित बिरामीका लागि अक्सिजन आपूर्ति गर्ने जनाइएको छ ।

भारतीय राजदुत क्वात्राले स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठलाई हस्तान्तरण गरे । हस्तान्तरण कार्यक्रममा बीपी प्रतिष्ठानका अधिकारी भने भर्चुअलमाध्यमबाट सहभागी बनेका थिए ।

कार्यक्रममा शैक्षिक डिन प्रा.डा. शिवेन्द्र झा, परीक्षा डिन प्रा.डा. श्याम थापा क्षेत्री, डेपुटी अस्पताल निर्देशक डा. दिव्यराज मिश्र, सहायक परीक्षा डिन डा. भावेष कोइराला, कोभिड १९ अस्पताल प्रमुख प्रा.डा. ज्ञानेन्द्र मल्ललगायत सहभागी थिए । प्रा.डा. शिवेन्द्र झाले अक्सिजन प्लाण्ट निर्माणले प्रतिष्ठानमा अक्सिजन आपूर्ति सहज भएको बताए ।